‘नेपालगञ्ज नाका बन्द हुँदैन’

-सिराज खान
नेपालगन्ज । नेपालगन्जस्थित नेपाल–भारत सीमाना बन्द नहुने भारतीय सुरक्षा निकाय एसएसबीले जनाएको छ । नेपालगन्जस्थित नाका बन्द गर्ने सम्बन्धि कुनै पनि निर्देशन भारतीय गृहमन्त्रालयबाट प्राप्त नभएको सीमानास्थित भारतीय सुरक्षा निकाय एसएसबीले जनाएको हो ।

कोरोना भाइरसका कारण नेपाल–भारतका चार नाका बाहेक नेपालगन्ज लगायत अन्य सबै नाकाहरु भारतले आइतवारबाट बन्द गर्ने निर्णय गरेको भन्ने कुरा विभिन्न सञ्चार माध्यममा समेत आएपछि सो बारेमा सिमानामा गएर बुझ्दा एसएसबीले सो कुरा बताएको छ ।

सिमानाको सुरक्षाका लागि मुख्य नाकामा स्थापना गरिएको भारतीय सुरक्षा पोष्ट एसएसबीका प्रमुखले यो नाका बन्द गर्ने भनि हालसम्म कुनै पनि सर्कुलर माथिबाट नआएको जनाए । उनले नेपाल र भुटान बाहेकका तेस्रो देशका नागरिकका लागि भने प्रवेश निषेध गरिएको बताए ।

सिमाना बन्द गर्ने भनि अहिलेसम्म त्यस्तो कुनै निर्देशन नआएको जनाउँदै आगामी दिनमा के हुन्छ त्यो त्यति बेलाको अवस्थामा निर्भर हुने उनले बताए । सिमानामा ओहोर दोहोर गर्नेहरुमाथि कडा निगरानी गर्ने र शंका लागेका कुनै पनि बिरामीलाई तत्काल सम्बन्धित ठाउँमा रिफर गर्ने भन्ने निर्देशन केन्द्रले पठाएको एसएसबी चेक पोष्टले जनाएको छ ।

भारतबाट नेपाल आउनेहरुका लागि जसरी जमुनाहा नाकामा हेल्थ डेस्क राखेर ज्वरो परिक्षण गर्ने कार्य भैरहेको छ, त्यसरीनै भारतले पनि एसएसबी चेकपोष्टमै हेल्थ डेस्क राखेर नेपालबाट भारत जानेहरुको ज्वरो परिक्षण गर्ने कार्य गरिरहेको छ । स्वास्थ्य परिक्षणसंगै अन्य चेकजाँचलाई पनि पछिल्लो समयमा आएर कडा पारिएको एसएसबीले जनाएको छ ।

यस्तै नेपाली अधिकारीहरुले पनि सीमाना बन्द गर्र्ने बारे भारतीय पक्षले कुनै जानकारी नगराएको जनाउँदै सीमाना बन्द हुने हल्लामा नलाग्न आग्रह गरेका छन् । नेपालगन्ज–रुपइडिहा सिमा नाका बन्द गर्न लागिएको भन्ने कुरा हल्ला मात्र भएको र सो हल्लामा कुनै पनि सत्यता नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले प्रष्ट पारे ।

नेपाल-भारतका अधिकारीहरुको बैठक ठाकुरद्धारामा

यसैबीच सीमानाको अवस्था बारे छलफल गरेर आगामी दिनमा चालिने कदमहरुका बारेमा छलफल गर्न बर्दियाको ठाकुरद्धारामा आइतवार नेपाल र भारतका तीन सिमावर्ती जिल्लाका अधिकारीहरुको बैठक सम्पन्न भएको छ ।

बैठकमा नेपाल तर्फको बाँके, बर्दिया र दांग जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख तथा भारततर्फको बहराईच र श्रवास्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सहभागिता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए ।

उनले बैठकमा दुबै तर्फका अधिकारीहरुले वर्तमान अवस्था बारे चर्चा गर्दै आआफ्नो तयारी बारे पनि जानकारी गराएका थिए । तीनवटै जिल्लाका सीमानामा कडाई गर्नुपर्ने र शंकास्पद बिरामीको परीक्षण राम्रोसंग गर्नुपर्नेमा दुबै देशका अधिकारीहरु सहमत रहेको प्रजिअ खड्काले बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री