अख्तियारले कर्मचारी नियन्त्रणमा लिएपछि मालपोत कार्यालयको काम ठप्प

-राधेश्याम विश्वकर्मा

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले शुक्रबार मालपोत कार्यालय भैरहवाबाट एक र नापी कार्यालयका तीन कर्मचारी घूस रकमसहित नियन्त्रणमा लिएपछि अहिले मालपोत कार्यालय रुपन्देही बन्द भएको छ । अहिले यहाँ अधिकृत देखि तल्लो तहसम्मका कर्मचारीहरु त्रसित देखिएका छन् ।

मालपोतका नायब सुब्बा धर्मराज पन्थीलाई अख्तियारले नियन्त्रणमा लिएपछि कार्यालयमा अधिकृत स्तरका कर्मचारी कार्यालयमा बस्न अटेर गरिरहेका छन् । आइतबार बिहानैदेखि मालपोतमा काम गराउनेको भीड लागेपनि अधिकृत नभएका कारण सेवाग्राहीको काम भएन । दिउसो १ बजेसम्म पनि मालपोत कार्यालय रुपन्देहीका कर्मचारीहरु फाँटमा पुगेका थिएनन् ।

मालपोत कार्यालय भैरहवाका मालपोत अधिकृत ईश्वरीचन्द्र अर्याल र भुमिश्वर ढकाल दुवै जना कार्य कक्षमा थिएनन् । अन्य कर्मचारीहरु भने ‘हाकिम’ नभएको भन्दै सेवाग्राहीलाई फर्काउँदै बैठक गर्न ब्यस्त थिए । मालपोत अधिकृत ईश्वरचन्द्र अर्याल दुई दिने बिरामी बिदामा रहेको र अधिकृत ढकाल कार्यालय आएपनि सिडीओ भेट्न जिल्ला प्रशासन कार्यालय पुगेको कर्मचारीहरुले जानकारी गराए । निमित्त प्रमुख मालपोत अधिकृतको जिम्मेवारी पनि सम्हालेका ढकालले राजीनामा दिनेबारे छलफल गर्न सिडीओकहाँ पुगेको उनीहरुको भनाई छ ।

ब्यस्त मालपोतहरु मध्ये एक मानिने भैरहवा मालपोत कार्यालय आईतबार बन्द हुँदा सेवाग्राहीहरु मर्कामा परेका थिए । “शुक्रबार आउँदा एक दिनमा काम हुन सकेन, आज आउँदा पनि काम भएन,” गुल्मीबाट आएका एक सेवाग्राहीले भने,‘काम कहिले हुने भन्ने नै टुंगो नभएकाले अब कहाँ जाने, के गर्नेमा नै अन्यौल छ ।’

कार्यालयमा रहेका दुईजना अधिकृत नै अनुपस्थित भएपछि मालपोतको सबै सेवा बन्द रहेको छ । अधिकृतहरु बिदामा बसेपनि काम गर्ने अख्तियारी कसैलाई प्रदान नगरेको कारण मालपोतको काम ठप्प भएको हो ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारी महादेव पन्थसँग प्रतिक्रिया लिंदा मालपोत अधिकृत आफैसंग रहेको र केहीबेरमा नै काममा जाने बताए । उनले अधिकृत नभएकै कारण मालपोतको काम नरोकिएको बताए । तर प्रमुख जिल्ला अधिकारीले काम भएको जनाए पनिभैरहवा मालपोत कार्यालयमा आइतबार एउटा पनि काम भएनन् ।

सयौं सेवाग्राही निराश भएर फर्किए । सिडिओले अधिकृत पठाई दिने आश्वासन दिए पनि समाचार तयार पार्दा (४ बजे) सम्म भने कार्यालयमा कुनैपनि अधिकृत आएका थिएनन् । आइतबार ४ बजेसम्म भैरहवा मालपोतमा एउटा पनि काम भएको छैन ।

टिप्पणी थप्नुहोस्