सीमापारी जानेमाथि कडाइ गरिने

नेपालगन्ज । भारतमा कोरोनाका बिरामीहरु बढ्दै गएपछि अतिआवश्यक काम बाहेक सीमा पारी नजान यस क्षेत्रका नेपालीहरुलाई आग्रह गरिएको छ । अतिआवश्यक काम बाहेक सीमापारी जान खोज्नेलाई सुरक्षाकर्मीले जान आउन नदिने व्यवस्था समेत मिलाउन थालिएको छ ।

घुमघाम, खरिदारी र सामान्य कामले सीमाना वारीपारी गर्नेहरुमाथि कडाई गरिने निर्णय सोमवार यहाँ आयोजना गरिएको सरोकारवालाहरुको समन्वयात्मक बैठकले गरेको बाँकेका प्रहरी प्रमुख एसपी बीर बहादुर ओलीले बताए ।

उनले भारतबाट आउने सामानहरुको आपूर्तिमा कुनै अवरोध नपुग्ने गरि अति आवश्यक कामले आउने र जाने बाहेक अन्य कसैलाई पनि आउन जान नदिने बताए ।

‘भारतबाट आउने पेट्रोलियम पदार्थ, ग्यास, खाद्यान्न र अन्य सामानहरुको आयात निर्वाध रुपमा भैरहनेछ, तर सामान्य काम र घुमघाम तथा खरिदारी गर्नकै लागि यता उता गर्नेहरुलाई रोकिनेछ’,प्रहरी प्रमुख ओलीले भने ।

सीमानामा रहेको हेल्थ डेस्कमा जनशक्ति र उपकरणहरु थपेर चेकजाँचलाई अझै प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए ।

शाहका अनुसार हालसम्म गरिएको तयारीको अनुगमन गर्दा तयारी निकै अपुग र फितलो देखिएको, सरोकारवालाहरुविच समन्वय र सहकार्यको कमी देखिएकोले नै नयाँ तरिकाले जाने निर्णय गरिएको हो ।

बैठकले जिल्लास्तरीय टास्क फोर्स लगायत विभिन्न समितिहरु समेत गठन गरेर तयारीलाई तिव्र पारेको छ । आइसोलेशन वार्ड र क्वारेन्टाइन स्थापनाका लागि तत्काल कार्य शुरु गर्ने सहमति गर्दै बैठकले जनचेतना र रोकथामका लागि आवश्यक पर्ने रकमका लागि एक आकस्मिक कोषको पनि स्थापना गरेको छ ।

सो कोषमा नेपालगञ्ज उपमहानगरपालिकाले ३० लाख, कोहलपुर नगरपालिकाले २० लाख, नेपालगञ्ज उद्योग वाणिज्य संघले २० लाख र अन्य सबै ६ वटा गाउँपालिकाले १०–१० लाखका दरले रकम जम्मा गर्नु पर्ने निर्णय पनि गरेको छ ।

बैठकले गठन गरेका समितिहरुमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाको अध्यक्षतामा उपचार समिति, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिर जंग शाहको अध्यक्षतामा बचाउ तथा सुरक्षा समिति, नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवल शमसेर राणाको अध्यक्षतामा आर्थिक संकलन र परिचालन समिति र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा प्रचार प्रसार समिति रहेका छन् ।

यसैगरी कोरोनाका बारेमा सबै जानकारी सम्प्रेषण गर्न भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा. राजन पाण्डेलाई फोकल पर्सन तोकिएको छ । बैठकले मास्क, सेनिटाइजर लगायतका सामाग्रीको कालाबजारी नगर्न सबै व्यवसायीसंग आग्रह गर्दै सो गरिएको पाईए कडा कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापाको अध्यक्षतामा सम्पन्न सो बैठकमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, उपमहानगरपालिकाका प्रमुख, भेरी अस्पतालका प्रमुख, नेपालगञ्ज मेडिकल कलजे शिक्षण अस्पतालका सह निर्देशक, स्वास्थ्य कार्यालयका प्रमुख, विभिन्न एअरलाइन्सका प्रमुखहरु, संघसंस्थाका प्रमुखहरु, उद्योगी व्यवसायी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री