जुत्ता चप्पल उद्योगमा भिषण आगलागि, करोड बढीको क्षति, एकको मृत्यु

  • सिराज खान

नेपालगन्ज, २८ फागुन । नेपालगन्जको खजुरारोडमा रहेको जुत्ता चप्पल उत्पादन गर्दै आएको जय सियाराम मेनुफैक्चरिङ इन्डष्ट्रिजमा बुधवार विहान भएको आगलागीमा करोड बढीको क्षति हुनुका साथै एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
जानकी गाउँपालिका–३ खजुरारोडमा रहेको सो जुत्ता चप्पल उद्योगमा बुधवार विहान करिब १ बजे लागेको आगो निभाउन सात घण्टा बढी लागेको थियो ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, नेपालगन्ज विमानस्थल र बर्दियाको गुलरिया र मधुवन नगरपालिकाका ६ वटा दमकल र जेसीभीको सहयोगमा सुरक्षा निकायले बुधवार बिहान ८ बजे आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट करीब १ करोड बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । उद्योगले जुत्ता चप्पल उत्पादन गर्दै आएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सात घण्टा बढीको सक्रियताले आगलागी नियन्त्रणमा आएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले बताए । अमरदिप सिंह र मनु केडिया संचालक रहेको जयसियाराम मेनुफेक्चरिंग ईण्डष्ट्रीजमा भएको आगलागीको कारण बारे अनुसन्धान भैरहेकोछ । सर्ट सर्किटबाट आगलागी भएको आशंका गरिएको छ ।
आगलागीमा परि घाइते भएका उद्योगका कर्मचारी दिलिप चमारको भेरी अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ । उनको शरीरको धेरै भाग जलेको छ ।
तर, आगो नियन्त्रणमा आइसकेपछि आगलागीबाट जलेर डढेको अवस्थामा भेटिएको शवको भने अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उक्त शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए । उनले क्षतिको विवरण तथा त्यहाँ रहेका कर्मचारीहरुको लगत लिने कार्य भैरहेको जनाएका छन् । सँधै धेरै कर्मचारी रहने सो उद्योगमा होलीका कारण मंगलवार राती एक दुइजना मात्र कर्मचारी रहेको जानकारी पाएको प्रहरीले जनाएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री