कोरोना भन्दा पनि फोहोरले तर्साउँछ !

-राधेश्याम विश्वकर्मा
भैरहवा । सरकारले अहिले २५ जना भन्दा बढी भेला भएर कुनै कार्यक्रम नगर्न आग्रह गरेको छ । विश्वलाई आक्रान्त बनाएको कोरोना भाईरसबाट जोगिन सरकारले नागरिकलाई सतर्क रह्न आग्रह गरेको हो ।

तर शनिबार भैरहवामा एउटा सिंगो टोल नै एकै ठाउमा भेला भए । यो भेला कोरोनाको जोखिमबाट जोगिन नभई भैरहवामा रहेको फोहोर ब्यवस्थापनको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन थियो ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर नगरपालिकामा फोहोर उठ्न नपाएको एक साता भन्दा बढी भैसकेको छ । नगरपालिकाले हाल फाल्दै आएको स्थानमा स्थानीय पक्लिहवाबासीले फोहोर फाल्न नदिएपछि नगरको त्यसका ब्यवस्थापनको अवस्था बिग्रिएको छ ।

सोही फोहोर ब्यवस्थापनको बिषयलाई लिएर नगरपालिकाले स्थानियवासीलाई बदनाम गराएको बताउदै पक्लिहवाका स्थानियले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । नगरपालिकासंग वार्तागरी फोहोर ब्यवस्थापनको बिषयमा दिर्घकालीन टुंगो लगाउन वार्ता टोली गठन गरिएको वार्ता टोलीका प्रवक्ता शुसिल गुरुङ्गले बताए । उनले नगरपालिकाले २०५४ सालदेखि एकतर्फी र अब्यवस्थित रुपमा फोहोर फाल्दा स्थानियवासीको साथै पर्यावरणमा पनि नकारात्मक असर देखिएको बताए ।

उनले अहिले पनि मेयर हरि प्रसाद अधिकारी फोहोर ब्यवस्थापनको बिषयमा गम्भिर नभएको आरोप लगाए । कोरोनाको त्रासलाई हेर्दै छोटो समयको लागी स्थानीयहरु साविककै स्थानमा फोहोर फाल्न दिने कुरामा सहमत भएका छन् ।

तर त्यसको लागी पनि नगरपालिकाले चित्त बुझ्दो दिर्घकालीन योजना बनाई स्थानियहरुलाई बुझाउनु पर्ने शर्त रहेको गुरुङ्गले बताए । “पक्लिहवावासीलाई नगरकै बिरोधीको रुपमा अहिले नगरपालिकाले खडा गरेको छ । यो सरासर गलत हो, फोहोरको सबै भन्दा बढी मारमा हामी नै परेको छौं,” वार्ता टोलीका संयोजक खुशीमान गुरुङ्गले भने ।

यता फोहोर उठ्न नपाएको एक साता बढी हुदा पनि नगरपालिका, यसका कर्मचारी तथा जनप्रतिनिधि गम्भिर देखिएका छैनन् । कोरोनाकै त्रासकै बिचमा नगर फोहोरको कारण दुर्घन्धित बनेको छ । नगरपालिकाले अस्थायी रुपमा फोहोर उठाएर अहिले केही टिप्परमा राखेको छ । तर दैनिक ३० देखी ४० टन निस्किने फोहोर कहिले सम्म टिप्परमा राखेर साध्य हुने हो यो भने हेर्न बाँकी छ ।

स्थानियले गठन गरेको वर्ता टोली र नगरपालिकाको उपप्रमुख उमा काफ्लेका संयोजकत्वमा गठित नगर वार्ता टोली बिच संवाद भए पनि त्यो निष्कर्ष बिना नै टुंगिएको छ । नगरपालिका टोलीले सोही स्थानमा थप करिब डेढ बर्ष फोहोर फाल्न फाल्ने कुरा गरे पनि वार्ताले सार्थकता नपाएको स्थानिय वार्ता टोलीका प्रवक्ता शुसिल गुरुङ्गले बताए ।

टिप्पणी थप्नुहोस्