गाड्न लागेको बालकको शव नियन्त्रणमा, मृत्यु रहस्यमय

-राधेश्याम विश्वकर्मा

नवलपरासी । गौतम बुद्धको अस्तु राखिएको नवलपरासीको रामग्राम स्तुपा नजिकै राखिदै थियो विवेक पासवानको शव । स्थानीय निजी बिद्यालयमा कक्षा १ मा पढ्ने विवेकको मृत्युपछि शोकाकुल परिवार र स्थानीयले सदगतको लागि विवेक शव जलाउनुको सट्टा गाड्न लागेका थिए । तर घटनाले बेग्लै मोड लियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता बर्दघाट पश्चिम)ले आधा गाडीसकेको शवलाई नियन्त्रणमा लिएपछि विवेकको मृत्यको घट्नाले थप चर्चा पाएको छ ।

रहस्यमय तरिकाले मृत्यु भएको भन्दै केही ब्यक्तिको उजुरीपछि सदगद गर्दै गरेको अवस्थामा प्रहरीले शवलाई नियन्त्रणमा लिएर पोष्टमार्टमको लागी परासीको पृथ्वीचन्द्र अस्पतालमा पुर्‍याएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले रामग्राम ईङलिस स्कूलमा अध्ययनरत विद्यार्थीको विद्यालयमै शिक्षकद्वारा कुटपिट भई मृत्यु भएको र निजको शवलाई हतारमा गाड्न थालिएको जानकारी आएपछि थप अनुसन्धानको लागि शवलाई नियन्त्रणमा राखिएको बताए । उनले शव पोष्टमार्टमको लागि काठमाडौं पठाइएको र विद्यालयको सीसीटिभी फुटेज हेरेर सुक्ष्म अनुसन्धान गरिरहेको बताए ।

विद्यालयमा कुटाईबाट विद्यार्थीका मृत्यु भएको र प्रहरीले गाड्न लागेको शव नियन्त्रणमा लिएपछि घटनाले चर्चा पाएको छ । रामग्राम नगरपालिका वडा नम्बर ७ उज्जैनी बस्ने नौं वर्षीय विवेक पासवान स्थानिय रामग्राम इङलिस स्कूलमा कक्षा १ मा अध्ययनरत् थिए । अन्य दिन जस्तै सामान्य रुपमा बिद्यालय गएका विवेक गत शुक्रबार विद्यालयबाट घर फर्किदा भने सामान्य थिएनन् । सोही विद्यालयमा ७ कक्षामा अध्ययनरत फुफु अंकिता पासवानले करिव वेहोस अवस्थामा उनलाई घर लिएर आएकी थिइन ।

विद्यालयमा होमवर्क नगरेको भन्दै शिक्षिका प्रतिमा रजकले कुटेपछि उनको स्थिति बिग्रेको र उनलाई विद्यालयले उपचार नगरिंदा विवेकको अवस्था विग्रेको अंकिताले बताइन ।

घर पु¥याईएका विवेकलाई नवलपरासीकै पृथ्वीचन्द्र अस्पताल, स्थानीय क्लिनिक, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवा हँदै चितवन उपचारको लागि पुर्‍याई पनि अन्ततः आइतबार उनको मृत्यु भयो । बाबु बैजनाथ पासवान बैदेशिक रोजगारीको लागि बाहिर छन् । उपचारमा आमा अंगिरा पासीले अथक प्रयास गरिन तर उनको केही लागेन । अहिले उनको आँशु थामिएकै छैनन् । दुई छोरा मध्ये जेठो छोराको मृत्यु भएपछि अहिले अर्धबेहोसी अस्पतालमा छिन् ।

बिहान सामान्य रुपमै बिद्यालयमा पुर्‍याएको छोरा शिक्षिकाको कुटाइबाट टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको आमा अंगिरा पासीको आरोप छ । कुनै प्रकारको बिरामी नरहेको छोरा विवेकको टाउकोमा गम्भीर असर परेर मृत्यृ भएको उनको आरोप छ । अस्पतालमा नै उनको टाउकोमा चोट देखिएको बताएको अंगिराको भनाई छ ।

यता विद्यालयले भने उक्त आरोपको खण्डन गर्दै अनुसन्धानमा आफुहरुले पूर्ण रुपमा सघाउने प्रतिवद्धता जनाएको छ । स्कूलका प्रधानाध्यापक राधेरमण पाण्डेले विद्यालयमा विवेकलाई कुनै प्रकारको कुटपिट नगरिएको दावी गरे । उनले केही ब्यक्तिले आफुलाई ‘ब्ल्याकमेलिङ’ गरी १० लाख रुपैयाँ माग गरिएको आरोप समेत लगाए । पाण्डेले प्रत्येक कक्षाकोठामा सीसीटिभी क्यामेरा जडान गरिएको र क्यामेराबाट प्राप्त दृश्यहरुमा त्यस्तो केही नदेखिएको बताए ।

विद्यार्थीको मृत्यु भएपछि उज्जैनी गाँउ शोकमा डुबेको छ भने विद्यालयका बिद्यार्थीहरु पनि उत्तिकै त्रसित देखिएका छन् । अभिभावक र विद्यालय प्रशासनको आरोप प्रत्यारोपको बिच काठमाडौंको पोष्टमार्टम रिपोर्ट र प्रहरीको अनुसन्धानले मात्र घटनाको सत्यतथ्य बाहिर आउने छ ।

टिप्पणी थप्नुहोस्