प्रेममा ‘तगारो’ बन्यो कोरोना

-राधेश्याम विश्वकर्मा
भैरहवा । जर्मनीकी स्टेला र पोर्चुगलका अलेक्जान्द्रो प्रेमी प्रेमिका हुन् । आफ्नो देशबाट पोखरा भ्रमणमा आएका उनीहरुको त्यही नै प्रेमको संयोग जुरेको थियो । प्रेमनगर पोखरा तथा त्यस आसपास संगै घुमे । पोखरा र आसपासका स्थान घुमेर थाकेपछि यी जोडी पोखराबाट भारत भ्रमणको लागि पनि संगै जाने निधो गरे ।

बिहीबार स्टेला र अलेक्जान्द्रो भैरहवाको अध्यागमन कार्यालयमा संगै आए । उनीहरुले राहदानीमा नेपालबाट प्रस्थानको छाप लगाई भारतीय अध्यागमनमा गए । तर त्यहा स्टेलालाई भारतले भिसा दिन मानेन ।

अलेक्जान्द्रोलाई मात्र भिसा दिएर भारत भित्र्याएको अध्यागमले कुनै पनि हालतमा स्टेलालाई भिसा दिन नमानेपछि अलेक्जान्द्रो एक्लै भारत भ्रमणमा गए । स्टेलाले नेपाल नै फर्किनु पर्‍यो । स्टेला गहभरी आँशु बनाउँदै अध्यागमनको सम्पर्कमा आइन । धेरै रोई कराई गरिन । प्रेमीसंगै भारत प्रवेशको लागि अनुनय गरिन । तर उनलाई प्रेमीसंग जानै दिएन ।

पोर्चुगलको भएको कारण अलेक्जान्द्रोले भारत प्रवेश गरे भने जर्मनीको भएकै कारण स्टेला भारत जान पाईनन् ।
विश्वका अधिकांश देशमा फैलिएको महामारी कोरोनाको संक्रमणले यी प्रेम जोडीलाई सम्पर्क टुटाएको छ । पोखरामा गाँसिएको माया सुनौलीमा आएर लगभग सकिएको छ ।

अलेक्जान्द्रोले आफ्नो केयर नगरेको र एक्लै छोडेर गएको भन्दै स्टेला नेपालमै फर्किएकी छिन । अब उनलाई त्रिभुवन बिमानस्थलबाट मात्रै आफ्नो देश फर्किनु पर्ने हुन्छ ।  कोरोनाको त्रासले भारतले बिहीबारसम्म केही सिमित देशहरुलाई प्रवेशाज्ञा दिएको थिएन । तर शुक्रबार देखि त नेपाल र भुटान बाहेक कुनै पनि देशका ब्यक्तिलाई भारतीय अध्यागमनले भारत प्रवेशमा रोक लगाएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री