कोरोनाको कारण लगानी सम्मेलन स्थगित

-राधेश्याम विश्वकर्मा
रुपन्देही । नेपाल भ्रमण बर्ष–२०२० स्थगित भएको भोलिपल्ट प्रदेश ५ सरकारले प्रदेशमा हुने मेला महोत्सवहरु स्थगित गर्ने निर्णय गरेको छ ।

चीनबाट सुरु भएको नोवेल कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा परेपछि प्रदेश ५ सरकारले आगामी बैशाख ४ र ५ गते गर्न लागेको लगानी सम्मेलन स्थगित गरेको जनाएको छ ।

सोमबार बसेको प्रदेश मन्त्रपरिषद्को बैठकले लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले पत्रकार सम्मेलन गरि जानकारी दिए ।

लगानी सम्मेलनमा विदेशी लगानीकर्ताहरु समेत सहभागिता रहने र हाल छिमेकी मुलुक चीन लगायतका देशमा कोरोना भाइरसको संक्रमण फैलदै गरेका कारण सम्मेलन स्थगित गर्नुपरेको चौधरीले जानकारी दिए ।

बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै प्रदेशका १२ वटै जिल्लामा हुने खालका मेला महोत्सव नगर्न नगराउन समेत निर्देशन दिने निर्णय गरेको छ । मेला, महोत्सवसँगै धेरैजना भेला हुने कार्यक्रममा समेत प्रमुख जिल्ला अधिकारी मार्फत रोक लगाउने निर्णय गरेको हो ।

प्रदेश सरकारले संघीय सरकारको निर्णयसँगै सोमबार नै सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी मेला रोक्न र नगर्न निर्देशन गर्ने जनाएको छ । त्यसैगरी प्रदेश सडक निर्माण,मर्मत सम्भार तथा बिस्तार सम्बन्धान व्यवस्था गर्न बनेको बिधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिनुका साथै बैठकले प्रादेशिक साहित्य कला प्रतिष्ठान सम्बन्धमा बन्ने विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रवक्ता चौधरीले बताए ।

बैठकले साझेदारी नियमावली २०७६ स्वीकृत गरेको छ भने प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना र सञ्चालन सम्बन्धमा बन्ने विधेयकको अवधारणा पत्रमा सैद्धान्तिक सहमति दिने निर्णय समेत गरेको छ ।

टिप्पणी थप्नुहोस्