‘काँग्रेस नसुध्रिए त्यसको परिणाम देशले भोग्नुपर्छ’

-सिराज खान
नेपालगन्ज । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले काँग्रेस नसुध्रिने हो भने त्यसको नराम्रो परिणाम देश र पार्टी दुबैले भोग्नुपर्ने बताएका छन् ।

उनले वडादेखि केन्द्रसम्मको जिम्मेवारीमा बसेका कांग्रेस नेताहरुले आफूमा सुधार ल्याउनुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने अमिलियामा कांग्रेस नेता स्वर्गिय खुमबहादुर खड्काको शालिक शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब पनि पार्टी नसुध्रिने हो भने कहिलै नसुध्रिने बताए ।

कांग्रेस पार्टीप्रति जनताको कुनै गुनासो नभएको जिकिर गर्दै महामन्त्री खड्काले भने, ‘नेपाली जनताको एउटै मात्र गुनासो छ, कांग्रेसको वडादेखि केन्द्रसम्म समग्र जिम्मेवारीमा बसेका नेताको व्यवहार, जीवनशैली, आचरणमाथि गुनासो छ, त्यसमा अब सुधार ल्याउनुपर्छ ।’

२००७ सालयता भएका हरेक परिवर्तनमा नेपाली कांग्रेसलाई जनताले साथ दिएको र नेपाली कांग्रेसले पनि जनताको अधिकार र मुक्तिका लागि नेतृत्व गरेको स्मरण गराए ।

खड्काले थपे, ‘जनताको साथ नेपाली कांग्रेसलाई छ, तर हामी अब सुध्रिने कि नसुध्रिने ?’ स्वर्गिय नेता खड्का संघर्ष गर्न र संघर्षबाट परिणाम पनि ल्याउन जानेको नेता रहेको स्मरण गरे ।

नेपाली कांग्रेसको धार्मिक स्वतन्त्रताप्रतिको प्रतिवद्धतामा कहिल्यै विचलित नभएका स्वर्गिय खड्का विकासका अभियन्ता, सबैले श्रद्धा र भरोसा गर्ने प्रेरणाको स्रोत भएको महामन्त्री खड्काले चित्रण गरे । स्वर्गिय खड्काले अंगालेको बाटोलाई पछ्याउन सकेमात्र सच्चा श्रद्धाञ्जली हुने उनको भनाई छ ।

सो क्रममा कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरी, केन्द्रीय सदस्य डा. डिला संग्रौला, कांग्रेस दाङका सभापति कृतिबहादुर खड्का, स्वर्गिय नेता खड्काका पुत्र अनुराग खड्का लगायतले सम्बोधन गरेका थिए ।

स्वर्गीय नेता खड्काको शालिक निर्माणका लागि सोही कार्यक्रममा नेता, कार्यकर्ताले करिव १० लाख बढी रकम सहयोग गर्ने घोषणा गरेका थिए । शालिक निर्माणका लागि एक समिति निर्माण गरिएको छ ।

टिप्पणी थप्नुहोस्