सीमानाको हेल्थ डेस्कमा सेना खटाइयो, भारतीयको प्रवेश रोकियो

-सिराज खान
नेपालगन्ज । भारतमा कोरोनाका बिरामीहरु बढ्दै गएपछि यहाँस्थित नेपाल–भारत सीमानामा नेपाली सेना खटाएर जाँच कडा पारिएको छ ।

सेनाको निगरानीमा रोजगारी तथा काम विशेषले भारत गएका नेपालीहरुको स्वास्थ्य परिक्षण गरेर नेपाल आउन दिईएको छ भने नेपाल पस्न खोज्ने भारतीय नागरिकहरुलाई शनिवारबाट फिर्ता गर्न थालिएको छ ।

नाकामा खटिएका स्वास्थ्यकर्मीको सहयोगका लागि यसअघिबाटै शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको थियो भने अहिले नेपाली सेनालाई समेत त्यहाँ खटाईएको छ ।

सवारी साधनको आवागमन ठप्प पारेर पैदल आउनेहरुका लागि मात्र नाकामा आवागमन गर्न दिईएपछि गत तीन दिनमा २४ हजार बढी नेपालीहरु यो नाकाबाट भित्रिएका छन् ।

दैनिक ८ हजारको संख्यामा भारतबाट नेपालीहरु स्वदेश फर्किरहेको सीमानास्थित जमुनाह प्रहरीले जनाएको छ । शनिवारदेखि सोधपुछ गरेर नेपाली नागरिकलाई मात्र नेपालमा प्रवेश गर्न दिईएको पाईएको छ । शनिवार विहान नाकामा पुग्दा त्यहाँ खटिएका सैनिकहरुले आउने हरेकसंग ठेगाना सोधेर मात्र प्रवेश गर्न दिईरहेका थिए ।

भारतको ठेगाना बताउनेहरुलाई उनीहरुले फिर्ता पठाइरहेका थिए । तर, मुख्य नाकामा मात्र कडाई गरिएको र अन्य साईड नाकाहरु ख्ुकुलो नै भएकोले धेरै संख्यामा भारतीयहरु प्नि नेपाल छिरिरहेका छन् ।

देशभित्र सरकारले जतिसुकै कडाई गरेपनि भारतीय सीमाना लक नगरेका कारण भारतबाट आउनेहरुसंगै कोरोना भाइरस भित्रिने अत्याधिक जोखिम रहेको छ ।

सोही कारणले भारतीय सीमानामा हुँदै आएको मानिसको आवागमनलाई पूर्ण रुपमा बन्द गर्नुपर्ने माग बाँकेवासीले एकसाताअघिदेखि नै गर्दै आएका छन् । तर, उनीहरुको माग तर्फ सरकारले अलिकति पनि ध्यान नदिएको गुनासो छ ।

यसैबीच भारतमा कोरोना भाइरस संक्रमण बढ्दै जांदा त्यहाँबाट जमुनाह नाका हुँदै नेपाल भित्रिनेको संख्या दैनिक बढ्दै गएको छ । स्वास्थ्य परीक्षण अनिवार्य गरेको तीन दिनमा जमुनाह नाकाबाट २४ हजार २ सय ३२ जना नेपालगन्ज प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेमा केही भारतीय र अधिकांस नेपाली छन् ।

जमुनाहस्थित हेल्थ डेक्सका दैनिक नेपालमा भित्रिनेको तथ्यांक राखिन्छ । त्यहाँ उल्लेख भएको तथ्यांक अनुसार चैत ५ गते ७ हजार ७ सय २३, छ गते ८ हजार ७ सय ५० र सात गते ७ हजार ७ सय ५९ जना नेपाल भित्रिएका थिए । सरकारले चैत ५ गतेदेखि नेपाल प्रवेश गनेको अनिवार्य स्वास्थ्य परीक्षण गरेको थियो ।

स्वास्थ्यकर्मीद्धारा चेतावनी

सीमाना लगायतका हेल्थ डेस्क र विभिन्न स्वास्थ्य संस्थाहरुमा खटिएका स्वास्थ्यकर्मीहरुले सरकारले कुनै पनि सुरक्षा उपकरण र सामाग्री नदिएर आफूहरुलाई खतरनाक काममा खटाएको जनाउँदै अवस्था यस्तै रहने हो भने काममा जान नसकिने चेतावनी दिएका छन् ।

आफूहरुलाई कोरोना भाइरसको संक्रमणको आशंका चेकजाँच गर्न खटाईएपनि कुनै पनि सुरक्षा उपकरण नदिईएकोले ज्यान जोखिममा राखेर काम गर्न नसक्ने उनिहरुले शनिवार बाँकेका प्रमुख जिल्ला अधिकारीलाई लिखित रुपमै जानकारी गराएका छन् ।

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमका सुरक्षा उपकरणहरु ततकाल उपलब्ध गराउन माग गर्दै उनिहरुले त्यसो नगरिए काम गर्न नसक्ने बताएका छन् । ‘हातले विद्युतको नांगो तार छुन लगाईएको छ, अब हजुरले आफै भन्नुहोस हाम्रो अवस्था के होला’एक स्वास्थ्यकर्मीले गुनासो गरे ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री