राष्ट्रियसभाका १८ सदस्यले लिए शपथ

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा बुधबार आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराए ।

शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का दुई सदस्य छन् ।

शपथ लिनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे र वेदुराम भुसाल छन् ।

नवनिर्वाचित सदस्य भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आजै शपथ लिएका छन् ।

समारोहमा अध्यक्ष तिमिल्सिनाले नयाँ सदस्यलाई सांसदको लोगो लगाइदिनुका साथै बधाई दिएका छन् । सो अवसरमा सङ्घीय संसद् सचिवालयले उनीहरुलाई संविधान र कानूनसहितको झोला उपलब्ध गराएको थियो ।

राष्ट्रियसभा सदस्यका लागि गत माघ ९ गते भएको निर्वाचनबाट सात महिला, दुई दलित, दुई अपाङ्गता भएका वा अल्पसङ्ख्यक र सात अन्य समूहबाट निर्वाचित भएका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक सदस्यको भने मनोनीत गर्न बाँकी नै रहेको छ । पहिलो पटक गोलाप्रथाद्वारा दुई वर्षे कार्यकाल प्राप्त गर्नुभएका १८ सदस्यको मङ्गलबार बिदाइ गरिएको थियो ।

 

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री