देउवा र पौडेलको जमाना सकिइ सक्यो

शेखर कोइरालासंग अन्तर्वार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रतिपक्षीहरुलाई ‘कोइराला समूह’ भनेर चिन्ने मानिसहरुको कमी छैन । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलको नाममा चलेको यो गूटका नेताहरुका बीच आन्तरिक एकता भन्दा ब्यक्तिगत लाभ–हानीको हिसाब–किताब बढी नै रहेको बताइन्छ । पौडेल नेतृत्वको यो गूटलाई कोइरालाहरुको गूट वा समूह भनेर चिन्ने समय आइ सकेको छैन । कोइरालाहरुलाई पौडेलकै समूहका रुपमा हेर्नु उचित होला । कोइरालाहरुको नाममा अहिलेसम्म त्यस्तो कुनै समूह बनेको पनि छैन । अहिले कांग्रेस पार्टीमा कोइराला परिवारका तीनजना सदस्य सक्रिय रहेका छन : सुजाता कोइराला, शशांक कोइराला र शेखर कोइराला ।

अघिल्लो प्रतिनिधि सभाको सदस्यमा मोरंग क्षेत्र नम्बर ६ बाट निर्वाचित शेखर कोइरालाले २०७४ को चुनावमा पराजय बेहोर्नु पर्यो । शेखर कांग्रेसका प्रबुध्द ब्यक्तित्वका रुपमा परिचित छन । तेह्रौ महाधिबेशनमा कांग्रेस कार्यसमितिको सदस्यमा सर्बाधिक बढी मतले बिजयी भएका शेखरलाई पार्टीको भावी सभापतिका रुपमा हेर्दछन । स्वयं शेखर कोइराला सभापति पदमा चुनाव लड्न सक्रिय रहेका छन । आफू कोइराला परिवारको सदस्य भएपनि कुनै ‘लिगेसी’ अन्तर्गत नरहेको बताउँछन शेखर । तर, उनी नेपाली कांग्रेसकी प्रभावशाली नेतृ स्वर्गीय नोना कोइरालाका कान्छा छोरा हुन । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि नेपाली कांग्रेसभित्रको पारिवारिक राजनीतिक समीकरणमा नोनाको शक्तिशाली भूमिका सँधै निर्णायक रह्यो । शेखरले जे भने पनि, उनी लिगेसीका मामिलामा त्यति निमछरो देखिदैनन ।

नेपाली कांग्रेसको आगामी अधिवेशन, सामयिक राजनीति र कांग्रेसको बर्तमान अवस्थालाई केन्द्रमा राखेर शेखर कोइरालासंग किशोर नेपालको वार्ताः

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रखर बिरोधीका रुपमा देखिनु भएको छ । देउवासंग असहमतिका बिन्दू के के हुन ?

शेरवहादुरजी नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि उहाँले भन्नु भएको थियो : गिरिजाबाबुले पार्टीको संचालनमा जुन गल्ती गर्नुभयो, म ती गल्ती गर्दिन । सवैलाई मिलाएर हिड्छु । यसका बिपरित, उहाँले आफनो गूट छोड्न सक्नु भएन । पार्टीको सभापतिले गूट चलाउने हैन । पार्टीको सभापतिले गूटगत राजनीति गर्नु हुँदैन । अहिले सभापति देउवा सबै कांग्रेसीको सभापति हो । यो कुरा मैले उहाँलाई पटक पटक नभनेको हैन । तर, जहिलेपनि कुरा गर्दा आफनै गूटका मानिस देखाएर उसले मान्दैन, उसले सुन्दैन भन्नुहुन्छ । सरकार प्रमुखका रुपमा पनि उहाँले एक पछि अर्को गल्ती गर्नु भएको हो । आइजीपी प्रकरणमा होस, सुशीला कार्की प्रकरणमा होस, राजदूत नियुक्तिमा भन्नुहोस । म मात्र होइन नेपाली कांग्रेसका गाउँदेखि शहरसम्मका कार्यकर्ताहरु उहाँको कामबाट सन्तुष्ट हुन सकेनन । उहाँ त्यसलाई सुधार्नेतिर लाग्नु भएन । झन् झन् विगार्ने तर्फ लाग्नुभयो । अनि मलाई लाग्यो पार्टी यसरी जानु हुँदैन ।

हामी जस्ता मानिसहरु, जो पार्टी राम्ररी अघि बढोस, सबैलाई मिलाएर जाऔं भन्ने व्यक्तिहरु एक ठाउँमा उभिनु पर्छ र पार्टीलाई सुधारेर अघि बढ्नुपर्छ भनेर हिडेको हो । शेरवहादुरजीको विपक्षमा होइन, उहाँको प्रवृत्तिको विरोधमा बोलेकै हो, लागेकै हो । अर्कोतर्फ रामचन्द्र पौडेलजीको समूह भनौं, जसमा कहिलेकाहीँ बैठकहरुमा तपाईंहरुले मलाई पनि देख्नु हुन्छ, त्यहाँ म कहिले जान्छु कहिले जान्न । इच्छा लागे जान्छु, नलागे जान्न । पौडेलजी कुनै कुरामा प्रष्ट निर्णय लिन सक्नुहुन्न । पार्टीको तेह«ौं महाधिवेशन सम्पन्न भएपछि उहाँले लिएका समूहका निर्णयहरु ‘निर्णायक’ हुन सकेनन । तपाईं गलत नै हुनुहोला । त्यो कुरा आफनो ठाउँमा छ । तर पार्टीमा ‘निर्णायक’ भएर जानु पर्यो । उहाँ ‘इनडिसाइसीव’ मान्छे भनेर चिनिनु भयो । कति सम्म भने केही समय अघि उहाँको समूहका केन्द्रिय सदस्यहरुलाई काठमाडौं बोलाइयो । उहाँको समूहका जिल्ला सभापतिहरुलाई पनि बोलाइयो । त्यहाँ केही निर्णयहरु भयो । जिल्ला सभापतिहरुले शेरवहादुरजीलाई त्यसको ‘प्रतिवेदन’ पनि बुझाए । तर, रामचन्द्र जी ले त्यसको ठीक विपरित काम गर्नुभयो । अनि कसरी आशा गर्ने कि उहाँबाट राम्रो ‘डेलिभरी’ हुन्छ ? समस्या त्यहीँ पर्यो ।

महाधिवेशनको मितिमा सहमति भइसकेको छ । अब त्यहाँबाट कोही पनि पछि हटने अवस्था छैन । महाधिवेशनमा अहिलेको संस्थापन पक्ष अर्थात देउवाजीका बिरुध्द तपाईहरुको उम्मेदवार को त ?

पहिले महाधिवेशनको कुरा गरौं । त्यसपछि म उम्मेदवारमा आउँछु । महाधिवेशनको कार्यतालिका आएको छ । तै पनि मेरो मनमा केही शंका छ । जुन गतिले हामी अघि बढ्दै छौं, त्यो गतिले माघको अन्त्यसम्म समायोजन हुन कठिनछ । पार्टीका पदाधिकारीहरु जो समायोजन संलग्न हुनुहुन्छ, उहाँहरु निष्क्रिय भएर जानु भएको छ । यसले महाधिवेशन घोषित मितिमा हुने नहुनेमा आशंका उत्पन्न गरेको छ । महाधिवेशन गरौं भनेपछि त समायोजनमा लाग्नु पर्यो नि । विजय गच्छदारजीको त्यत्रो पार्टी छ, हामी भित्रै सांसदको संख्या घटेर २४० बाट १६५ भयो । स्थानीय तहमा वडाहरु मिलेका छन । धेरै ठाउँमा प्रादेशिक संरचनाको विषय छ । अहिले पनि म के देख्छु भने शेरवहादुरजी कै समूहले समायोजनलाई ढिला गरिरहेको छ । संस्थापनले वडो गर्वका साथ २ नम्बर प्रदेशका आठ वटा जिल्लामा हाम्रो सभापति छ भन्छन । तर एउटा जिल्लामा पनि समायोजन हुन सकेको छैन । उहाँहरु जिम्मेवार हैन? कति ‘सिरियस’ कुरा हो यो !

समायोेजनका कुरालाई थाती राखेर सभापति निर्वाचनमा सबै बिषय केन्द्रीत भएको हो ? समायोजन नयाँ सभापतिले पनि गर्न सक्ने कुरा हो नि ?

त्यसो होइन । समायोजन भइसकेपछि क्रियाशील सदस्यता र सदस्यता नवीकरण शुरु हुन्छ । क्रियाशील सदस्यता वितरण नगरी महाधिवेशनका प्रक्रिया अघि बढ्दैनन । हामीले अलिकति ढिला गर्यौं भने अर्को वर्षको फागुन ७ गते महाधिवेशन गर्ने ‘टार्गेट’ पूरा हुन सक्दैन । डर त्यो छ । त्यसमा रामचन्द्र पौडेल जीको समूह चनाखो हुनुपर्छ । अन्तिम समयमा खै के हुन्छ के हुन्छ । किन ब्रेक लाग्छ मलाई अचम्म लाग्छ । यता देउवाजीको समूह समायोजनमा नै ढिलाइ गरिरहेकोछ । देउवा समूह निर्धारित समयमा नै महाधिवेशन चाहन्छ कि थप छ महिना लम्ब्याउन चाहन्छ ? त्यसपछि त स्थानीय तहको निर्वाचन आउँछ । त्यसो भयो भने कांग्रेस त सखाप हुन्छ । स्थानीय तहको निर्वाचन र हाम्रो महाधिवेशन बीचमा ६ महिनामात्र ग्याप भयो भने हामीलाई त अप्ठेरो पर्छ । यो मेरो डर मात्र हो । कही अधिवेशन नै नहुने हो कि !

तपाईं ‘ओभर कन्सियस’ हुनुभएको हो कि ? शेरवहादुर देउवा, जसलाई सभापतिको रुपमा तपाईंले चार वर्ष बेहोरीसक्नु भएको छ, उहाँलाई यति धेरै अविश्वासगर्ने कारण चाहिँ के हो ?

म महाधिवेशन तोकिएको मितिमा नै होस भन्ने चाहन्छु । देउवाजीको इतिहास आफनो पदावधि लम्ब्याउने छ । उहाँले नेविसंघको २ वर्षको कार्यकाल ८ वर्ष लम्वाएको हैन आफू नेविसंघको सभापति हुँदा ? तर, म अहिले त्यता जान चाहन्न । गुड सेन्स हामी सबैमा प्रिभेल गरोस । अधिवेशनको जुन डेटलाइन हामीले तोकेको छौं त्यसलाई निर्धक्क सम्पन्न गरौं ।

अब रामचन्द्र पौडेललाई सभापति बनाउनुहुन्छ त ? तपाईं साँच्चै रामचन्द्रजीको समूहमा हुनुहुन्छ कि हुनुहुन्न ?

म पौडेल समूहमा छु पनि, छैन पनि । म देउवाजीले बोलाउनु भयो भने पनि जाने मानिस हो । उहाँले बोलाउँदै बोलाउनु हुन्न । पौडेलजीले बोलाउँदा कहिले जान्छु, कहिले जान्न । जिल्ला सभापतिहरुसँग बसेर अन्तिम निर्णय गरेपछि उहाँहरु कुरा फेर्न थाल्नु हुन्छ…….

गुटवन्दीमा विश्वास नभएर तपाईं बैठकहरुमा नजानु भएको हो ?

त्यसलाई पनि अस्वीकार गर्दिन । रामचन्द्रजीले प्रजातन्त्रका लागि लामो लडाई लड्नु भयो । म उहाँको संघर्षको सम्मान गर्छु । तर अहिले जुन परिस्थिति छ देशमा, जस्तो अन्तर्राष्ट्रिय परिस्थिति छ, नेपालको भू–राजनीतिक अवस्था जस्तो छ । त्यसका बारे चिन्तनको कमी छ । अहिले सामाजिक सञ्जालहरुले देशमात्र होइन विश्वलाई जसरी डोहोर्याइरहेकाछन त्यसबाट पार पाउन हाम्रो नेतृत्वलाई गाह्रो देख्छु । उहाँहरु सम्मानित हुनुहुन्छ हामीले सम्मान गर्नुपर्छ…

उहाँहरु सम्मानित हुनुहुन्छ तर समकालीन हुनुहुन्न हैन ? कन्टेम्पोररी डेभलपमेन्टमा देउवा र पौडेल दुबैको भूमिका देखिदैन, हैन ?

हो, म त्यस्तो देख्दिन । शेरवहादुरजीलाई संसार कता दौडिरहेकोछ मतलव छैन । पार्टी कहाँ गइसक्यो । फेरी सभापति बनौं भन्ने चिन्तामात्रै छ उहाँलाई । रामचन्द्रजी पनि त्यस्तै देखिनु हुन्छ । अहिलेको हकमा कन्टेम्पोररी पोलिटिक्स छ नि विश्वमा, त्यसमा उहाँहरु सक्रिय देखिनुहुन्न ।

भनेपछि रामचन्द्र पौडेल पनि हुँदैन ?

हुँदैन भन्ने त होइन, उहाँलाई उठ्न कसले रोक्छ र । तर मेरो अनुरोध उहाँ सम्मानित पदमा बस्नुहोस् , केही अवसरहरु पक्कै आउँछ…..

अब यही गूटमा अन्य दुई जना सभापति पदको आकांक्षी देखिनुहुन्छ, एक जना प्रकाशमान सिंह….

आउँदैछु म । तपाईंले त्यसरी सोध्नु भएको हो भने भन्छु अब म । रामचन्द्र जी, प्रकाशमान, शशांक र सिटौलाजी । सिटौलाजीको गूट पनि ‘इण्डिपेन्डेन्ट’ छ, उहाँको आफ्नै । अहिले उहाँ यतापट्टी भएकोले ‘वान अफ दी क्यान्डिडेट’को रुपमा मैले राखेको हो ।

सिटौलाजीको गूटलाई बेग्लै हेर्नु पर्ला..

ल, त्यो समूहलाई वेग्लै हेरौ । त्यसपछि अर्जुनजी, सुजाता, रामशरणजी र शेखर कोइराला । सिटौलाजीलाई पनि समावेशगर्दा यी आठ जना, जो हामी निरन्तर बैठक बसीरहेका छौं । एक दुई महिनाको अन्तरमा हामी बैठक बस्छौं । अस्ति पनि बस्यौं । को सभापति बन्ने ? निर्णय भएको छैन । तर शेरवहादुर प्रवृत्तिलाई हराउनुपर्छ भन्नेमा सबैको सहमति छ । त्यसमा कसैको शंकै छैन ।

राजनीतिमा तपाईंको प्रवेश अलि ढिलै भएको पनि भन्छन नि ?

मानिसहरुलाई कन्फ्युजन छ कि शशांक र सुजाताभन्दा पछि म राजनीतिमा आएको भन्ने । तर म उनीहरुसँगै राजनीतिमा आएको हुँ । शशांक महामन्त्री भयो । त्यसै कारण सिनियर भयो भन्ने मात्र हो । लिगेसीको पक्षबाट हेर्ने हो भने मैले वीपीको लिगेसी पनि बोकेको छैन, गिरिजाप्रसादको पनि लिगेसी बोकेको छैन । मैले पारिवारिक लिगेसीको कुरा गरेको । मलाइ थाह छ मैले शशांकले भन्दा ७५ प्रतिशत र सुजाताले भन्दा ५० प्रतिशत अतिरिक्त मेहनत गर्नुपर्छ मैले । पारिवारिक लिगेसीले गर्दा । समकालीन राजनीतिमा लिगेसीले कति काम गर्छ ? त्यो आफ्नो ठाउँमा छ । म त्यसमा त्यति धेरै विश्वासपनि गर्दिन । अहिले भखैर दिल्लीमा भएको चुनावको हालत हेर्दा पनि पारिवारिक लिगेसीले काम गर्दैन भन्ने देखिएकोछ । त्यसकारण मिहिनेत यिनीहरुभन्दा बढी गर्दैछु र गर्छु पनि । उमेरको हिसावले म ६८ नाघिसके । मैले आफूलाई एक पटक पार्टी सभापति चलाउन सके भने, पार्टीमा जुन वेथिती छ त्यो मात्र हटाउन सके भने, भोलि जो सुकै नेतृत्वमा आए पनि त्यसले राम्ररी पार्टी चलाई दिन्छ । मैले दुई पटक सभापति बन्छु भनेर पनि भनेको छैन । एक पटक सभापति बने भने पार्टीलाई थितीमा राख्ने, राम्रो मानिसहरुलाई प्रोमोट गर्ने, उनीहरुले पार्टी चलाउँछन । म शेरवहादुरजी र रामचन्द्रजी हुन चाहान्न । मलाई कतिले महामन्त्री वा उप सभापति उठ्नुहोस् भनेका छन । रामचन्द्रजीहरुको पनि त्यहीँ सोचाईं होला…

तपाईं सभापति भन्दा मुनिका पदमा रहन चाहनुहुन्न ?

मलाई १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नु छैन । भनेपछि १४ औं महाधिवेशनमा म किन उपसभापति वा महामन्त्रीको उम्मेदवार बन्ने ? १५ औं महाधिवेशनमा म ७२ वर्षको पुग्नेछु । अहिले पो सक्रिय छु । त्यो समयमा उमेरले पनि साथ दिदैन । त्यसकारण अहिले म सभापति लड्ने तयारीमा छु । अब रह्यो प्रकाशमान, उहाँ राम्रो व्यक्ति हो । महामन्त्री, उपसभापति पार्टीमा उहाँ बनिसक्नु भएको छ । गणेशमानजीको छोरा, पारिवारिक लिगेसी पनि उहाँले राम्रै बोक्नु भएको छ । उहाँले के गर्नुहुन्छ म भन्न सक्दिन । तर उहाँको मनसाय लड्नेछ भन्ने बुझेकोछु । सिटौलाजी ले १२ बुँदे सहमतिका आधारमा गिरिजाबाबुको लिगेसी आफूले बोकेको भन्नु हुन्छ । उहाँको कुरामा दम छैन भन्दिन । ‘हि इज वान अफ दी मस्ट आर्टीकुलेट पर्सन इन आवर पार्टी’ । हामी आठ जनाको एउटै गोल भनेको शेरवहादुर प्रवृत्तिलाई हराउने भन्ने हो । रह्यो कुरा शशांकको । उ महामन्त्री हो । उसले यो चार वर्षमा कति काम गर्यो गरेन त्यो कार्यकर्ताहरुले मूल्याङ्कन गर्लान् । मिठो बोल्छ, हाँसी रहन्छ । मलाई पनि उ जस्तै हुन मन लाग्छ । तर, कार्यकर्ताहरुले कति डेलिभर गर्यो भनेर हेर्छन् । सुजाताको केही कुरा मिडियामा आयो । किन आयो त्यस्तो कुरा ?उ सँग भेटेर कुरागर्न पाएको छैन मैले । उसले पटक पटक म उम्मेद्वार हैन भनेको छ । राम शरण डाक्टर साप अर्जुनजीहरु पनि उम्मेद्वारको रुपमा आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ । उहाँहरु कति सिरियस हुनुहुन्छ ? कोइरालाहरुले सहयोग गरुन भन्ने उहाँहरुको अपेक्षा होला । अहिलेको परिदृश्य यही हो ।

तपाईंहरु कोही कही पनि मिलेको देखिनुहुन्न..

मिलेको छैन नै । मैले त मिलेको छैन भनेर वताइसके त ।

संस्थापन विरोधी पक्षबाट धेरै जना सभापतिको उम्मेदवारबन्ने संभावना कत्तिको छ ? जस्तो शशांक, तपाईं र प्रकाशमान नछोड्ने भनेर कसिनुभएको छ ।

शशांक, मेरो र सुजाताको बीचमा चाहिँ हामी कनक्लुजनमा आउँछौ जस्तो लागेको छ मलाइ । म चाहीं यो पटक कसैसँग सम्झौता गर्ने पक्षमा छैन ।

यो त विरोधाभाशपूर्ण भयो ।

भन्न खोजेको के भने मलाई कन्भिन्स गर्नु पर्यो । यु आर नट फिट भन्नु पर्यो ।

एउटा उम्मेद्वारलाई त्यसो भन्ने तागत कसैको हुदैन । हैन र ? कि त वीपी वा गिरिजाबाबु आएर ल शेखर तिमी फिट छैनौ है चुप लागेर बस भन्नु पर्यो । तपाईं सपनामा विश्वास त गर्नु हुन्न ।

मलाई सिनियर साथीहरुले के भन्छन् भने तपाईं कति घुमिरहनु हुन्छ जिल्ला जिल्ला । तपाईं काठमाडौं बस्नुहोस् । म उहाँहरुलाई जवाफ दिन्छु काठमाडौं बसेर म आफनो औचित्य समाप्त गर्न चाहन्न । जिल्लाका कार्यकर्ताहरु नै मेरा शक्ति हुन् । यो पटक नेताहरुले भनेर केही पकेट भोट आउला । तर आसन्न महाधिवेशन अरु बेलाको भन्दा पूरै फरक हुनेछ ।

तपाईं दृढ हुनुहुन्छ भनेर सबैलाई थाहा छ । यो पटक शेखर कोइराला लड्छ लड्छ भन्ने छ ।

तपाईंहरु जस्ता मिडियाका सिनियर साथीहरुले यो कुरा स्पष्ट बताउनु पर्यो कि नेपाली कांग्रेस कमजोर हुँदैछ । कतिसम्म भने हामी सत्ता पक्षको पुच्छर समातेर हिड्दैछौं । नेपाली कांग्रेस कमजोर हुँदा लोकतन्त्र खतरामा पर्दो रहेछ । लोकतन्त्र बाँचोस् भनेर बोल्ने एउटा व्यक्ति त उठ्नु पर्यो । नभए त लोकतन्त्र नबच्ने रहेछ । यसपटकको सवल पक्ष भनेको नै गाउँ गाउँबाट आएका कार्यकर्ता हुन् ।

तपाईंले अहिलेसम्म कतिवटा जिल्ला घुम्नु भयो ? जाँदा खेरी कार्यकर्ताहरुसँग मात्र भेट गर्नुहुन्छ ?

पाँच छ बटा जिल्ला घुमेको छैन होला । अरु त घुमी सकें । जिल्ला जानु भन्दा पहिले सानै प्रोग्राम भए पनि जिल्ला सभापतिलाई जानकारी गराउँछु । महाधिवेशन, महासमिति प्रतिनिधि सबैलाई खवर गर्छु । शेरवहादुरको गूट, रामचन्द्रको गूट भनेर कसैलाई छुटाउदिन । अनि विद्यार्थी नेता, तरुण दल सबैलाई खवर गर्छु । बौद्धिक वर्ग र प्राध्यापकहरुसँग पनि छलफल गर्छु । गरिरहेको छु । गुटका कारणले होला अरु नेताहरु आउँदा त खवर पनि गर्दैनन । तपाईं आउँदा चाहिँ सबैलाई खवर गर्नुहुन्छ भेट्नु हुन्छ भन्छन् । प्रायः कार्यक्रम सदरमुकाममा हुन्छन । दोस्रो दिन गाउँमा गएर बस्तु स्थिति बुझ्ने मेरो प्रयास रहन्छ । साथीहरुले बसोबास पनि साथीहरुकैमा हुनुपर्यो भन्छन् । होटलमा खाना कमै खान्छु । यस्तो गूटको सकस छ । एउटाकोमा बस्दा अर्को रिसाउँछ । यसले बडो अप्ठ्यारोमा पार्छ ।

कांग्रेसमा प्रतिरोधी क्षमता नभएजस्तो छ । सत्ता पक्षले आक्रमण गरे पनि चुप लागेर बसेको छ । त्यसलाई गतिलो जवाफ दिइ रहेको छैन । कांग्रेसलाई प्रतिरक्षात्मक मनस्थितिबाट मुक्तगर्न के गर्नुपर्ला भन्ने सोच्नु भएको छ ?

राजनीति नैतिकताको आधारमा गर्ने हो । गल्ती गरेको छैन भन्ने आधारमा राजनीति गर्ने हो नि । त्यसो भएपछि तपाईं अडेर बस्नु हुन्छ केही कुरामा । तपाईंले भन्नु भयो नि हामी प्रतिरक्षा गर्ने स्थितिमा छैनौं । अझ म त भन्छु हामी सत्ता पक्षले जे जे गर्दैछ त्यसको होमा हो मिलाएर हिड्दैछौं । सोच छैन, विचार छैन, के गर्ने भन्ने योजना छैन । किन नेपाली कांग्रेस यति कमजोर भयो भन्दा सत्ता सन्चालनगर्दा ओमिशन कमिशन हुन्छ । हाम्रा पार्टीका नेताहरु त्यसबाट बाहिर आउनै सकिरहनु भएको छैन । म चाहिँ के भनिरहेको छु भने तपाईंहरु स्ट्याण्ड लिनुहोस् । हामी तपाईंहरुको साथमा छौं ।

पार्टीका जिम्मेवार बौद्धिक नेताहरुले त बोलेर मात्रै भएन । बिरोधलाई डकुमेन्ट गर्नुपर्यो नि । शेरवहादुर देउवासँगको तपाईको राजनीतिक प्रतिव्दन्दिता पार्टीसँग त होइन । पार्टी त तपाईंको पनि हो । रामचन्द्रको पनि हो । अलिकति बलिदान र त्याग त सबैबाट हुनुपर्यो नि । होइन ?

यहाँ समस्या कहाँ छ भने हामीले बोलेर मात्र हुँदो रहेनछ । पार्टी सिस्टममा सभापति महामन्त्रीहरु दरबिलो रुपमा प्रस्तुत हुनुपर्ने रहेछ । संसदभित्र दह्रो भएर आवाज उठाउनुपर्ने रहेछ ।

संसदमा तपाईंहरुको बोल्ने मान्छे नै देखिदैन । सबै नेताका ‘आफना‘ले टिकट पाएको जस्तो देखिन्छ ?

त्यही विकृति विसङ्गतिका विरुद्ध त हामी लडिरहेका छौं त । गर्ने के हामीले ? डाडु पन्यौ उनीहरुले बोकेर बसेका छन् । पार्टी बचाउन हामीले हर प्रयास गरेका छौं ।

तपाईं प्रभावशाली हुनुहुन्छ, पव्लिकले तपाईंलाई सुन्छन् र मान्छन् ।

हाम्रै नेताहरुको बारेमा, कांग्रसलाई कसरी अगाडी बढाउने भन्ने बारेमा पव्लिकको अगाडी म बोलिरहेको छु । यहाँ कसैको विषयमा वा कसैलाई बचाउने भन्ने हैन । वाइड वडीको बारेमा सेन्टर कमिटीमा कुरा उठेको छ ।

अब कनक्लुजनमा के हुन्छ त ?

रामचन्द्र ग्रुपमा एकरुपता आएको म देख्दिन । प्रयास भइरहेको छ । एकरुपता आएन भने त्यसको फाइदा देउवा गूटले पाउँछ । देउवाजी लाई यिनीहरु लडिरहन्छन, म फुत्त निस्कन्छु भन्ने लागिरहेको होला । उहाँका लागि यो पटक त्यति सजिलो नहोला ।

पार्टीभित्र जुन किसिमले गुटहरुको निर्माण भइरहेको छ त्यसलाई के भन्नुहुन्छ ? सिटौलाले गिरिजाप्रसादको लिगेसी धान्ने भन्नहुन्छ । त्यो लिगेसी त तपाईंले पनि धान्नु भएको हो । महन्थ ठाकुरले पनि धान्नु भएको हो । शान्ति सम्झौतागर्ने क्रममा गिरिजाबाबुले महन्थ ठाकुर, शेखर कोइराला, कृष्ण सिटौला लगायत धेरैलाई प्रयोग गर्नुभयो । त्यत्तिकै भरमा कसैले कांग्रेसको लिगेसी धान्दछ ?

राम्रो मान्छे जो गुटमा फस्न चाहदैन त्यो भित्तामा पुग्छ । जो गुटमा हुन्छन शेरवहादुरजी रामचन्द्रजी दुबैको गूटमा हेर्नुहोस् । त्यो सानो गूटमात्र फङ्सनिङ्ग भइरहेको हुन्छ डेलिभरी हुँदैन । गुटमा लाग्दा फाइदा के हुन्छ भने सिटौलाजीले हारेकालाइ पनि केन्द्रिय सदस्य बनाउनु भयो । त्यसकारण पनि मान्छे लाग्छन गुटमा । केन्द्रिय कार्यसमितिमा आएका युवाहरु के भन्छन् भने २० लाख जुटाउन सकिएन भने निर्वाचनमा हामी जित्दैनौ । तिमीहरु यसो भन्छौ, कोही सिटौलातिर छौं, कोही रामचन्द्र र कोही शेरवहादुरतिर छौं । किन लागेको ? सोध्छु । उनीहरुसँग जवाफ छैन । आफ्नो स्वार्थका लागि गूटमा लागिरहेका छन ।

नेपाली कांग्रेस कतै भारतीय राष्ट्रिय कांग्रसकै बाटोमा त हिडेको हैन नि ?
यहीँ तरिकाले गयो भने चाहिँ त्यस्तै हुन्छ । हामी जस्ता मानिसहरुको हातमा नेतृत्व आयो भने जोगिन्छ । अब आउने संसदीय निर्वाचनमा हामी जित्नेछौं ।

निर्वाचन पनि महगो भइसक्यो…

हामीले बिचार गर्नुपर्छ कसरी निष्पक्ष निर्वाचन गर्ने । म सँग अहिले यसको उत्तर छैन । यो सत्य हो सामान्य मानिसले निर्वाचन धान्न नसक्ने अवस्था आइसक्यो । यो सँग पैसा छैन यसलाई टिकट नदिउँ भन्ने नेतृत्वको गलत सोचाईले राजनीतिक बिकृति बढाएको छ । यो बिकृतिको उन्मुलनका लागि राज्यले नै प्रयत्न गर्नुपर्ने हो । यही चाल र यही तरीकाले राज्यले पनि केही गर्नसक्छ भन्ने मलाई लाग्दैन ।

टिप्पणी थप्नुहोस्