आवश्यक औषधि हो गाँजा….

-पुरुषोत्तम लम्साल

गाउँको फन्को
गाउँमा दामे काकाको दबाइखाना थियो । दामे काका थिए ननरजिस्टर्ड मेडिकल पर्सन ! तर त्यहाँ सांसारिक वा भौतिक दबाईभन्दा आध्यात्मिक दबाईको अन्तरंग चर्चा हुन्थ्यो । र, ठूलोभन्ज्यांगसम्म आध्यात्मिक बुटीको वासना फैलन्थ्यो । ‘गाँजालाई यसरी पिस्नपर्छ कि सिलौटोमा जमेको गाँजाको लेपमा लोहोरो टाँसिनपर्छ’, काका भन्थे- त्यसपछि मात्रा मिलाएर उडाए पनि भो, घोटे पनि भो, बीषै बनाए भो, अमृतै बनाए पनि भो । विरामी वस्तुभाउलाई दिए पनि भो, बिरामी मान्छेलाई मात्रा पुर्‍याए पनि भो ।’

सामाजिक यथार्थ अन्यत्रसरह मेरा गाउँमा पनि उही थियो, तागाधारी बर्गभित्र मदिराजन्य पदार्थ तुच्छ थियो, भनौं बर्जितसरह थियो । तर, गाँजा एक किसिमले स्वीकृत । ओखतीका लागि घर वरिपरि एकाध बोट भएपनि गाँजा रोप्नपर्छ भन्ने त चलनै थियो । मलखाडलमा काँचोपात र कुँडारको डिलमा गाँजा । कक्कडका अम्मलीले शिवजीको नाममा सम्मानपूर्वक एक सर्को चढाउनु नौलो थिएन । गाउँमा पेट दुखे पनि गाँजाको चिलिम पड्काउने थिए, टाउको दुखे पनि सोतेमा गाँजा भर्ने र त्यसमाथि जुटको डोरी सल्काएर धुँवा उडाउने भेटिन्थे । काम नगर्नेले आनन्दका लागि, काम गर्नेले थकान मेट्न र उर्जा जोहो गर्ने बाटो । फलैंचामा बसेर लामो नलीयुक्त हुक्काको शीरमा रहेको फराकिलो चिलिममा सख्खरै मिसाएर मोलिएको मुठ्ठीभरी गाँजाको उच्चबर्गीय आनन्द र विलासको सन्दर्भ अर्कै हो ।

गाँजा नशालु वस्तु हो, यसको कुलत हुन्छ र त्यसमा फसेकालाई गँजडी भनिन्छ भन्ने थाहा भो । गाँजा बीष होइन, मस्तिष्क र स्नायुको ओखती पनि हो भन्ने थाहा भएपछि अवसर र उपलब्धतामा मैले पनि ‘लौ त सोम !’ भन्न छाडिन । त्यो उमेरमा तहतहका बर्गबर्गका ‘सोम’ भेटिए । त्यो ‘सोम’ शब्द र गाँजाको सम्बन्ध धेरै पछि बुझें ।

‘सोम’ अर्थात् चन्द्रमा अर्थात् शितलता । अर्थात् सोमपान औ सौम्यपान वा शान्त नशा । ऋग्वेदमा एउटा श्लोकको अर्थ रहेछ ‘हे सोम ! हामीलाई सबै कोणबाट पबित्र बनाइदेऊ, मनभित्र पूर्ण उर्जा (जोश) प्रवेश गराइदेऊ, हाम्रो वाणी सशक्त होस् र हामीमा उत्तम बुद्धि उत्पन्न होस् (९.९७.३६) ।’ यो ‘सोम’ ले ध्यानको उच्चतम अवस्था वा तेजोमय अवस्था प्राप्त गर्न सकिन्छ भन्दोरहेछ । ‘सोम’ अतिसामान्य मान्छेका लागि मात्र नशा रहेछ । सामान्य मान्छेका लागि त्यो ओखती रहेछ । ऋग्वेद भन्दोरहेछ ‘नशामा लीन हुनेहरुले आफ्नो बुद्धि गुमाउँछन्, निर्वस्त्र हुन्छन् र कलह निम्त्याउँछन् (८.२.१२) तर, प्रज्ञा वा बुद्धिको प्रयत्न गर्नेका लागि त्यो ‘सोम’ रहेछ । सोम औ मित्र । अर्थात्, मन्दबुद्धिका लागि नशा र ऋषी वा ज्ञानीका लागि दिव्य कर्मतिर प्रेरित गर्ने पदार्थ रहेछ ।

यसलाई पछि विज्ञानका बादशाह अल्बर्ट आइन्स्टाइनले शब्दमा यसरी उतारेछन्, No Problem can be solved from the same level of consciousness that created- Einstein.  अर्थात् कुनै पनि समस्या चेतनाको त्यही तहबाट समाधान गर्न सकिंदैन जुन तहबाट त्यो उत्पन्न भएको हो । यसमा वैज्ञानिकहरुले थपे Smoking cannabis gets you to another level of consciousness. अर्थात् गाँजाको सेवनले तपाईलाई चेतनाको अर्को तहमा पुर्याएर सोच्ने वा कल्पनाशक्तिमा फेरबदल ल्याइदिन्छ । हुनसक्छ, त्यसैले आइन्स्टाइन व्यक्तिको धुम्मपानको अधिकारमाथि प्रतिबन्धको विपक्ष भेटिन्छन् ।

विज्ञानको चर्तीकला शुरु हुनभन्दा हजारौं वर्षअगाडि पूर्वीय संँस्कृतिले गाँजाको महत्व स्थापित गरिसकेको थियो । झण्डै चार हजार वर्षअगाडि (इशापूर्व १५ सय) नै लेखिएको रहेछ:

पञ्च राज्यानिवीरुधां सोमश्रेष्ठनि ब्रुमः । दर्भो भङ्गो यवः सहस्ते नो मुञ्चन्त्ववंहस :।। (अथर्ववेद भाग ५)

अर्थात् लहराका पाँच पवित्र वनस्पति कुश, भांग (गाँजा) जौलगायतले हाम्रो पापमोचन गरुन्, कष्ट हटाउन् । यो त्यही गाँजा हो जसलाई सँस्कृतले अहिफेन भन्यो, अपभ्रंश भयो अफेन बन्यो र अंग्रेजले अफिम बनाएर सर्पको बीषभन्दा कडा बीषवर्धक पदार्थको रुपमा व्याख्या गर्यो, अन्यत्र प्रतिबन्ध थोपर्न दबाब दियो र आफू मनखुस व्यापार गरिरह्यो ।

दशकअगाडिसम्म कहिले उर्जाको बहानामा त कहिले आध्यात्मिक बहानामा मैले पनि अवसर बनाएरै गाँजा तानें । विभिन्न खेलकलामा संलग्न मेरा केही समकक्षी समवयी उर्जाका लागि भन्दै सखारै चिलिम दर्शन गरेर मैदानमा जान्थे । सँगै ट्रयाकमा दौडने साथी दौडको आनन्द लिनको सट्टा दूरी र गतिको चिन्ता भगाउन गाँजाको उर्जा लिन्थ्यो । जो हात र खुट्टाको कलामा विश्वास गर्दथ्यो उसले पनि विपक्षीको चाल र आफ्नो ध्यानमा केन्द्रित हुने भन्दै भीडन्तअगाडि गाँजा पिएर उपस्थित हुनथाल्यो । यो त लडाईमा जानुअघि र लडाईबाट फर्किएपछि भांग वा गाँजा पिउने भारतीय सँस्कृतिको अर्को अध्यायजस्तो लाग्यो ।

एउटा कुरामा ढुक्क हुनुस्, गाँजा पिउने सबै बब मार्ली हुन्नन् । सबै बैज्ञानिक गाँजा पिउँछन् वा गाँजा सेवन गरेर बैज्ञानिक भइन्छ भन्ने किञ्चित होइन । विख्यात पौडिबाज माइकल फ्लेप्सले फगत गाँजाकै भरमा ओलम्पिकमा कूल २३ स्वर्णपदक प्राप्त गरेका होइनन् । पाइप तानेर सबै चे ग्वेभारा हुने भए विश्व अहिले साम्यवादी क्रान्तिकारीहरुको परेडस्थलै हुने थियो । गाँजा पिएरै सबै कम्प्युटर इञ्जिनियर स्टिभ जब्स हुने भए एप्पललाई विस्थापन गर्न उहिल्यै बनाना, ग्रेप, म्यांगो, पिच नामका मोबाइल कम्पनी खडा भइसक्थे । गाँजाकै नशामा लठ्ठिएर सबै साधु, सन्त, ऋषी वा शिवजी नै भएको कल्पना गर्नु फगत गँजडी कल्पना हो । किनकि, स्वैरकल्पनाको उत्पत्ति पनि नशाको गुणै हो, धर्मै हो । मात्रा र गुण अनियन्त्रित भएपछि न नशा हुने हो ।

गाँजा ओखती हो कि नशा ?

चक्कुलाई चिकित्सकले शल्यक्रियामा उपयोग गर्दछ । त्यही चक्कु अपराधीका लागि अपराधको हतियार हुन्छ । यसको अर्थ चक्कुलाई प्रतिबन्ध लगाउनपर्छ भन्ने तर्कसँग सहमत हुन सकिदैन । गाँजालाई त्यही चक्कुको रुपमा व्याख्या गर्दा हुन्छ । नत्र विश्वका २४ वटा देशले चिकित्सकीय प्रयोजनका लागि गाँजालाई बैध घोषणा गरेको र ४८ वटा देशले गाँजालाई प्रतिबन्धको स्थानमा नियमन गरेको अज्ञानी र अबुझ भएर हो र ? होइन । विश्व स्वास्थ्य संगठनले क्यान्सर, एड्स, दमलगायतका दर्जनौं रोगका लागि गाँजा औषधी हो त्यसै भनेको हो ? एपिलेप्सी एण्ड बिहेभियर पुस्तक लेखेर कुष्ठरोगका लागि गाँजा नै अचूक ओखती हो भनेर संसारले किन पछ्यायो ? नेचुरल थेरापी एण्ड क्यान्सर ड्रग डिस्कभरीले अर्बुद रोग (क्यान्सर) का बिरामीलाई केमोथेरापी चलाएपछि गाँजाको उचित मात्रा सेवन गराउने हो भने विकृत सेलको विकास रोकिन्छ भनेर अकारण भन्यो ?

इन्टरनेशनल जर्नल अफ आयुर्वेद एण्ड फर्मास्यूटिकल्सले गाँजालाई रोग प्रतिरोधी ४० तत्व भएको संसारकै शक्तिशाली वनस्पति नामाकरण गरेको छ । संसारका श्रेष्ठ खेलाडीहरुले द मोस्ट डाइनामिक प्लान्ट अन अर्थ भनेर ध्यान केन्द्रित गर्न खेलाडीका लागि गाँजाको पक्षमा वकालत गरेका भेटिन्छन् । क्यानाबीसः इभोल्युसन एण्ड एथनोबोटनी पुस्तक लेखेर पश्चिमाहरुले गाँजाको विधिपूर्वक सेवनले स्नायु र मस्तिष्कका दर्जनौं जटिल रोगमा काम गर्ने व्याख्या गरे र चाइनिज फर्माकोपिया (परम्परागत चिनियाँ पद्दतिअनुसार औषधी बनाउने विधि) को नक्कल गरेर दर्दनाशक र स्नायु तन्तुका लागि गाँजा र गाँजानिर्मित औषधीलाई शहरशहरमा खुल्ला गरे । अन्ततः गाँजा उद्योग, व्यवसाय र ओखती सबै बन्यो ।

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानले ‘जहाँ गाँजालाई बैधता दिइएको छ त्यहाँ लागूऔषध र सम्बन्धित अपराधमा बृद्धि भएको कुनै तथ्यांक छैन’ भनेर संसारलाई उहिल्यै भनेका हुन् । गाँजाकै कारण तेस्रो चरणमा पुगेको क्षयरोगबाट बचेकी प्रिया मिश्राले गाँजालाई गरिबको नशा र औषधी दुबै मानेर त्यसको समुचित प्रयोगका लागि भारतबाट संसारलाई आग्रह गरिरहेकी छिन् (भलै भारतमा गाँजा खुल्ला गर्ने विधेयक लोकसभामा छ) । क्यानाबीज फर मेडिकल यूज: अ साइन्टिफिक रिभ्यु (२०१७) ले ४८ देशमा गाँजाको उपयोगको विषद् अध्ययन गरेर गाँजाको प्रयोगका लागि जहाँ कानुनी अड्चन छ त्यहाँको व्यवस्थामा लचकतापूर्वक फेरबदल गर्न भइरहेको प्रयत्नको प्रशंसा गर्दै गाँजालाई नशा र दुरुपयोगभन्दा ओखती र उपयोगमा जोड दिन सम्बन्धित देशहरुलाई आग्रह गर्यो । उनीहरुको निश्कर्ष थियो प्रतिबन्धले उपयोग घट्ने होइन, बरु दुरुपयोग बढ्छ ।

हिप्पीकालीन समयमा नेपालमा २०३३ सालमा र भारतमा सन् १९८५ मा गाँजामाथि प्रतिबन्ध लाग्यो । त्यतिबेलासम्म यी दुई देशका समाजमा गाँजा साँस्कृतिक सामाजिक वस्तु थिए । नेपालमा राजाले हाँकेको पञ्चायतले पनि घुँडा टेक्यो र भारतमा राजीव गान्धीले त्वम् शरणम् गरे । दुबै देशमा गाँजामाथि प्रतिबन्ध लगाउने सम्बन्ध सेतु अमेरिकासँग जोडिन्छ । तर अहिले त्यही अमेरिकाको ९ शहरमा गाँजा बैध छ, त्यहींको ३१ राज्यमा औषधीय प्रयोजनका लागि गाँजा उत्पादन, विक्रि र उपभोगको छुट छ ।

अल्जाइमरका बिरामीका लागि दीव्यौषधी भनेर गाँजा पसलपसलमा उलपब्ध छ । र त्यहाँ तीब्रत्तर विकास भइरहेको उद्योग ९ँबकतभकत नचयधष्लन क्ष्लमगकतचथ० मा गाँजा खेती पर्दछ । उसै पनि अमेरिकाको कृषि इतिहासमा सीमान्तकृत किसानको आयआर्जनमा सुधार ल्याउन गहूँ र मकैपछि गाँजा खेतीलाई सफलतापूर्वक उपयोग गरिएको दृष्टान्त छ (मार्टिक बेकर, सन् १८१२ को केन्टकी) । त्यहाँको जुन राज्यमा गाँजा प्रतिबन्ध छैन त्यहाँ दर्दनाशक (पेनकिलर) औषधी र मदिराको व्यापार चौपट भएपछि मदिरा (लिकर) उत्पादक र व्यवसायीले गाँजा प्रतिबन्ध फुकुवा रोक्न संघीय सरकारसँग गरेको गुहार उहिल्यै सार्वजनिक भएको हो (द वाशिंगटन पोष्ट रिपोर्ट) । यसैले गाँजा उत्पादक संस्था ग्रिनवेभका संस्थापक म्याट कार्नेस आउँदो तीन वर्षमा अमेरिकामा गाँजाको वार्षिक कारोबारले ३० बिलियन डलरको आँकडा छुने र केही वर्षपछि अमेरिकाले अन्य वस्तुसरह गाँजालाई पनि अन्य देशमा निर्यात गर्ने दावी गर्दछन् ।

र, हामी
थाइल्याण्डको संसदले हालै एक विधेयक पारीत गरी गाँजालाई उत्पादन, आयात र निर्यातमा कानुनी व्यवस्था गरेको छ । किसानलाई आर्थिक राहतदिने कार्यक्रमका रुपमा गाँजाको उपयोगगर्ने पहिलो एसियाली देशको रुपमा थाइल्याण्डले काम थाल्यो । हामी चाँहि प्रतिबन्धको नाममा गाँजाको अवैध व्यापारलाई चालिस वर्षदेखि संरक्षण गर्दै आइरहेका छौं । गाँजा नष्ट गर्नु प्रहरी र प्रशासनका मुखियाको पदबहाली र सरुवाताकाको सौदाबाजी र मोलमोलाईको हतियार मात्र बनाइरहेका छौं । त्यसैले विरोध खतिवडाहरुको भनाई सत्य छ ।

हामी जंगबहादुरको अफिमको लत र कोतपर्वको उदाहरण दिएरै रमाइरहने ? पतञ्जलीको नाममा सरकारले रामदेवलाई जग्गा दान दिने, पतञ्जली भारतवर्षमा गाँजाको खेती गर्ने अनि हामी चाँहि लागूपदार्थ भन्दै गाँजा छोपिरहने ? गाँजा फुकुवा गर्दै गइरहेका क्यानडा, अस्ट्रेलिया, इटली, इजरेल, नेदरल्याण्ड, पोल्याण्ड, अमेरिका, नर्वे, पोल्याण्ड चाँहि अज्ञानी हुने, नेपाली मात्र ज्ञानी भएर गाँजा लुकाउँदै छोप्दै बस्नपर्ने ?

त्यसैले संसद्मा विरोध खतिवडालगायतका नेताको अगुवाईमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावको सकारात्मक सुनुवाई आवश्यक छ । गाँजालाई अपराध र घृणाको वस्तु होइन औषधीय वनस्पतिको रुपमा स्वीकार गरौं । केशव स्थापितको शैलीमा वायुपंखी घोडा चढेर गाँजाले कायापलट गर्छ नभनौं, तर नियामक निकायको निगरानीमा माउन्टेन मारिवाना फर मेडिसिनसम्म चाँहि सोचौं । हेम्पसम्म पनि सोचौं । चिलिम र सर्कोबाट माथि उठेर सोचे गाँजा पनि त नगदे बाली हो भन्ने मोरक्को (वार्षिक २ हजार टन) ले देखाइसकेको छैन र ?
जय शम्भो !

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री