ओलीको मिर्गौला प्रत्यारोपण गर्न नेपाल र भारतका डाक्टर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्रा. डा.प्रेम ज्ञवालीको टोलीले गर्ने भएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि सोमबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्रीको उपचारमा डा. ज्ञवालीसँगै प्रधानमन्त्रीका निजी चिकित्सक मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह, डा. सुवास आचार्य र नर्सिङतर्फ पुनम सिंह रहने अस्पताल स्रोतले जनाएको छ ।

यस्तै, प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि भारतको अपोलो अस्पतालका डा.अनन्त कुमार र उनीसँगै थप एकजना चिकित्सक पनि प्रधानमन्त्रीको उपचार टोलीमा सहभागी हुने बताइएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक कलेजोरोग विशेषज्ञ डा. दिलिप शर्मा, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला पनि उपचारमा संलग्न हुनेछन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई सुख, सुस्वास्थ्य र दीर्घजीवनका निम्ति पशुपतिनाथको निरन्तर कृपा रहिरहने कामना पनि प्रधानमन्त्री मोदीले सोमबार ट्वीटमार्फत गरेका छन् ।

भारत र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन प्रधानमन्त्री ओलीको निरन्तर योगदानको आशा उनले गरेका छन् । प्रधानमन्त्री ओलीले पनि प्रत्युत्तरमा ट्वीट गर्दै आफ्ना भारतीय समकक्षीप्रति आभार प्रकट गरेका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री