सीमापारीबाट तस्करी र अवैध आयात बढ्यो

सिराज खान
नेपालगन्ज । सीमापारीबाट हुँदै आएको तस्करी र अवैध आयात पछिल्लो समयमा आएर बढेको छ ।  प्रहरीले सीमानामा निगरानी कडा पारेको दावी गरिरहेकै बेला भारतबाट ल्याइएको नौं किलो चाँदीका तयारी गहना र पाँच लाख भन्दा बढीका कपडा प्रहरीले नै बरामद गरेको छ ।

यसका साथसाथै प्रहरीले दिनदिनै भारतबाट अवैध रुपमा भित्रिने गरेको प्रतिवन्धित कुखुरा पनि बरामद गर्दै आएको छ भने सीमापारीबाट लागू औषध स्मैक भित्र्याउनेहरु पनि जमुनाहा, नेपालगन्ज र कोहलपुरमा समेत पक्राउ परिरहेका छन् ।
वडा प्रहरी कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार ठूलो परिमाणको चाँदीसहित नेपालगञ्जमा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । करिब नौ किलो चाँदीका तयारी गरगहनासहित भारतीय नागरिक अलिम सलमानीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यलय नेपालगञ्जका प्रमुख हरिबहादुर बस्नेतले बताए ।

मोटरसाइकलको टंकीमा लुकाएर चाँदी तस्करी गरिरहेको सुचनाका आधारमा प्रहरीले सलमानीलाई बिहीवार नेपालगञ्जको विद्युत प्राधिकरण नजिकबाट पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यलय नेपालगन्जका प्रमुख बस्नेत नेतृत्वको टोलीले सलमानीले प्रयोग गरेको मोटरसाइकलको ट्यांकीबाट नौं किलो चाँदीका तयारी गहना बरामद गरेको हो ।

युपी ०३२ जेपी ३८८८ नम्बरको पल्सर मोटरसाइकल खानतलासी गर्दा पेट्रोल ट्यांकीमा लुकाई राखेको सो चाँदीका गहना बरामद भएको वडा प्रहरी प्रमुख बस्नेतले जानकारी दिए । मोटरसाइकल चेक जाँच गर्दा पेट्रोल ट्यांकी तला फ्लश बटम बनाई अवैध चाँदी लुकाएर राखिएको भेटिएको थियो ।

आफूले नेपालगन्जसम्म पुरयाउने जिम्मा लिएको र सो चाँदीका गरगहना रहीस हल्वाई नामका व्यक्तिको रहेको सलमानीले प्रहरीलाई बताएका छन् । प्रहरीले हलवाइको समेत खोजी गरिरहेको जनाएको छ ।

सोही प्रकारले भारतबाट भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको लत्ता कपडा र अटो पार्ट पुर्जा पनि प्रहरीले केही दिन अघि नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार नेपालगन्ज ७ गगनगन्ज लगायतको ठाउँबाट ५ लाख १२ हजार रुपंयाँ बराबरको भन्सार छलेर ल्याई जम्मा गरिएको लत्ता कपडा र अटो पार्टपुर्जा नियन्त्रणमा लिएको छ ।

अवैध रुपमा चोरी पैठारी गरेर ल्याइएको सो सामानहरुलाई थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी बीर बहादुर ओलीले प्रहरी सक्रिय भएर नै यसरी पटक पटक अवैध सामानहरु पक्राउ पर्ने गरेको बताए । उनले प्रहरीले लागु औषध भित्र्याउने र भन्सार छलेर तस्करी गर्नेहरु विरुद्ध कडा रुपमा प्रस्तुत भैरहेकाले नै धेरै घट्नाहरु बाहिर आइरहेको बताए ।

उनले तस्करी र अवैध चोरी पैठारी रोक्न प्रहरीले विशेष टोली खटाएर काम गरिरहेको जनाए । विगत लामो समयदेखि नेपालगन्ज नाका तस्करहरुका लागि प्रमुख नाकाका रुपमा चर्चित रहँदै आएको छ । यो नाकाबाट जडिबुटी लगायत सुन, चँदी, कपडा, खाद्यान्न, अटो पार्टपुर्जा, खसी बाख्रा समेत तस्करी हुँदै आएको छ ।

टिप्पणी थप्नुहोस्