भीमेश्वरलाई पसिना, संचारमन्त्रीको राजीनामा !

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विहीबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा सो जानकारी दिएका हुन ।

प्रतिनिधिसभाको विहीबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिशन माग गरेको अडियो संवाद सार्वजनिक भएको भन्दै तत्काल उनलाई बर्खास्त गर्न माग गरेपछि सभामुख सापकोटाले सो जानकारी दिएका हुन ।

प्रतिनिधिसभाको विहीबारको बैठकको शुरुमै काँग्रेसका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले उनको राजीनामा आइसकेको आफूलाई अनौपचारिक जानकारी प्राप्त भएको बताए ।

सभामुख सापकोटाले शहरी विकासमन्त्रीसमेत रहनुभएका बाँस्कोटाको राजीनामा आइसकेको जानकारी गराउँदै बैठक सञ्चालन गर्न आग्रह गरे पनि काँग्रेसका सांसद आसनबाट उभिइरहेपछि बैठक आजका लागि स्थगन गरिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १३ गते अपराह्न १ः०० बजे बस्नेछ ।

विहीबारको दिन अर्को अनौठो संयोग पनि पर्‍यो । दोलखाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा पसिना आएको छ । विहीबार बिहान ६ः४५ बजेबाट मन्दिरको शिलामा पसिना आएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताए । उनका अनुसार बिहान ६ः४५ बजे शिलामा पसिना आएको र ८ः२५ बजे रोकिएको थियो ।

मन्दिरको शिलामा दायाँ तथा बायाँतर्फ पसिना आएको स्थानीय शान्तकृष्ण श्रेष्ठले बताए । दोलखामा पसिना आएमा अनिष्ट हुन्छ भन्ने परम्परा रहेको उनको भनाइ छ । भीमसेनलाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन छ । क्षमापूजाका लागि पसिना आएको कपास काठमाडौँ राष्ट्रपति कार्यालय पठाउने लागेको उनले बताए ।

सकारात्मक वा नकारात्मक परिवर्तन, अनिष्टका घटनाको पूर्वसूचकको रूपमा लिइने भीमेश्वरमा पसिना आउँदा भक्तजन भेला भएर घण्टी बजाउने, धुपबत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिले पङ्खाले हम्कने गर्छन् । संचारमन्त्रीको राजीनामा र भीमेश्वर मन्दिरमा आएको पसिना प्रसंगलाई लिएर सामाजिक संजालमा व्यापक चर्चा भइरहेको छ ।

टिप्पणी थप्नुहोस्