प्रधानमन्त्री ओलीले पनि राजीनामा दिनुपर्छ:  डा. कोइराला

-सिराज खान
नेपालगन्ज । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सेक्युरिटी प्रिन्ट्रिङ प्रेस खरिद काण्डमा मुछिएका सरकारका सबै उच्च ओहोदाका व्यक्तिहरूले राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले सूचना,सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा अहिले देखिएका पहिलो व्यक्ति भएकोले यसमा संलग्न सरकारका अन्य उच्च ओहोदाका व्यक्तिहरूले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।

शनिबार नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले सो काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नताको समेत कुरा उठेकोले नैतिकताको आधारमा उनले पनि राजिनामा दिनुपर्ने बताए ।

उनले सो काण्डको निष्पक्ष छानविन गरेर त्यसमा देखिएका सबै दोषिहरु विरुद्ध कारवाही हुनुपर्ने काँग्रेसको माग रहेको बताए । सरकारले भ्रष्टाचारका विभिन्न घट्नामा हस्तक्षेप गरेको पाइएको हुँदा सरकारका ठुला मन्त्रीको घट्नामा हस्तक्षेप नहोला भन्न नसकिने उनको भनाई थियो । अनुसन्धानलाई निष्पक्ष बनाउनुपर्छ, काँग्रेसका केन्द्रीय सदस्य कोइरालाले भने, ‘जसरी ललिता निवास जग्गा प्रकरणमा सरकारको हस्तक्षेप देखियो, त्यस्तो हुन भएन ।’

नीतिगत कुरा भन्दै पूर्वप्रधानमन्त्रीलाई छुट दिने, कसैले जग्गा फिर्ता गर्छ भन्दैमा उसलाई छुट दिने कुरामा अख्तियार र सरकारबीच मिलोमतो देखियो त्यो हुन भएन भन्दै उनले अख्तियारको दोहोरो मापदण्ड नेपाली काँग्रेसलाई स्वीकार्य नहुने बताए ।

अर्को प्रसङमा उनले अहिले सरकारकै कारण देश गम्भीर स्थितिमा गइरहेको बताउँदै यति धेरै बहुमत पाएको सरकारले केही पनि गर्न नसकेर असफल भएको जनाए ।

वर्तमान सरकारले नियन्त्रित प्रजातन्त्र र नियन्त्रित लोकतन्त्रको दिशामा देशलाई अघि बढाइरहेको जनाउँदै उनले सर्वसत्तावादबाट अधिनायकवादतर्फ लैजाने षडयन्त्र गरिरहेको बताए ।

आफ्ना कमीकमजोरीलाई लुकाउन प्रेस र सामाजिक संजालमाथि नै अंकुश लगाउने षडयन्त्र सरकारले गरिरहेको उल्लेख गर्दै नेता कोइरालाले काँग्रेस सधैं लोकतन्त्र, प्रजातन्त्र र स्वतन्त्र प्रेसको पक्षमा रहेको प्रष्ट पारे ।

पछिल्लो घट्नाक्रमले देशमा सरकारनै नभएको अनूभूति नेपाली जनतालाई हुन थालेको जनाउँदै उनले देश संकटतर्फ बढीरहेको बताए ।

एक फरक प्रंसगमा नेता कोइरालाले काँग्रेसको भूमिका पनि बलियो प्रतिपक्षीको हुननसकेको जनाउँदै शुरुमा त निकै कमजोर भूमिका रहेकोमा हाल आएर अलि सुधार भएको बताए ।

उनले नेपाली काँग्रेसले अझै शसक्त भूमिका खेल्नु पर्ने बेला आएको जनाउँदै पार्टीका धेरै निर्णयहरु बारे प्रश्नहरु खडा भएको बताए ।

नेपालका राजनितिक दलहरुको कमीकमजोरी र गल्तीहरुले गर्दा राजा फर्कने भन्ने कुरामा कुनै पनि सत्यता नरहेको प्रष्ट पार्दै नेता कोइरालाले राजा र राजतन्त्र अब कुनै कालखण्डको कुरा भैसकोले राजा फर्कने भन्ने कुरा असंभव भएको बताए ।

काँग्रेसको आगामी महाधिवेसनमा पार्टी सभापतिको दौडमा रहेका कोइरालाले बाँके पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई समेत सम्बोधन गरेका थिए ।

कोइरालासंगै काँग्रेसका केन्द्रिय सदस्यहरु डा. चन्द्र भण्डारी, दिपक गिरी र पूर्वमन्त्री सन्जय गौतम समेत बाँके बर्दियाको भ्रमणमा रहेका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री