व्यक्ति केन्द्रित प्रतिस्पर्धा होइन व्यावसायिकतामा ध्यान दिनु : गृहसचिब

काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषद्को माघ २८ गतेको निर्णयअनुसार माघ २९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका ठाकुर प्रसाद ज्ञवाली दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

गृहमन्त्रालय सिंहदरबारमा बुधबार आयोजित बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई दर्ज्यानी चिन्हबाट प्रदान गरेका हुन ।

समारोहमा गृहसचिव न्यौपानेले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै कार्यकाल सफलताको कामना गरे ।

गृहसचिव न्यौपानेले दर्ज्यानी चिन्ह प्रदान पश्चात प्रहरी महानिरीक्षक ज्ञवालीले व्यक्त गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै प्रहरी संगठनलाई अझ उच्च मनोबलयुक्त र सक्षम संगठनको रुपमा विकास गर्न सम्पूर्ण लगन, मेहनत, तत्परता, ईमानदारिता, कार्यकुशलता र क्रियाशीलता वहन गर्ने अपेक्षा रहेको बताए ।

नेपाल प्रहरीका सबै सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई अझ उत्प्रेरित गर्नुपर्ने, व्यावसायिक बनाउनुपर्ने, अपराध र विध्वसांत्मक गतिविधि नियन्त्रण गर्न अझ सक्रिय हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै गृहसचिव न्यौपानेले मानवअधिकारको सम्मान लगायत न्यूनतम मानवोचित विषयबस्तुलाई समेत केन्द्रविन्दुमा राख्दै सबै सुरक्षा निकायहरुवीच सूचनाको आदान प्रदान, समन्वय एवम् सहकार्य सहित अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले व्यक्ति केन्द्रित प्रतिस्पर्धा भन्दा पनि व्यावसायिकतातर्फ ध्यान दिन उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । उक्त अवसरमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा सरकारलाई धन्यवाद दिए

महानिरीक्षक ज्ञवालीले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पूजाअर्चना गर्नुका साथै अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

विसं २०२२ असोज २८ गते प्युठानमा जन्म भई २०४७ असार २५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक ज्ञवाली २०५८ बैशाख १८ गते प्रहरी नायव उपरीक्षक, २०६६ मंसिर ३ गते प्रहरी उपरीक्षक, २०७३ असार २८ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका थिए । समाजशास्त्रमा स्नातकोत्तर गरेका प्रहरी महानिरीक्षक ज्ञवालीले विभिन्न ३३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री