कालोबजारी गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता

-सिराज खान
नेपालगन्ज । बाँकेमा कोरोना भाइरस जस्तो महामारी भित्रिने आशंका बढी रहेको बेला पनि यदि कुनै व्यापारीले कालोबजारी गर्छ, अतिआवश्यक सामान लुकाउँछ वा मूल्य बढाउँछ भने त्यस्तोलाई कडा कारवाही गर्ने नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

कोरोना भाइरसविरुद्ध संघले मंगलबार नेपालगन्जमा आयोजना गरेको सचेतना कार्यक्रममा सहभागि पचासौं व्यापारीविच बोल्दै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले यस्तो संकटको समयमा कालोबजारी नगर्न आग्रह गर्दै त्यस्तो गर्नेलाई कारवाही गराउन प्रशासनलाई सघाउने बताए ।

‘यस्तो गम्भीर समयमा कसैले पनि कालो बजारी नगरौं, बरु सबैले दिल खोलेर सहयोग गरौं, यो हाम्रो दायीत्व पनि हो’, उनले भने । संघका अध्यक्ष मन्सुरीले यो समय कसैलाई आरोप प्रत्यारोप लगाउने र कसै विरुद्ध आन्दोलन गर्ने समय पनि नभएको जनाउँदै कसरी सबैले मिलेर महामारी आउनबाट रोक्ने हो त्यसैमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

चिकित्सकको टोली समेतको सहभागितामा भएको सो कार्यक्रममा कोरोना भाइरसका बिरुद्धमा सजगता अपनाउन र सम्भावित कालोबजारी रोक्न दुई बुँदे सामूहिक प्रतिवद्धता समेत व्यक्त गरिएको थियो ।

कोरोना भाइरस नेपालमा भित्रिन नदिन जमुनाह नाकालाई एक महिनाका लागि बन्द गर्नुपर्ने र बाँकेमा रहेका स्वास्थ्य संस्थामा जनशक्ति एवं साधनस्रोत पर्याप्त मात्रामा बढाउनु पर्ने उद्योगी व्यवसायीले माग गरेका थिए ।

केही व्यापारीले सरकारको तयारी निकै फितलो रहेकाले यदि कोरोना भाइरस भित्रियो भने अवस्था भयावह हुनेप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले नेपाल भारत सीमानामा राखिएको हेल्थ डेस्क एक औपचारिकता मात्र भएको र सो बाट कोरोनालाई भित्रिनबाट रोक्न नसकिने बताए ।  उनले सोही प्रकारले अन्य ठाउँमा राखिएका हेल्थ डेस्क पनि नाम मात्रको रहेको बताउँदै त्यहाँ अतिआवश्यक सामाग्रीहरु तत्काल आपूर्ति गर्नुपर्नेमा जोड दिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभासद मोहम्मद याकुव अन्सारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, फिजिसियन डा. खगेन्द्र जङ्ग शाह, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओली, सल्लाहकार, पदाधिकारी र कार्यसमिति सदस्य एवं उद्योगी, व्यवसायी सहभागि थिए ।

चिकित्सकद्धय थापा र शाहले कोरोना भाइरसबाट जोगिने उपाय र बाँकेमा स्वास्थ्य संस्थाले गरेको तयारीका बिषयमा बिस्तृत रुपमा जानकारी गराएका थिए । संघले कार्यक्रमका सहभागीहरुलाई एउटा एउटा मास्क र सेनिटाइजर निःशुल्क बाँडेर कोरोना भाइरसविरुद्ध सचेत रहन आग्रह गरेको थियो ।

टिप्पणी थप्नुहोस्