पेरिस कम्यूनको एक फन्को

-पुरुषोत्तम लम्साल

मान्छेको मुक्तिका सपना र मुक्तिका विचारबीचको अनौठो संयोग के भने त्यसलाई केही क्षणका लागि दबाउन सकिन्छ, केही वर्षका लागि बिर्सन सकिन्छ, सधैंका लागि निर्मूृल गर्न सकिन्न । त्यो कुनै छालबाट आउँछ वा लहरबाट आउँछ वा पहाडबाट आउँछ वा गाउँबाट आउँछ वा शहरबाट आउँछ वा हावाबाट आउँछ वा भावनाबाट आउँछ वा चेतनाबाट आउँछ वा प्रकाशबाट आउँछ वा कहाँबाट आउँछ,… त्यो आउँछ । एक दिन त्यो अवश्य आउँछ । मान्छेको सभ्यता रहुन्जेल मुक्तिका सपना आइरहन्छन्, मुक्तिका बिचार आइरहन्छन् । निरपेक्ष स्वतन्त्रता र न्याय सम्भव छैन । त्यसैले तिनैका लागि यो उठ्छ, सुस्ताउँछ, शान्त हुन्छ, थामिन्छ र फेरि उठ्छ । यही सार्वभौम सत्य हो ।

उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताको बिरोधमा मेक्सिकोका किसानले गरेको सशस्त्र बिद्रोह होस् वा नेपालमा राज्यसत्ताविरुद्धको माओवादी सशस्त्र विद्रोह होस् वा क्यूबाको क्रान्ति होस् वा अक्टोबर क्रान्ति होस् वा चिनिया जनक्रान्ति होस्, अमेरिकी क्रान्ति होस् वा औद्योगिक क्रान्ति होस ती सबै न्याय, समानता, स्वतन्त्रताको माग गर्दै भएका ऐतिहासिक घटनाका दृष्टान्त हुन् । यसभित्र क्रूरताका पक्ष होलान्, रगतका डोब र आहाल होलान्, रोदन, चित्कार र क्रन्दन होलान्, ती सब परिस्थितिगत सत्य हुन् । संसारका स्वतन्त्रता संग्राम मैनबत्ती बालेर कहीं आएको छैन । रगतको मूल्य नतिरी कुनै क्रान्ति सम्भव भएको छैन । परिवर्तनका लागि बलिदान नै शाश्वत सत्य हो । सत्य स्थापनाका लागि नै महाभारत रचिएको हो । यही नै सत्य हो ।

यो सत्यको बीचमा क्रान्तिकारी आन्दोलनको अर्को एउटा सत्य छ, पेरिस कम्यून । यो सत्य स्थापना भएको दिन हो मार्च १८ । बुर्जुवा समाजको संरचनामाथि धावा बोलेको एउटा अपूरो क्रान्तिले १४९ वर्ष पूरा गरेको दिन ।संसारभरका प्रगतिशील एवम् क्रान्तिकारीहरुले आज त्यो विशेष दिन सम्झनेछन् । ऐतिहासिक एवम् द्वन्द्वात्मक भौतिकवादको वकालत र पक्षपोषण गर्नेहरुले जोशिला भाषणहरु गर्नेछन् र सुन्नेछन् । माक्र्सवादका अनुयायीहरुले ती भाषणहरुसँगै आँधी र असिनाको गतिमा आएर त्यसकै गतिमा अवसान भएको एउटा विद्रोही सत्ताको गाथा गाउनेछन् । माक्र्स, लेनिन, स्टालीन, माओ जजसलाई आदर्श माने पनि ती सबैको गर्तबाट उधिनिएर आउने त्यो विशेष दिन मार्च १८ नै हो जुन दिन पेरिस कम्यूनको स्थापना भएको थियो ।

अर्थात् पेरिस कम्यूनको वार्षिकोत्सव । १४९ वर्षअगाडि फ्रान्समा भएको एउटा त्यही युगीन महत्वको घटना अर्थात् सन् १८७१ को पेरिस कम्यून । भलै यो एकाध महिनामै तासको घरझैं गल्र्यामगुर्लुम्म ढल्यो तर त्यसले समग्र विश्वराजनीति र राजनीतिशास्त्र दुबैको इतिहासमा नयाँ अध्याय बनायो । संसारभर आफूलाई माक्र्सवादी बताउनेहरुलाई स्कूल अफ थट दिएर गयो । कार्ल माक्र्स जिउँदै छँदा (बेलायत निर्वासनमा रहँदा) भएको, माक्र्स आफैंले स्वर्गको आँधी, पूँजीपतिहरुको स्वर्गमाथि हमला, नयाँ समाजको शानदार अग्रदूत नाम र प्रतिक्रिया दिएको त्यो बिद्रोह, त्यो सत्तापलट, त्यो राजनीति, त्यो उहापोह…सबैमा पेरिस कम्यून इतिहासको पानामा सर्वाधिक महत्वपूर्णमध्ये एक भएर सुरक्षित छ ।

पेरिस कम्यूनको गठनलाई लिएर माक्र्सले त्यतिबेलै ‘यो जीत मानव सभ्यतामा समाजवादी क्रान्ति र बर्गीय सत्ताको जीतको रुपमा उल्लेख हुनेछ’ भनेका रहेछन् । ‘द सिभिल वार इन फ्रान्स’मा माक्र्स लेख्छन्–‘उनीहरुले पुरानो सत्ताका आर्मी र प्रहरी खारेज गरिदिए । देशका सबै नागरिक हतियारसहित नेशनल गार्डमा रुपान्तरण भए र पेरिसमा एउटै मात्र शसस्त्र बल बन्यो । पादरीहरुलाई उनीहरुकै व्यक्तिगत जीवनमा पठाइयो र अन्य विपन्नसरह खानाको व्यवस्था गरियो ।किसान र मजदूरका आधारभूत आवश्यकतालाई मजदूरको बर्गीय सत्ताले तत्कालै सम्बोधन गर्न शुरु गर्यो ।’

भलै, पेरिस कम्यून पुरातन सत्ताविरुद्ध पहिलो विद्रोह थिएन, मजदुरले देखाएको साहस र जीतको पहिलो उदाहरण पनि थिएन तर त्यो श्रमिक बर्ग अथवा चल्तीको भाषामा सर्वहारा बर्गले संगठित भएर शाशक बर्गलाई घिसारेर शासनबाट हुत्याएको चाँहि आधुनिक विश्व इतिहासको प्रारम्भिक घटना थियो । त्यो धेरै टिकेन । तर त्यो क्रान्तिको त्यस्तो पहिलो स्वरुप बन्यो जसले विद्रोह र क्रान्तिको आधारभूत सिद्धान्तलाई नै लिखितम् गरिदियो । राजनीतिक इतिहासको मञ्चबाट त्यो गौरवशाली विजय त ढल्यो तर त्यसको शिक्षा ढलेन । ‘पेरिस कम्यूनको शिक्षा’मा रुसी क्रान्तिका नायक लेनिनउल्लेख गर्छन्, ‘त्यो त्यही क्रान्ति थियो जसले रुसी क्रान्ति वा अक्टोबर क्रान्तिलाई मार्गनिर्देश गर्यो ।’

लेनिनले थप भने, ‘पेरिस कम्यूनको गठनले कस्तैखाले प्रतिकूलताका बीचबाट पनि पूँजीवादी व्यवस्थाविरुद्ध साम्यवादी समाजवादी अभ्यास सम्भव छ भन्छ ।’ लेनिन लेख्छन्– ‘पेरिस कम्यूनले जिन्दगी र मृत्युको गाथा बनायो, शोषित, उत्पीडित र दलितलाइै मुक्तिको बाटो देखायो, शोषणको अनन्त चक्रबाट पिल्सिएर निदाइरहेकाहरुलाई ब्यूँझाइदियो र समाजवाद सम्भव छ भन्ने आशाको बीजलाई रोपिदियो । त्यो बीज सामाजिक क्रान्तिको बीज बन्यो, राजनीतिक र आर्थिक क्रान्तिको बीज बन्यो । त्यसैले पेरिस कम्यून अमर बन्यो (लेनिन, पेरिस कम्यूनको सम्झना, मजदुर अखबार, १५ अप्रिल, १९११ बाट भावानुवाद)।’

पेरिस कम्यून त्यही हो जसले फ्रान्सका लुई बोनापार्ट र जर्मनी (वार्सा)का विश्मार्क दुबैको दोहोरो शक्तिविरुद्ध बहादूरी देखायो । रोग र भोकबाट आजित मजदूर, दास, ग्रामीण किसान वा सर्वहाराले निर्माण गरेको त्यो त्यही नेशनल गार्ड थियो जसले पेरिस कम्यूनको नाममा तानाशाही, फासीवादी राजनीतिक सत्तालाई बलपूर्वक हुत्याइदिए । महिलाहरुले बिदेशी सेनाविरुद्ध अपूर्व लडाई लडे र तिनका कमाण्डरहरुलाई बाँधेर घिसारे । लुईश मिसेल जस्ता महिला योद्धाहरुले कसरी प्रतिक्रियावादी सत्ताका लागि आफूलाई उभ्याएर संसारका महिलाका लागि प्रेरणाका स्रोत बने भन्ने गाथा यसमा भेटिन्छ । पेरिस कम्यूनको त्यही लालझण्डा मेक्सिकोका किसानलाई हस्तान्तरण गर्ने लुईस मिसेलले कसरी विचार र स्वतन्त्रता निर्यात गरिन्, त्यही हाम्रा लागि शिक्षा हो । हो, त्यही झण्डा हो जुन पछि दक्षिण अमेरिकामा गाडियो । त्यही झण्डा हो जुन पछि रुस, चीन हुँदै अन्यत्र गाडियो । अर्थात् पेरिस कम्यूनको बिद्रोहको झण्डा ।

हो, पेरिसबाट पुरातनवादी सत्ता ढलेपछि त्यहाँको कम्यूनको झण्डा (The Flag of the Commune) लाई मजदूरले विश्व गणतन्त्रको झण्डा (The Flag of the World Republic)घोषणा गरिदिए । संसारको बर्गसघर्ष र बर्गीय आन्दोलनको त्यही झिल्को हो पेरिस कम्यून । माक्र्सवादको उदय र स्थापना हुनुअघिको अन्तर्राष्ट्रियवादी र सर्वहारावादीको प्रारम्भिक गीता ।

पेरिस कम्यून नजन्मिएको भए माक्र्सवाद कुनै आदर्शको रुपमा जबरजस्त स्थापित हुन्थ्यो कि हुन्नथ्यो होला ? पेरिसका मजदूरले पूँजीपति बर्गको आधिकारिक सत्तालाई राजधानीबाटै उखालेर नफालेको भए सर्वहारा र मजदूर बर्गकेन्द्रित माक्र्सवाद यसैगरी विश्वको अभिन्न दर्शन बन्थ्यो होला ? माक्र्सको विचारधारा बाद वा दर्शन बन्नुभन्दा पहिला नै माक्र्सको विचारसँग पूर्णतः सहमत नभएका वा अन्तरसंघर्षकै रुपमा असन्तुष्टी जनाएका पेरिस कम्यूनका नायकहरुले माक्र्सले भनेजस्तै आत्मसमीक्षा, बर्गसमीक्षा र शत्रुसमीक्षा गरेको भए पेरिस कम्यून सय दिनको हनिमून पनि मनाउन नपाउँदै ढल्थ्यो कि ढल्दैन थियो होला ? यी प्रश्नमाथि एक शताब्दीआधादेखि नै बहस जारी छ ।

पेरिस कम्यूनको पृष्ठभूमिमा सन् १८४८ को पेरिस नरसंहार प्रधान भएर आउँछ जहाँ हजारौं मजदूरहरुको कत्लेआम भएको थियो । अर्थात् माक्र्सवादीहरुको गायत्री मन्त्र कम्यूनिष्ट घोषणापत्र जारी भएकै वर्ष बोनापार्टका सैनिकले मजदूरमाथि थोपरेको भीषण परिस्थिति नै पेरिस कम्यूनको प्रधान आधारतत्व थियो । सैनिककै बलमा बोनापार्टले सन् १८५१ मा फ्रान्स गणतन्त्रको घोषणा त गरे तर तिनको दमन ब्यहोरेका र बिद्रोही बन्दै गरेका असन्तुष्ट मजदूरहहरुलाई निर्मूल वा उन्मूलन गर्न सकेनन् । असन्तुष्टीको यही म्याग्मा पग्लँदै गएर २० वर्षपछि पेरिस कम्यून बन्यो, क्रान्तिकारी सत्ताको पहिलो अनुभव बन्यो, पूँजीपति बर्गविरुद्धको पहिलो संगठित सशस्त्र क्रान्ति बन्यो, विश्वका मजदूर र सर्वहारा बर्गका लागि सदाबहार शिक्षा र उदाहरण बन्यो ।

तर मान्नुहोस् पेरिस कम्यून माक्र्सवादको जगमा भएको विद्रोह होइन भन्ने मत असाध्यै बाक्लो र शक्तिशाली छ । इतिहासकारहरु पेरिस कम्यूनलाई औद्योगिक युुगमा दार्शनिक रुसोको सामूहिक इच्छाको सिद्धान्त अनुसारको परिणाम ठान्दछन् । केही जनतन्त्रको अद्धितीय अभ्यास बताउँछन् तर त्यसको उत्प्रेरक सिद्धान्तबारे मौन रहन्छन् । पेरिस कम्यूनलाई राज्यविहीन अराजक समाजको अभियान करार गर्नेहरु पनि छन् र सर्वहाराको तानाशाहीको रुपमा व्याख्या गर्नेहरु पनि छन् । यथार्थमा पेरिस कम्यून विद्रोहको पाठशाला नै हो । यसलाई सफलता–असफलताको कसीमा पछि नाप्दै गरौंला तर पेरिस कम्यून त्यस्तो राजनीतिक अभ्यास हो जसले पूँजीपतिबर्गको आधिकारिक सत्तालाई उसकै राजधानीबाट, केही समयकै लागि सही, उखेलेर फालिदियो ।

नेपाली समाजको सापेक्षतामा अर्थ खोज्दा पेरिस कम्यून किन सम्झन आवश्यक छ भने त्यसले पूँजीपतिहरुले जस्तो व्यापार र श्रमको शोषणको अविराम उपलब्धलाई स्वतन्त्रताको रुपमा गरिने व्याख्यामाथि लगाम लगाइदियो । समानताको कूलीन व्याख्या जहाँ उच्चबर्गको हैसियतअनुसार भागबण्डा हुन्छ, त्यसमाथि पेरिस कम्यूनले धावा बोल्यो । श्रम र पूँजीबीच हुने बाँडफाँडमा अपनाइने भाइचारा सम्बन्धमाथि उलटफेर गरिदियो । दासताबाट मुक्ति, शोषणबाट मुक्ति त छँदैछ पेरिस कम्यूनले समाजको बर्गबर्गबीचको विभाजनको पनि अन्त्य सम्भव छ भन्ने शिक्षा दियो । यसैले तपाईले आफ्नो समाजको, देशको, व्यवस्थाको रुप र चरित्र हेरेर हामी कुन स्तर र अवस्थामा छौं भन्ने अनुमान गर्न सक्नुहुन्छ । त्यसकै लागि आज पेरिस कम्यूनको सन्दर्भ उठान गरिएको हो ।

हो, हामीले पेरिस कम्यूनलाई बर्गसंघर्षको विकासको चरणअनुसार सम्झियौं भने, माक्र्स र एगेल्सले कल्पना नगरेको बर्गसंघर्षको रुपरेखा तयार गरेको रुपमा बुझ्दा फलदायी होला । पेरिस कम्यून गठनलगत्तै जारी भएको कम्यूनिष्ट घोषणापत्रको संशोधित संस्करणले त्यही भन्छ । खासगरी पुरानो सत्ताको यावत् तन्त्र र अवयव कायमै राखेर क्रान्तिकारीहरुले त्यसलाई आफूअनकूल उपयोग गर्न सक्दैनन् । त्यो बेला कुनै पनि विद्रोही सत्ता निकट भविष्यमै गल्र्याममै ढल्छन् भन्ने सन्देश पेरिस कम्यूनले दिन्छ ।

माथिको अनुच्छेदको अन्तिम वाक्यलाई तपाई नेपालमा द्वन्द्वको अवतरणपछिको पहिलो संविधानसभाको निर्वाचन, त्यसपछिको माओवादी सरकार र उसको पतन र विघटनलाई सापेक्षतामा जोडेर समीक्षा गर्नुभयो भने पक्कै केही निश्कर्ष प्राप्त हुनेछ । इच्छाधारी नागले जसरी माओवादीले भन्ने गरेको सत्ता कब्जा र आमबिद्रोहको धरातल समीक्षा गर्न पनि हामीले पेरिस कम्यूनलाई दृष्टान्त मान्न आवश्यक हुन्छ । नागरिक सर्वोच्चताको वेस्वादको चिच्याहट कसरी संसद्वादले ठेगान लगायो भनेर बुझ्न हामीले पेरिस कम्यून किन ढल्यो भनेर खोजी गर्दा केही मिहीन समानता भेटिन्छ (यसको अर्थ प्रचण्ड र ब्लांकीलाई एउटै लहरमा राखेर अध्ययन गर्नपर्दछ भनिएको चाँहि होइन) ।

माक्र्सभन्थे, क्रान्तिको माध्यमबाट क्रान्तिका बाहक शक्तिको पनि पूर्ण रुपान्तरण हुनपर्छ र हुन्छ । हो रहेछ, हामीले त्यही त्यही देख्यौं । माओवादी विद्रोहबाट सत्ताको तख्तासम्म पुगेकाहरुको आमूल परिवर्तनको अनुमान गरेर नै माक्र्सले त्यो लेखेका रहेछन् । सिद्धान्त र व्यवहारको एकीकरण भनेर माक्र्सले नेपाली कम्यूनिष्ट आन्दोलनको पूर्वानूमान गरेर लेखेका रहेछन् भन्नपर्छ । ब्लांकीको ‘मास एक्सन’को वकालत गर्दा पेरिस कम्यून तासको घरझैं ढल्यो। “आम विद्रोह“को कपटपूर्ण शब्दजालमा नारिएर हिंड्दा जनयुद्ध खरानीखरानी भयो । ब्लांकी र प्रुधो नेतृत्वमा पेरिस कम्यूनको पतन जसरी अवश्यंभावी रहेछ प्रचण्ड र बाबुरामको नेतृत्वमा जनयुद्धको अवसान र विघटन पनि उत्तिकै अवश्यंभावी रहेछ।किनकि, चुनवांगको खाडल क्रान्ति र विद्रोह पुर्न खनिएको थियो भनेर इतिहासले आजै पुष्टि गरिसकेको अवस्था छ । यसमा दोषी यो वा त्यो कोही होइनन्, हिजोका बिद्रोहका नायक सबै हुन् ।

आज नेकपाको घेरा बाहिर रहेका (भित्रै रहेका बादल गुरुंग भुषालहरुले त झन् ठूलो स्वरमा भनेका थिए) हरुले प्रचण्ड बाबुरामलाई गद्दार भन्दै गर्दा हिजोका दिनमा तिनै गद्दारीहरुलाई मुन्टो हल्लाएर मोहर लगाउने पनि तिनै हुन्। त्यो गद्दारीको हिस्सा तिनीहरुको भागमा पनि त्यत्तिकै छ भनेर स्पष्ट र इमानदारीपूर्वक स्वीकार नगरेसम्म कसैले प्याउँप्याउँ गर्नुको अर्थ नदेखिने रहेछ।

माओवादी आन्दोलनको विघटन, बिसर्जन र विलयनको दृष्यचित्रमा सबैभन्दा अभाव त्यही आत्म-मूल्याकंन, आत्म-समीक्षा र आत्म-स्वीकारोक्तिको रहेछ। यति बुझ्न लेनिनको ’पेरिस कम्यूनको शिक्षा’ वा माक्र्सको ’द सिभिल वार इन फ्रान्स’ चाहार्न नपर्ने रहेछ। जनसत्ता, जनसरकार र जनसेना ढाल्दा थपडी बजाउने र झर्ला र खाउँला भनेर नेतृत्वलाई सुमेरु पर्वत ठान्ने तिनै गणेशहरुले हामी गणेश नै थियौं नभनेसम्म बाँकी सब बकबास रहेछन् भनेर ठम्याउनपर्ने हुन्छ ।

त्यसैले पेरिस कम्यूनमा नेपालसन्दर्भ जोडेर राजनीतिक क्रान्ति र सामाजिक क्रान्तिलाई व्यक्तिगत स्वार्थ र आत्मसुरक्षावादले ढाकेर के भयो भनेर आज बिमर्श गर्नुको तूक छैन । जुन ढल्नु अवश्यंभावी थियो त्यो ढल्यो । सकियो । देशको सामन्त पूँजीपति बर्गले सर्वहारा बर्गलाई राज्यसत्ता हस्तान्तरण गर्ने र त्यसबाट सामाजिक क्रान्तिको जग खनेर बर्गविहीन समाजको स्थापना गर्ने स्वर्णिम सपनाहरुको मृत्यु त्यही नेतृत्वबाट सम्भव थिएन, र त त्यो ढल्यो । क्रान्तिकारी शक्ति देशको आर्थिक शक्तिसँगै रुपान्तरण हुनुको त्यो गम्भीर यथार्थले परिवर्तनलाई नामोनामेट बनाइदियो । त्यसैले समाज पनि परिवर्तन भएन, आर्थिक सम्बन्ध पनि परिवर्तन भएन र पात्र फेरिए पनि व्यवस्थाको चरित्र किञ्चित परिवर्तन भएन । यही हाम्रो नियति र यथार्थ हो । त्यसैले हाम्रो आजको यथार्थमा कार्ल माक्र्स किन झुठा छन् भने तिनी भन्छन्,क्रान्ति निरन्तर सम्पन्न हुने प्रक्रिया हो । हामीले पेरिस कम्यूनलाई नेपाल सन्दर्भमा यसरी जोडेर व्याख्या गर्नु युक्तिसंगत हुन्छ होला ।

कुशासन र अनाचार, बैंक र वित्तीय संस्थाहरुको लुट, व्यापारीहरुको मनपरीतन्त्र, ठेकेदारहरुको स्थानीय सत्ता हामीलाई कजाउने र शासनगर्ने हिजो पनि त्यही थियो, आज पनि त्यही छ । केन्द्रिय सत्ता र बहूमत जनमत कसका लागि भन्दा जनताले सिधासिधा उत्तर दिन सक्ने भएका छन् यती होल्डिंग्स र उति होल्डिंग्सका लागि । विदेशनीतिको पक्षपोषण गर्नेहरु कसरी छानिन्छन् भन्यो भने कट्टु, फरिया र लंगौटीबाट उदाहरण दिनमिल्ने भएको छ । हामी कसरी शक्तिराष्ट्र र बहूराष्ट्रिय कम्पनीहरुहरुको मुठ्ठीमा छौं भनेर बुझ्न एमसीसी र रेशमी मार्गका रेशमी सपना ज्यूँदाजाग्दा छन् । हाम्रा राष्ट्रिय उद्योगधन्दा अंशतः मात्र सग्लो रहेको अवस्थामा मजदूर बर्ग र आन्दोलनको परिकल्पना गर्ने लेठो नबेसाउँदा नै ठीक हुन्छ । हो, त्यसैले हामीले पेरिस कम्यूनको उठान र पतनलाई खोजीखोजी अध्ययन गरेर हाम्रो समाजको सापेक्षमा तुलना गर्दा बेफाइदा हुँदैन । एउटा असफल विद्रोह र असफल क्रान्तिको गर्त उधिनेर त्यसको पत्रपत्र केलाउँदै इतिहास र वर्तमानबाट शिक्षा लिंदा के नै बिग्रन्छ र ?

टिप्पणी थप्नुहोस्