सुनको भाउमा अर्को कीर्तिमान: ‘कोरोना भाइरस’ मुख्य कारण

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बन्नेक्रम शुक्रबार जारी छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलाको ७८ हजार १०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसदिन सुनको मूल्य तोलामा ५०० ले बढेर तोलाको ७८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ७७ हजार ६०० रुपैयाँ थियो । यही फागुन ६ गतेयता नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बनिरहेको हो ।

शुक्रबार स्थानीय बजारमा तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँले बढेर तोलाको ७७ हजार ८०० कायम भएको छ ।

यसदिन चाँदीको मूल्य भने तोलाको ९१५ रुपैयाँमै स्थीर रहेको जनाइएको छ ।

सुनको मूल्य निरन्तर बढ्नुमा ‘कोरोना भाइरस’ नै मुख्य कारण रहेको बताइन्छ ।

चीनबाट फैलिएको कोरोना अर्थात् ‘कोभिड–१९’ को असर अन्तर्राष्ट्रिय सुनबजारमा समेत परेको विज्ञको भनाइ छ ।

कोरोना भाइरसका कारण चीनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । आर्थिक क्षेत्र सुस्ताएको छ ।

चिनियाँ क्षेत्रमा आर्थिक कारोबार घटेसँगै सुनमा लगानीकर्ताको आकर्षण बढेको छ ।

सोही कारण सुनको मूल्य निरन्तर उकालो लागेको विज्ञको ठहर छ ।

टिप्पणी थप्नुहोस्