सीमा नाकामा कोरोनाको त्रास

-राधेश्याम विश्वकर्मा

भैरहवा । पर्यटकीय हिसाबले रुपन्देही महत्वपूर्ण जिल्ला हो । बिभिन्न देशका स्थलमार्ग भएर आउने सबैभन्दा बढी पर्यटक यही नाकाबाट भित्रिने गरेका छन् । यस्तै विश्व आस्थाको केन्द्र गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि यसै जिल्लामा रहेको छ । यसले गर्दा रुपन्देहीमा पर्यटकहरुको आवागमन बढी हुने गर्छ ।

चीनबाट फैलिएको कोरोनाका त्रासमा अहिले पुरै संसार रहेको छ । यसबाट जोगिनलाई पुरै विश्व सकेसम्मका प्रयास गरिहेका छन् । तर नेपालमै बढी पर्यटक आगमन हुने रुपन्देही जिल्लामा भने यसको प्रभावकारी ब्यवस्थापन हुन सकेको छैन ।

कोरोनाकै त्रासलाई प्रदेश ५ को सरकारले आफ्नो महत्वपूर्ण कार्यक्रमहरु स्थगित गरेको छ भने बढी भीड हुने कार्यक्रमहरु समेत नगर्न आग्रह गरेको छ । प्रदेश ५ कै निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले यस्ता कार्यक्रम नगर्न आव्हान गर्नुको साथै यस सम्बन्धी जनचेतना फैलाउने काम गरिरहेको दावी गरेको छ ।

कोरोनको पहिचानको लागि भन्दै सीमा नाका बेलहियामा हेल्थ डेस्क त राखिएको छ, तर यसको चेकजाँचमा पनि फितलो ब्यवस्थापन छ । पर्यटक सूचना केन्द्रको सानो प्रतिक्षालयमा कोरोनाकै बिभिन्न फ्लेक्सहरुले घेरेर कामचलाउ रुपमा यो संचालन हुँदैछ । पर्यटकहरु नेपाल भित्रिदा हेल्थ डेस्क हुँदै अध्यागमनमा प्रवेशाज्ञा लिनुपर्नेमा सिधै अध्यागमन कार्यालयमै पुग्ने गरेका छन् । यसले अध्यागमनका कर्मचारीहरुको जोखिम पनि बढाएको छ । ‘हामी त भगवान भरोसा छौं’ अध्यागमनका कर्मचारीको भनाई छ ।

मार्च १० तारिखदेखि यस नाकाबाट पनि चीनलगायत यसको स्वशासित क्षेत्र, जापान, ईरान, ईटली र दक्षिण कोरियालाई अनअराईभल भिसा नदिने भएको छ । अध्यागमन कार्यालय भैरहवाका प्रमुख गिरीराज खनालले अहिले कोरोनाको सन्त्रासमा पर्यटक रहेको बताए । उनले पर्यटकहरुलाई कहाँ जाने, कता जाने अन्योल देखिएको बताए ।

बेलहियामा रहेको हेल्थ डेस्कमा चेकजाँचको क्रममा कोही शंकास्पद देखिए उनीहरुलाई भैरहवाको भिम अस्पताल तथा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा थप चेकजाँचको लागि पठाउने ब्यवस्था छ । यसका साथै जिल्लाका अन्य अस्पतालमा पनि यो ब्यवस्था गरिए पनि अहिले सम्म त्यस्तो कोही पनि बिरामी चेकजाँचको लागि नआएको अस्पतालको भनाई छ ।

भिम अस्पताल भैरहवाका मेडिकल सुपरिडेन्टेन डाक्टर नविन दर्नालले भिम अस्पतालमा पनि दुई शैया सहितको आईसोलेसन कक्षको ब्यवस्था गरिएको बताए । यता कोरोनाको लागी गर्नु पर्ने सबै पूर्वतयारीहरु गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीको दावी छ । सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले माघ १५ गते नै बैठक बसी बेलहिया नाका र गौतम बुद्ध बिमानस्थलमा हेल्थडेस्क स्थापना गर्ने निर्णय भएको बताए ।

तर सहायक प्रमुख जिल्ला अधिकारीले गौतम बुद्ध बिमानस्थलमा हेल्थडेस्क स्थापना गर्ने निर्णय गरेको जनाए पनि निर्णय भएको एक महिनापछि पनि बिमानस्थलमा डेस्क स्थापना गरिएको छ्रन । यसले बिभिन्न मुलुकका कोरोना संक्रमित पर्यटकहरु नेपाल भित्रिने आशंका उत्तिकै रहेको सरोकारवालाको चिन्ता रहेको छ ।

टिप्पणी थप्नुहोस्