पटक पटकको वर्षाले २० करोड इँटा नष्ट, अभावसंगै मूल्य बढ्ने

????????????????????????????????????
  • सिराज खान

नेपालगन्ज, २३ फागुन । इँटा उत्पादन हुनै लागेको समयमा पटक पटक बेमौसमी बर्षा हुँदा बाँकेका इँटा व्यवसायीले तयार पारेका करोडौं काँचो इँटाहरु गलेर नष्ट भएका छन् । इँटा तयार पार्ने सिजनमा नै यस बर्ष धेरै पटक बर्षा भएकोले तयार पारिएका ९० प्रतिशतजति काँचो इँटा नष्ट भएकोले बाँकेमा इँटाको चरम अभाव हुनुका साथै अत्याधिक मूल्य बृद्धि निश्चित भएको नेपाल इँटा व्यवसायी संघ बाँकेले जनाएको छ ।
यस वर्ष पटक पटक गरेर जिल्लाका व्यवसायीले तयार पारेका करिब २० करोड जति इँटामा क्षति पुगेकोले व्यवसायीलाई ८० करोड भन्दा बढीको क्षति भएको नेपाल इँटा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले बताए । अलिकति बचेको इँटामा पनि शुक्रवार भएको बर्षाले क्षति पुर्याएपछि अब स्थानीय व्यवसायीसंग उत्पादन भएको इँटा नै बाँकी नरहेको उनले बताए ।
‘सिजन शुरु भएसंगै हुन थालेको पटक पटकको क्षतिले इँटा उद्योगीहरुलाई अहिले इँटा पु¥याउन मुस्किल भइरहेको छ । अहिले बजारमा इँटाको चरम अभाव सृजनाभएको छ’–अध्यक्ष खाँले बताए ।
संघका अनुसार, पूर्वाधार निर्माणको काम तिव्ररुपमा भइरहेका बेला बाँके लगायत छिमेकी जिल्लाहरुमा समेत इँटाको माग अत्याधिक बढेको छ । तर प्राकृतिक प्रकोपका कारण अधिकांश काँचो इँटा नष्ट भएकाले माग पुरा गर्न सक्ने अवस्था छैन । अध्यक्ष खाँले इँटा पाईएपनि धेरै महंगो हुने बताएका छन् । केही समयपछि इँटा प्रति गोटा २२ देखि २५ रुपैयाँसम्म पुग्ने निश्चित देखिएको संघको भनाई छ ।
इँटाको अभावमा घर निर्माणदेखि अन्य पूर्वाधारका काम समयमा सक्न समस्या हुने देखिएको छ । बाँकेका इँटा उद्योगहरुले कर्णाली र सुदुरपश्चिम प्रदेशमा इँटा आपूर्ती गर्दै आएका छन् ।
विसं २०६४ साल अघिसम्म भारतको बाबागञ्जबाट नेपालगञ्ज भित्रिएको इँटाबाट यहाँका धेरै घर बने । बाबागञ्जको इँटाले सुर्खेतसम्म बजार लियो । भारतीय इँटा नल्याएसम्म घर नै बन्दैन भन्नेसम्मको सोचाइ नेपालगञ्जवासीमा थियो तर, अब बाँकेमा उत्पादन भएको इँटाले पश्चिम नेपाल भरि बजार लिएको छ ।
एक दशकयता भारतीय इँटा बाँके भित्रिन छाडेको नेपाल इँटा उद्योग व्यवसायी संघ बाँकेले जनाएको छ । ‘बाँकेकै उत्पादनले पश्चिम नेपालभरि पुगेको छ, बाहिरबाट ल्याउनुपरेको छैन,’ संघका पूर्व अध्यक्ष प्रकाश शाहले भने । अहिले स्वदेशी इँटा उद्योगीले भारतीय एकाधिकार तोडिसकेका छन् । इँटा उद्योगमा बाँके आत्मनिर्भर बनिसकेको छ ।
यहाँको इँटाले छिमेकी कर्णाली प्रदेशलाई पनि थेगेको छ । कर्णाली प्रदेशका अधिकांश निर्माणमा बाँकेको इँटा प्रयोग भएको छ । पूर्व अध्यक्ष शाह भन्छन्, ‘स्वदेशी उत्पादनमा आत्मनिर्भर हुने उद्योगमा इँटा नै हो । हामीले कर्णाली र सुदुरपश्चिमलाई समेत धानेका छौं ।’ उनका अनुसार बाँकेबाट दैनिक ५० हजार भन्दा बढी इँटा सुर्खेत हुँदै कर्णालीका विभिन्न जिल्लासम्म पुग्ने गरेका थिए ।
नेपाल इँटा उद्योग व्यवसायी संघ बाँकेमा ५० बढी उद्योग सदस्य छन् । यी उद्योगले वार्षिक करिब २५ करोड भन्दा बढी इँटा उत्पादन गर्दै आएका थिए । तर, यस वर्ष उत्पादन धेरै कम १० प्रतिशतमा झरेको छ ।

टिप्पणी थप्नुहोस्