दिल्लीबाट आएको बसमा तस्करीका सामान

राधेश्याम विश्वकर्मा

भैरहवा । भारतको दिल्लीबाट नेपाल आउँदै गरेको बसमा भन्सार छलीगरी ल्याएको अवैध सामाग्री शसस्त्र प्रहरीले पक्राउ गरेको छ ।
दिल्लीबाट बुटवल आउँदै गरेको लु२ ३४८५ नम्बरको बसमा शसस्त्र प्रहरी बलको ३८ नम्बर गुल्मले बिहीबार बिहान चेकजाँचको क्रममा एक लाख बढीको कपडा तथा अन्य सामाग्री बरामद गरेको हो ।

भन्सारबाट चेकजाँच भएर बाहिरिएको उक्त बस शसस्त्र प्रहरीको राजस्व सुरक्षा गुल्मले चेकजाँच गर्दा बसमा फल्स बटम बनाई अवैध कारोबार गरिएको भेटिएको शसस्त्र प्रहरी नायब उपरिक्षक मान बहादुर शाहीले जानकारी दिए ।

बसमा लेगिज, दुपट्टा, सुट, टप्स, मदिरा, केमिकल लगायतका समानलाई फल्स बटम बनाई लुकाईएको अवश्थामा बरामद गरिएको शाहीले बताए ।

बरामद भएको समान र समान ओसार्न प्रयोग भएको बस गरी करिब ४६ लाख २५ हजार ८ सय रुपैया बराबरको समान थप कार्यवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाइएको उनले बताए । यस अघि पनि भारतबाट आउने बसमा तस्करीका बिभिन्न सामाग्रीहरु भेटिने गरेका छन् ।

भैरहवा भन्सार कार्यालयमा चेकजाँच हुने ब्यवस्था भए पनि कार्यालयका कर्मचारीहरुको मिलेमतोमा यस्ता समाग्री निर्वाध रुपमा नेपाल भित्रिने गरेका छन् ।

टिप्पणी थप्नुहोस्