भारतबाट कोरोना भित्रिन नदिन उच्च सतर्कता

नेपालगन्ज । भारतका विभिन्न सहरमा २९ जना रोगीमा कोरोना भेटिएपछि यहाँस्थित नेपाल–भारत नाकाबाट नेपालमा भित्रिन सक्ने डरले बाँकेमा उच्च सतर्कता अपनाइएको छ ।

सो क्रममा नेपाल-भारत नाकाको जमुनाहामा कारोना भाइरस सर्विलेन्स एवं परामर्श केन्द्र सञ्चालन गरेर भारतबाट नेपाल पस्नेहरुमाथि निगरानी कडा पारएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगन्जको जमुनाह नाकामा कोरोना भाइरस भित्रन नदिनका लागि हेल्थ डेस्क र भाइरस सर्विलेन्स एवं परामर्श केन्द्र सञ्चालन गरिएको उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरि प्याकुरेलले बताए ।

उनका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले भारतबाट स्थलमार्ग हुँदै नेपालगन्ज भित्रने यात्रुहरुलाई कोरोना भाइरस भए नभएको पत्ता लगाउन सीमा नाका जमुनाहमा सतर्कता अपनाउदै चेक जाँच तिव्र पारेको छ । विशेषगरी भारतबाट नेपाल भित्रिरहेका मध्ये ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षणलाई अनिवार्य गरिएको उनले बताए । त्यसका लागि सीमानामा चेकजाँचमा खटिएको शसस्त्र प्रहरीको पनि सहयोग लिइएकोले स्वास्थ्य परिक्षण सहज भएको प्याकुरेलले बताए ।

सुरुवाती अवस्थामा परीक्षण सामग्रीको व्यवस्था गरी दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । नेपालगन्ज प्रवेश गर्नेमध्ये बिरामी परेका र शंका लागेको व्यक्तिको सीमा नाकामा स्वास्थ्य जाँच गरिने कार्य भैरहेको जनाउँदै अहिले नेपाल भित्रिने मध्ये दैनिक हजार जना जतिको परिक्षण भैरहेको नेपालगन्ज उपमहानगर स्वास्थ्य शाखाका प्रमुख राम बहादुर चन्दले बताए ।

सबैको स्वास्थ्य परीक्षण गर्ने हो भने अहिलेको पूर्वाधार र जनशक्ति कम हुने भएकाले सशस्त्र प्रहरी बललाई समेत आवश्यक सहयोग र समन्वय गरिदिन अनुरोध गरिएको चन्दले बताए ।

नाकामा इन्फारेड थर्मोमिटरबाट भित्रिनेहरुको ज्वरो परीक्षण गरिदै छ । इन्फारेड थर्मोमिटरले बिरामीमा ज्वरो कति छ भन्ने टाढैबाट थाहा पाउँछ र ज्वरोको अवस्था हेरेर सहयोगीकक्षका स्वास्थ्यकर्मीले आवश्यक उपचारका लागि अन्य अस्पतालमा बिरामीलाई पठाउने गरिने छ ।

यसैगरि हवाई मार्गबाट नेपालगन्ज आउने सबै यात्रुको विहिवारबाट विमानस्थलमा सञ्चालन गरिएको कारोना भाइरस सर्विलेन्स एवं परामर्श केन्द्रमा स्वास्थ्य परिक्षण गर्न थालिएको पनि नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख चन्दले बताए ।

विशेषगरी हुम्ला, डोल्पा र जुम्ला लगायतका पहाडी जिल्ला र राजधानीबाट समेत आउने सबै यात्रुहरुको परिक्षण गरेर मात्र आउन दिएको उनले बताए ।

विहिवार विहान ६ बजेबाट सञ्चालनमा ल्याईएको सो सर्विलेन्स एवं परामर्श केन्द्रमा पहिलो दिननै एक हजार भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको त्यहाँ खटिनु भएकी स्टाफ नर्स मनिषा थापाले बताइन ।

उनले विमानबाट यहाँ आउने सबै यात्रुको ज्वरो परिक्षण गर्नुका साथै अन्य स्वास्थ्य समस्याहरु बारे पनि जानकारी लिईएको जनाइन् । विमानस्थलमा सञ्चालन गरिएको उक्त परामर्श केन्द्रमा विहान ६ बजेदेखि बेलुकी सबै उडान नसकिंदासम्म परिक्षण गरिराख्ने स्टाफ नर्स थापाले बताइन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री