सीमानामा स्वदेश फर्किने नेपालीको लर्को

-सिराज खान
नेपालगन्ज । भारतमा कोरोना भाइरस फैलिंदै गएपछि रोजगारी र अन्य काम विशेषले त्यहाँ गएका नेपालीहरु ठुलो संख्यामा अहिले स्वदेश फर्किरहेका छन् ।

नेपालगन्ज नाकाबाट मात्रै दुई दिनको अवधीमा सयौंको संख्यामा नेपालीहरु स्वदेश फर्किएका छन् । यहाँस्थित नेपाल–भारतको जमुनाहा नाकामा रहेको प्रहरी चौकीका अनुसार कोरोनाको डरले अहिले दैनिक पाँच हजार भन्दा बढी नेपालीहरु स्वदेश फर्किरहेका छन् ।

बुधवार मात्रै सात हजार बढी नेपालीहरु यो नाकाबाट नेपाल भित्रिएको जमुनाह प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार नेपालगन्ज नाकामा सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाएर भारतबाट स्वदेश फर्किनेहरुको स्वास्थ्य परिक्षण र लगत राख्न थालिएको छ ।

सवारी साधनको भिडभाड हटेकोले अहिले नेपाल भित्रिएका सबैको स्वास्थ्य परिक्षण गरिएको जमुनाहमा सञ्चालित सर्भिलेन्स तथा परामर्श केन्द्र हेल्थ डेस्कका स्वास्थ्यकर्मीले बताएका छन् । हालसम्म पाँच जनामा मात्र उच्च ज्वरो देखिएकोले उनिहरु मध्ये चारजना नेपाली नागरिकलाई भेरी अस्पतालमा रिफर गरिएको र एक जना भारतीय नागरिकलाई फिर्ता पठाइएको छ ।

जमुनाहा प्रहरीका अनुसार सवारीसाधन संचालनमा रोक लगाएपछि अहिले सो नाकामा भारतबाट स्वदेश फर्किनेहरुको मात्रै लर्को देख्न सकिन्छ । विहान ६ बजेबाटै बेलुका सम्म हुलका हुल नेपालीहरु स्वदेश भित्रि रहेको जमुनाहा ईलाका प्रहरी कार्यालयका प्रमुख सई माधव रिजालले बताए । कोरोनाको त्रासले भारतका अधिकांश उद्योग कलकारखाना बन्द हुन लागेको र त्यहाँ रहेका नेपालीहरु डराएकोले पनि नेपाल फर्किरहेको उनले जनाए ।

भारतमा कोरोना भाइरस दिनदिनै फैलिंदै गएकोले त्यहाँबाट आउने सबैलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्नु पर्ने अन्तराष्ट्रिय मापदण्ड भएपनि सयौंको संख्यामा फर्किरहेका नेपालीलाई सामान्य चेकजाँच गरेर मात्र पठाइने गरेकोले जोखिम अत्याधिक रहेको भेरी अस्पतालका एक चिकित्सकले बताएका छन् ।

उनले यसरी दिनदिनै यति धेरै मानिस नेपाल फर्किने हुन् भने अवस्था जे पनि हुनसक्ने हुँदा सावधानी अझै धेरै गर्नु पर्ने पनि सुझाएका छन् । यसैबीच नगरभरी जताततै कोरोना विरुद्ध सचेतना फैलाउने पर्चा पम्फलेटहरु वितरण गरिएका छन् भने क्लिन नेपालगन्ज र ग्रिन नेपालगन्ज नामक समूहले निशुल्क मास्क पनि वितरण गरिरहेको छ ।

उता, जिल्लाको अतिनै दुर्गम मानिने तथा सुरक्षा निकायको निकै कम उपस्थिति रहेको राप्तीपारीको नरैनापुर नाकामा पाँच ठाउमा हेल्थ डेस्क राखिने निर्णय गरिएको छ । नरैनापुर गाउँपालिकाले पाँच साइड नाकामा हेल्थ डेस्क राखेर परिक्षण गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए । उनले सो क्रममा सुईया बघौडामा हेल्थ डेस्क राखिसकेको र अन्य चार नाकामा शुक्रवारबाट राख्न थालिने बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री