टिकटकले भाइरल बन्दै ‘ग्रीन जोन’

-राधेश्याम विश्वकर्मा
भैरहवा । धकधईको ‘ग्रीन जोन’ अहिले सामाजिक संजालमा भाईरल हुँदैछ । बिशेषगरी युवाहरु अहिले टिकटक, फेसबुक, युट्यूब लगायतमा फोटो तथा भिडियो पोष्ट गर्न धकधईलाई मुख्य गन्तब्य बनाएका छन् ।

भैरहवा-भुमही सडक खण्डमा पर्ने धकधई नजिक दैनिक युवा युवतीहरुको भीड बढ्दै गइरहेको छ । केही दिनसम्म सामान्य जस्तै देखिने यो क्षेत्रमा स्थानीय युवाले मात्र होइन जिल्ला बाहिरका युवाहरुको लागी आकर्षणको केन्द्र बनेको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईमा भैरहवाका ब्यवसायी राजीव बेरीवालले लगाएको लहरे पिपलको बगैंचा अहिले सामाजिक संजालमा भाइरल बनेको छ । बसन्त ऋतुको आगमनसंगै अहिले पिपलमा पालुवाहरु पलाउन थालेपछि यसमा तन्नेरीहरुको आकर्षण देखिएको छ ।

साथै आकर्षक एवम एउटै लाइनमा रोपिएको कारण यसले थप आकर्षण देखिएको छ । रुपन्देहीकै बुटवल, मुर्गिया, मणिग्राम लगायत मात्र हैन नवलपरासी, कपिलवस्तु र चितवन सम्मका युवाहरु अहिले यहाँ टिकटक, फेसबुक लगायतमा फोटो र भिडियो बनाएर पोष्ट गरी रहेका छन् ।

सामाजिक संजालबाट नै यो ठाउँको बारेमा थाहा पाएको धेरैले प्रतिक्रिया दिए । उनीहरुले यो ठाउँमा बिदेशको जस्तो दृश्य आउने भएकोले धेरै नै लोकप्रिय रहेको बताए ।

भैरहवा बिमानस्थलमा सौर्य एयरलाईन्समा काम गर्ने मेरिना शाही ठकुरीले आफुले टिकटकमा यो ठाउ पहिलो पटक देखेको बताइन । “भैरहवामै रहेपनि अहिलेसम्म यो ठाउँबारे थाहा थिएन, टिकटकबाट थाहा पाएपछि आफूलाई यो ठाउँमा आउन रोक्न सकिन’,उनले भनिन् ।

यस्तै रुपन्देहीकै मुर्गियाबाट आएका राजेन्द्र सापकोटाले यस्तो ठाउँलाई प्रर्वद्धन गर्न यसलाई संरक्षित गर्नुपर्ने धारणा राखे । उनले आफुले पनि टिकटकबाट नै थाहा पाएर धकधई पुगेको बताए । प्राकृतिक सुन्दरताको साथै यहाँको दृश्यले पनि युवालाई आकर्षण गरेको उनको भनाई थियो ।

युवाहरुको आकर्षण बढ्दै गएपछि अहिले रोहिणी गाउँपालिका पनि यसको प्रवद्र्धनमा जुटेको छ । रोहिणी गाउँपालिका सामाजिक संजालकै माध्यमबाट भए पनि देश बिदेशमा चिनिएको भन्दै यहाँका स्थानियहरु पनि खुशी छन् ।

रोहिणी गाउँपालिकाको कार्यालयले पनि अब यसको संरक्षणको प्रयास गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष सनोज कुमार यादवका अनुसार ब्यक्तिगत जग्गा भएपनि यहाँ खानेपानी र शौचालयको ब्यवस्था गरेर यसलाई थप ब्यवस्थित बनाइने जनाए ।

युवा युवतीहरुको आवागमन हुने भएकोले यस क्षेत्रमा सुरक्षा र अन्य गलत गतिविधि हुन नदिन पनि गाउँपालिकाको दायित्व रहेकोले यसको प्रवन्ध गरिने उसले बताएको छ ।

टिप्पणी थप्नुहोस्