कोरोनाको त्रासले होटल व्यवसाय चौपट

व्याज मिनाहासहितको विशेष राहत माग

-सिराज खान
नेपालगन्ज । कोरोना भाइरसका कारण बाँकेको होटल व्यवसाय ठप्प भएको जनाउँदै व्यवसायीले ६ महिनाको व्याज मिनाहासहितको विशेष राहत घोषणा गर्न सरकारसंग माग गरेका छन् ।

स्वदेशी र विदेशी पर्यटक आउन छाडेपछि व्यवसाय अत्याधिक प्रभावित भएकोले व्याज तिर्न सक्ने अवस्थामा उनीहरु नरहेको जनाएका छन् । जिल्लाका होटल व्यवसायीले कोरोना भाइरसको त्रासका कारण व्यवसाय ठप्प भएको जनाउँदै सरकारले विशेष राहात प्याकेज घोषण गर्न माग गरेका हुन् ।

होटल व्यवसायी संघ बाँकेको आइतवार यहाँ बसेको कार्यसमितिको बैठकले सरकारसंग होटल व्यवसायीका लागि विशेष राहात घोषणा गर्न माग गरेको निर्णय गरिएको संघद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा कोरोनाको त्रासका कारण होटलका बुकिंङ्ग धमाधम रद्द गरिएको र सरकारले नै विदेशी नागरिकको आगमनमा रोक लगाएकाले व्यवसाय ठप्प भएको जनाइएको छ ।

हालको अवस्थामा होटल व्यवसाय अत्याधिक संकटमा परेकाले सरकारले तत्काल विशेष राहात घोषणा गरेर कम्तीमा ६ महिनाको व्याज मिनाहा गर्नुपर्ने, चालु आर्थिक वर्षको करमा पनि विशेष छुट दिनुपर्ने र बिद्युतको डिमाण्ड शुल्कमा पूर्ण रुपमा छुट दिनुपर्ने लगायतका मागहरु विज्ञप्तीमार्फत गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ–‘महामारीबाट जोगिनका लागि सरकारले गरेका सबै निर्णयहरुको स्वागत गर्दछौं, आवश्यक परे होटललाई क्वारेन्टाइन बनाउन तयार छौं ।’ संघीयता कार्यान्वयनपछि बुटवललाई प्रदेशको अस्थायी राजधानी घोषणा गरिएसंगै ४० प्रतिशत प्रभावित भएको बाँकेको होटल व्यवसायलाई कोरोनाको त्रासले ध्वस्त नै पारेको व्यवसायीहरुले बताएका छन् ।

कोरोनाको त्रास सबैभन्दा बढी प्रभाव बाँकेका होटल व्यवसायलाई परेको ठहर गर्दै व्यवसायी संघले ८० प्रतिशत भन्दा बढी व्यवसाय घटेको जनाएको छ ।

नेपालगन्ज हुँदै कैलाश मानसरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल लगायतमा जाने स्वदेशी, भारतीय र तेस्रो देशका पर्यटकलाई लक्षित गरेर बाँकेमा एकपछि अर्को गर्दै धेरै स्तरीय होटलहरु स्थापना गरिएका थिए ।

टिप्पणी थप्नुहोस्