कम्युनिष्टहरुले आफैंले आफैंलाई सिध्याउने रहेछन्

भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले कम्युनिस्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउनुपर्ने बताएका छन् । उनले शासन सत्ता हातमा आएपछि आदर्शबाट विचलित भई बिग्रने गरेको विश्व इतिहासको संकेत नेपालमा पनि देखिन थालेको बताए ।

‘कम्युनिस्ट पार्टीको नेतृत्व नै आफ्ना आदर्शबाट च्यूत भइ आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना, बन्दुक केही पनि चाहिँदो रहेनछ’–उनले भने–‘आफैंले आफैंलाई सिध्याउने रहेछन् ।’ शुक्रबार बिहान भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कम्युनिस्टहरु क्रान्तिमा हुँदा त्याग गर्नसक्ने, तपस्या गर्नसक्ने, जनता जहाँ बस्छन्, त्यहाँ बस्नसक्ने, जनताले जे खान्छन्, त्यही खानसक्ने तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचलित हुने गरेको उनले बताए । उनले कम्युनिस्ट आदर्शको राजनीतिलाई फेरि एकपटक स्थापित गर्नुपर्ने धारणा राखे ।

‘हिजो मृत्युलाई सामना गरेर, जेलनेल, यातना र भयलाई समेत वास्ता नगरेर जनताको मन जित्ने तर शासन हातमा आएपछि अर्कै–अर्कै । यो सबैभन्दा बढी २०औं शताब्दीमा देखिएको थियो । कम्युनिस्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि शासनबाट बाहिरिन त्यहाँ पुँजीपति चाहिन्न । बन्दुक पनि चाहिन्न’–अध्यक्ष दाहालले भने–‘आफैंले आफैंलाई सिध्याउने रहेछन् ।’

नेकपाका संस्थापक एवं मध्यपुरथिमिका बासिन्दा नारायणविलास जोशीका स्मृतिमा मध्यपुरथिमि शङ्खधर चोकस्थित जनआदर्श क्याम्पस परिसरमा निर्माण हुन लागेको नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवनको शिलान्यास गर्दै उनले नेपालका कम्युनिष्टहरुको ब्यवहारप्रति यस्तो संकेत गरेका हुन ।

जनतालाई सामान्य राजनीतिमा लाग्ने छुटसमेत नभएको राणादेखि सामन्ती वर्गविरुद्ध लड्दै पुष्पलालसँग नेकपा स्थापनामा संघर्ष गरेका जोशीको स्मृतिमा भवन निर्माण हुनु गर्भिलो विषय भएको उनले बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री