टिप्परको ठक्करबाट महिलाको मृत्युपछि स्थानीयद्धारा ५ घण्टा चक्काजाम

  • सिराज खान

नेपालगन्ज, २८ फागुन । कोहलपुरमा टिपरको ठक्करबाट बुधवार विहान एक महिलाको मृत्यु भएपछि स्थानीयले ५ घण्टा भन्दा बढी कोहलपुर–नेपालगन्ज सडक खण्डमा चक्काजाम र प्रदर्शन गरेका छन् ।

मृतकका आफन्तलाई उचित क्षतिपूर्ति र दोषी चालकलाई कडा कारवाहीको माग गर्दै विहान सवा ११ बजे चर्किएको आन्दोलन अपरान्ह सवा चार बजे क्षतिपूर्ति दिने र कारवाही गर्ने सहमति भएपछि स्थगित भएको थियो ।

कोहलपुर नगरपालिका ८ पिपिरीमा बुधवार विहान ११ बजे टिप्परले ठक्कर दिँदा कोहलपुर–९ की ४५ वर्षीया साईकलयात्री रामपती थारुको मृत्यु भएको थियो ।

रा १ ख २१८८ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाईते भएकी थारुको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो ।

दुर्घटनालगत्तै क्षतिपूर्तीको मागसहित स्थानीय र मृतकका आफन्त आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनकारीले पिपिरी चोकदेखि कोहलपुर हाईस्कुलसम्म बिभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध पार्दै चक्काजाम गरेका थिए । आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले ५ घण्टासम्म कोहलपुर–नेपालगन्ज सडकखण्ड अवरुद्ध गरेका थिए । आन्दोलनले उग्र रुप लिंदै गएपछि ठुलो सँख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

आन्दोलनकारीले टिपर चालकलाई मुद्दा चलाउनु पर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने लगायतका माग राख्दै सडक अवरुद्ध पारेका थिए । प्रहरीले नियन्त्रणमा लिएका टिपर चालकलाई कानुन अनुसार मुद्दा चलाउने र क्षतिपूर्तिको प्रक्रिया तत्काल अगाडी बढाउने सहमति भएपछि आन्दोलन स्थगित भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । केही महिना अघि कोहलपुरकी एक स्कूले बालिकालाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि चर्किएको आन्दोलन दुई दिनसम्म चलेको थियो । सो आन्दोलनले दुईदिन कोहलपुर बजार बन्द हुनुका साथै यातायात समेत अवरुद्ध बनेको थियो ।

ती बालिकाको अझै पनि काठमाण्डौस्थित बी एण्ड बी अस्पतालमा उपचार भैरहेको छ ।

टिप्पणी थप्नुहोस्