मुहार फेर्‍यो सम्मरीमाईले, खुशी भए गाउँले

-राधेश्याम विश्वकर्मा

भैरहवा । यसअघि हिलो मात्र हुने डिहुली गाउँको अहिले मुहार नै फेरिएको छ । गाउँमा रहेको प्रायः सबै घरमा पुग्नेगरी अहिले बाटो पुगेको छ । धेरैजसो कच्ची घर रहेको डिहुलीमा बाटो पीसीसी भएपछि स्थानीय मात्र हैन गाउँपालिका अध्यक्ष पनि उत्तिकै हर्षित छन् ।

डिहुलीमा बाटो नबनेको भने होइन । तर कहिले एक लाख कहिले दुइ लाखले मर्मत मात्र हुने डिहुलीको बाटो अहिले पुरै पीसीसी भएको छ । सम्मरीमाई गाउँपालिका–६ को डिहुली मात्र होइन यस वडामा रहेको अन्य करिब एक दर्जन गाउँहरुमा अहिले यस्तै विकासे कामले तिव्रता लिएको छ । गाउँपालिकाले नमूनाको रुपमा वडा नम्बर ६ लाई लिएपछि अहिले यहाँ विकास निर्माण कार्यले तिव्रता पाएको हो ।

वडा मात्र होइन मर्चवार क्षेत्रमा भइरहेको विकासमा सम्मरीमाई गाउँपालिका अब्बल हुदै गई रहेको छ । बिशेषगरी खुद्रे विकास गर्नु भन्दा पनि देखिने गरी विकास कार्यलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।

गाउँपालिकामा रहेका सातवटै वडामध्ये पालैपालो प्रत्येक वडाको विकासको लागी रकम बिनियोजना गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)ले बताए । उनले यस बर्षको लागि वडा नम्बर ६ लाई प्राथमिकतामा राखी काम भैरहेको बताए । उनले वडा नम्बर ६ को प्रत्येक गाउँलाई अर्को बर्ष बजेट नै नचाहिने गरी काम गरी रहेको बताए ।

यसअघि खुद्रा रुपमा बजेट बिनियोजन भई रहेको र त्यसबाट हुने विकास नदेखिने भएकोले अहिले देखिनेगरी ठूलै बजेट हालेर विकासको काम अगाडी बढाएको बताए । गाउँको आवश्यकता अनुसार बजेट छुट्टयाईउको शुक्लले बताए । गाउँपालिका वडा नम्बर ६ मा रहेको डिहुली गाउँमा २५ लाखको बजेटमा ३ सय ७७ मिटर बाटो पीसीसी गरिएको छ । सोही सडकको उदघाटन गर्दै शुक्लले अब खुदे्र विकास भन्दा देखिनेगरी विकास गरिने बताए ।

सडक पहुचको रुपमा कमजोर रहेको सम्मरीमाईमा यो बर्ष सडक निर्माणलाई नै प्राथमिकतामा राखिएको उनले बताए । वडा नम्बर ६ को डिहुली, पोखरहवा, नगवलिया, तुर्कवलिया, परसहवा, शिवपुरदुमवा, घरबरिया, मन्झरिया, रुदलापुर, निबिहवा लगायतको सबै गाउँमा आवश्यकता अनुसारको बजेट बिनियोजन गरिएको उनले बताए ।

समग्रमा वडा नम्बर ६ मा मात्रै आठ करोड बढी बजेटले विकासको कामलाई तिव्रता दिइएको उनले जानकारी दिए । आफ्नो कार्यकालमा अहिलेसम्म गाउँपालिका भरीमा करिब १० किलोमिटर कालोपत्रे सडक, २० किलोमिटर पीसीसी सडक, सोही अनुपातमा ग्रावेल र नयाँ कृषि सडकहरु निर्माण गरिएको शुक्लले बताए ।

डिहुलीको सडक निर्माण भएपछि अहिले स्थानियहरु पुरानो नेताहरुले आफुले नहेरेपनि स्थानिय सरकारको नजर गाउँमा पुगेको भन्दै हर्षित छन् । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका स्थानिय श्यामदेव यादवले धेरै संसद र मन्त्री यसै क्षेत्रबाट जितेर बनेपनि अहिलेसम्म फर्केर नहेरेको गुनासो गरे ।

टिप्पणी थप्नुहोस्