सिद्धार्थनगरलाई फोहोर ब्यवस्थापनमा चुनौती

-राधेश्याम विश्वकर्मा

भैरहवा । सिद्धार्थनगर नगरपालिकाले दिगो फोहोर ब्यवस्थापनमा ध्यान नदिंदा नगर नै कुरुप हुने डर बढेको छ । दैनिक निस्कने करिब ३० देखि ४० टन फोहोर ब्यवस्थापन गर्न अहिले नगरपालिकासित कुनै स्थायी डम्पिङ साइट छैन ।

नेपाल भारतको सीमा झण्डी बजार नजिक अस्थायी रुपमा फालिंदै आएको फोहोरले अहिले त्यस क्षेत्रका स्थानीय मात्र हैनन्, पक्लिहवा कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी, शिक्षकका, सीमा सुरक्षा बलका सुरक्षकर्मीका साथै भारतीय सीमा क्षेत्रमा बासिन्दा समेत नराम्ररी प्रभावित भएका छन् ।

फोहर व्यवस्थापनबारे सिद्धार्थनगर नगरपालिकाले प्रभावकारी काम गर्न नसकेपछि दैनिक रुपमा बढ्दै गइरहेको नेपाल भारतको सीमा दशगजा नजिकैको फोहोरले एकातर्फ नदीको जैविकता पनि गुम्दै गएको भने अर्कोतर्फ स्थानियको स्वास्थ्यमा पनि समस्या पारेको छ ।

स्थानीय सरकार आएसंगै बाटोघाटो तथा विकास निर्माणका कार्यमा जोड दिएपनि नगरपालिकामा उचित फोहर व्यवस्थानको विकल्प खोज्न नसक्दा डण्डा खोला किनारमै वर्षौंदेखि फोहर फाल्ने गरिएको छ ।

स्थानिय बासिन्दा समेत रहेका सिद्धार्थनगर नगरपालिका–२ का वडा अध्यक्ष दिपक थापाले फोहोरले अप्ठयारो पारेको बताए । स्थानिय बासिन्दा भन्दा पनि बढी फोहोरले पक्लिहवा कृषि क्याम्सका विद्यार्थी, शिक्षक र शसस्त्र प्रहरीको २७ नम्बर गणलाई पारेको छ । यी दुईटै संस्था नगरपालिकाले फोहोर फाल्ने डम्पिङ्ग साईटसित सटेर रहेका छन् ।

हालको डम्पिङ साइडले तीनसय कर्मचारी र आठसय विद्यार्थी अध्ययनरत रहेको त्रिभुवन विश्वविद्यालयको अांगिक क्याम्पस कृषि क्याम्पसलाई असर पुर्‍याएको उप प्रध्यापक रुकमाङगत पाठकले बताए । उनले गर्मी बढ्दै जाँदा तापक्रम बढ्ने हँुदा झन दुर्गान्धित बनाउँछ, क्याम्पस क्षेत्रको वातावरणलाईनै असर पुर्याउदै आएकाले डम्पिङ साइड व्यवस्थापन वा स्थानान्तरण गर्न जरुरी छ र सार्र्नका लागि माग पनि गरिरहेको बताए ।

नगरपालिकामा दैनिक उत्पादन हुने ३० देखि ४० टन फोहोर नियमित रुपमा संकलित गर्ने र डण्डा खोला किनारमा डम्पिङ गर्ने गरिएको छ ।

फोहोर ब्यवस्थापनको लागि हालको डण्डा नदी बाहेक अन्त कतै विकल्प नरहेको नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले बताए । उनले जग्गाका उचित ब्यवस्थापन नभएसम्म अहिलेलाई सोही स्थानमा फोहोर फालिने बताए । दिगो फोहोर ब्यवस्थापनको लागि संघ र प्रदेश सरकारले मिलेर रुपन्देहीको सबै पालिकाहरुको फोहोर ब्यवस्थापन एकै स्थानमा गर्न पनि सुझाव दिए ।

नगरपालिकाले व्यवस्थित रुपमा फोहोरको व्यवस्थापन गर्न नसक्दा दुर्गान्धित फोहोरले स्थानियमा फोक्सो आँखा र छाला सम्बन्धी रोगको समस्या ल्याउनुका साथै डण्डा नदी किनार कुरुप बन्दै गएको छ । चिटिक्क परेकोे भैरहवामा दिनानुदिन फोहोर बढ्दै जादा सौन्दर्यताका साथै स्वास्थ्यमा समेत असर गर्ने छ । दिगो पर्यटन विकासको लागी लुम्बिनीका प्रवेशद्धारको रुपमा रहेको यस नगरको दिगो सरसफाईको योजना बनाउनु अपरिहार्य छ ।

यस अघि एशियाली बिकास बैंकको करिब ३२ करोडको लगानीमा ओमसतिया गाउँपालिकामा फोहोरमैला प्रशोधन केन्द्र बनाउने योजना रहे पनि स्थानीयलाई बुझाउन नसक्दा सो योजना फेल भएको थियो ।

टिप्पणी थप्नुहोस्