सेवा विस्तार गर्दै भीम अस्पताल

-राधेश्याम विश्वकर्मा

भैरहवा । रुपन्देही सदरमुकाम भैरहवामा रहेको सरकारी अस्पताल भीम अस्पतालले पछिल्लो समयमा आफ्नो सेवा बढाउँदै लगेको छ । बिशेषगरी प्रसुति सम्बन्धी कार्यमा दक्ष मानिएको भीम अस्पताल अहिले बिभिन्न बहिरंग तथा आकस्मिक सेवामा पनि सुधार हुँदै गएको छ ।

आफ्नै सेवा सुविधा सम्पनन भवन र सेवा हुँदापनि यसअघि प्रभावकारी रुपमा संचालनमा आउन नसकेको सेवाहरु अहिले यो अस्पतालमा संचालनमा आउन थालेका छन् । आफ्नै प्रयोगशाला, एक्सरे सेवा लगायतको सेवा सुविधा रहेपनि अस्पताल आउने विपन्न वर्गका बिरामीलाई यी सबै चेकजाँच गराउन बाहिर धाउनुपर्ने बाध्यता अब हटेको छ ।

अस्पतालले बिहीबारबाट २४ घण्टा नै संचालनमा रहने गरि अत्याधुनिक ल्याब सेवा विस्तार गरेको छ । यस अघि बहिरंग समय अवधि समयसम्म मात्र रहेको ल्याब सेवालाई बढाएर २४ घण्टा नै गरिएको अस्पतालका मेडिकल सुपरिडेन्टन डाक्टर नवीन दर्नालले जानकारी दिए । जिल्ला समन्वय समितिका सभापति तथा भीम अस्पताल ब्यवस्थापन समिति अध्यक्ष एकराज विश्वकर्माले एक कार्यक्रमको बीच उक्त सेवाको उद्घाटन गरेका हुन् ।

१९९० सालमा स्थापित अस्पतालको सेपा प्रवाहलाई सुदृढिकरण गर्न चौबीसै घण्टा प्रयोगशाला संचालनमा ल्याएपछि रगत, दिसा तथा पिसाब परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता हटेको हो । ‘८ जना प्राविधिकलाई ३ सिफ्टमा विभाजन गरी ल्याब सेवा २४ घण्टा नै दिनेगरी संचालन गरेका छौ ।” दर्नालले भने,‘यसले अस्पतालमा आउने ओपिडी बाहेक अन्य बिरामीहरुको पनि समस्या समाधान हुने अपेक्षा गरेका छौं ।” दर्नालले ल्याब संचालनमा ल्याए लगतै अस्पतालमै रहेको एक्सरे सेवालाई पनि अब २४ घण्टा नै संचालन गर्ने तयारी अन्तिम चरणमा रहेको बताए ।

जाडोमा दैनिक ७० जनालाई तथा गर्मीमा सरदर १ सय ५० जनासम्म ल्याबका सेवाग्राही हुने गरेका छन् । अहिलेको ल्याबमा थाइराइड बाहेकका सबै ल्याब सेवा दिन सक्ने गरी पूर्वाधार तयार रहेको र बाहिर भन्दा ५० प्रतिशत कम मूल्यमा सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष एकराज विश्वकर्माले फाल्गुण महिना भित्रै २५ शैयाबाट ५० शैेयामा स्तरोन्नती गर्ने बताए । ‘सात दिन अगाडिनै मन्त्रालयले टुङग्याएको छ, क्याविनेट बैठकले पनि निर्णय गरिसकेकोले स्तरोन्नती भाषणमै मात्र सिमित हुदैन,” विश्वकर्माले भने ।

उनले २० करोडको लागतमा गुरुयोजनाको डिपीआर समेत केही दिनमै आउने बताउँदै निजी लगानीमा अस्पतालमा अत्याधुनिक सेवा सहितको आकस्मिक भवन पनि निर्माण चरणमा रहेको बताए ।

१९९० सालमा ३ शैयाबाट स्थापित अस्पताल २०३५ सालमा १५, २०४१ सालमा २५ शैयाको स्वीकृती पाएको छ । एकसय शैयाको अस्पतालको रुपमा सरकारले घोषणा गरेपनि हाल २५ शैयाको स्वीकृति रहे पनि अस्पतालमा ६० शैयाको बिरामीले सेवा लिईरहेका छन् ।

भीम अस्पतालले हाल ओपीडी सेवा, आकस्मिक, अन्तरंगमा प्रसुती र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा (खोप पोषण परिवार नियोजन), प्रयोगशाला, एक्सरे, ईसिजी, डट्स उपचार, कृष्ठरोग उपचार सेवा, यूएसजी सेवा र एआरटी सेवा दिदै आएको प्रशासन अधिकृत गोविन्द ज्ञवालीलले बताए ।

टिप्पणी थप्नुहोस्