प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधी पुलिसलाई

नेपालगन्ज । छैटौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । बुधवार उपाधीका लागि भएको अन्तिम भिडन्तमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो ।

नेपालगन्जस्थित कभर्डहलमा भएको फाइनल खेलमा पुलिसले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै सो अन्तराष्ट्रिय उपाधी जितेको हो । पुलिसले एपिएफकी मुख्य स्पाइकर सरस्वती चौधरी नहुदाको फाइदा उठाउन सफल भयो । सरस्वती इन्ज्युरीका कारण नेपालगन्ज आउन सकिनन् ।

पुलिसले एपिएफसँगको लगातार हारको श्रृंखला तोड्दै लामो समयपछि जित निकालेको हो । पछिल्लो एक महिनामा तीन भेटमा एपिएफ नै विजयी भएको थियो ।

एपिएफले काठमाडौंमा भएको ढोरपाटन डबल लिगमा दुवै पटक पुलिसलाई हराएर उपाधि जितेको थियो । यस्तै यसै साता पर्वतमा सम्पन्न भएको दिदी बहिनी कपमा पनि एपिएफले पुलिसलाई हराएर उपाधि जितेको थियो ।

पुलिसको यो सिजनको दोस्रो उपाधि हो । यसअघि पुलिसले पोखरामा सम्पन्न भएको महिला भलिबलको उपाधि जितेको थियो । एपिएफ सिजनको आठौं उपाधि जित्नबाट वञ्चित रह्यो । यस्तै एपिएफ पछिल्लो एक वर्षपछि उपाधि जित्न असमर्थ बन्यो ।

एपिएफ र पुलिसबीचको अन्तिम खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएपनि पुलिसले आक्रामक खेल खेल्दै सहज रुपमा सोझो सेटमा हरायो । सुरुवात देखि नै एपिएफविरुद्ध अग्रता लिएको पुलिसले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो सेटमा सुरुवातमा पछि परेपनि पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई २५/१७ ले आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेटमा पनि पुलिसले पछि परेको अवस्था उल्ट्याउदै २५/१८ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।
सो खेलको तेस्रो सेटको खेल भईरहँदा एपिएफकी कप्तान विनिता बुढाथोकी घाइते हुन पुगेकी थिइन् ।

उपाधिसँगै पुलिसले २ लाख रुपैया हात र्पायो । दोस्रो भएको एपिएफलले १ लाख रुपैया रुपैयमा चित्त बुझायो । बुधबारै त्रिभुवन आर्मी क्लबले होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो । आर्मीले ५० हजार रुपैया प्राप्त गर्यो ।

नेपाल पुलिस क्लबकी उषा भण्डारी छैटौ संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै उषाले १० हजार रुपैया र ट्रफी हात पारेकी छिन् । यस्तै व्यक्तिगत विधातर्फ एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर चुनिइन् ।

पुलिसकी मनिषा चौधरी सर्भर र पुलिसकी कमला पुन उत्कृष्ट सेटर चुनिइन् । आर्मीकी संगम महतो उत्कृष्ट ब्लकर घोषित भइन् । होङ्ग्वान्जी न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो चुनिदा पुलिसका रुपेश विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान ५–५ हजार रुपैया हात पारे ।

बाँके जिल्ला भलिबल संघद्धारा गत आइतबारबाट शुरु भएको प्रतियोगितामा घरेलु भलिबलका चार चर्चित टोलीसँगै आयोजकको एक टोली गरी ५ टोलीको सहभागिता रहेको थियो ।

टिप्पणी थप्नुहोस्