नेपालगन्ज नाका पूर्ण रुपमा बन्द

-सिराज खान
नेपालगन्ज । बाँकेवासीको अत्याधिक दबावपछि यहाँस्थित नेपाल–भारत सीमाना एक साताका लागि आइतवारबाट पूर्ण रुपमा बन्द गरिएको छ ।

नेपाल–भारतका सुरक्षा अधिकारीहरुको आइतबार सीमानामा बसेको बैठकले एक साताका लागि सीमानालाई बन्द गरेर मानिसको आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।  तर, सो अवधीमा अत्यावश्यक सामान लिएर भारतबाट आउने मालवाहक गाडीहरुलाई भने आउन दिने सहमति पनि बनेको छ ।

यसअघि गत बुधवारबाट सीमानामा सर्वसाधारणका सवारी साधनको आवागमनमा रोक लगाएर पैदल यात्रुहरुलाई भने आउन जान दिइएको थियो । तर, भारतमा कोरोनाका बिरामीहरु बढ्दै गएपछि नेपाल भित्रिने संभावना समेत बढेकोले नाकालाई मानवमुक्त पारिएको हो ।

आइतबार विहानैदेखि भारतमा जनता कफ्र्यु लगाइएको थियो । सो अवसरमा सीमानाको निरिक्षण गर्न आएका भारत बहराइचका एसपी र डीएम दुबैसंग नेपालको बाँकेका एसपी र प्रमुख जिल्ला अधिकारीले छलफल गरेपछि सीमाना बन्द गर्ने सहमति बनेको थियो ।

तर, पनि आइतबार बिहान नेपालगन्ज नाका भएर सयौं नेपाली नेपाल प्रवेश गरेका छन् । आइतवार दिउसोबाट भने कसैलाई पनि ओहोर दोहोर गर्न नदिईएको जमुनाह प्रहरीले जनाएको छ ।

सीमानामै भएको दुबै देशका सुरक्षा अधिकारीहरुको बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख वीरबहादुर ओली, सशस्त्र प्रहरी गुल्म ३० नम्बर गणका प्रहरी उपरीक्षक दीपक अधिकारी र भारत बहराईच जिल्ला अधिकारी शम्भु कुमार, बहराईचका एसपी बिपिन कुमार मिश्रा लगायतको उपस्थिति रहेको थियो ।
सो बैठकले एक साता सीमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेपनि अवस्था सामान्य नभएपछि सो अवधीलाई थप गरिने बताईएको छ ।

यसैविच भारतको केरलमा आइसोलसनमा रहेका दांगका २ जना नेपालीहरु भागेपछि उनिहरुको खोजी भैरहेको छ । उनिहरु नेपाल भित्रिन सक्ने आशंका गरिएको हुँदा पनि सीमानामा कडाई गरिएको हो ।

आइतवारदेखि नेपालगन्जका सबै उद्योग व्यवसाय कलकारखाना बन्द गरिएका छन् । सरकारले अतिआवश्यक सेवा बाहेकका सबै उद्योग व्यवसाय बन्द गर्न निर्देशन दिएकोले नेपालगन्ज उद्योग वाणिज्य संघले बन्द गर्न आग्रह गरेको थियो ।
सोही प्रकारले नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकले पनि उपमहानगरमा नगर बस लगायतलाई बन्द गर्ने निर्णय गरेर सबैलाई घरमै रहन आग्रह गरेको छ ।

विभिन्न सामाजिक संघ संस्थाहरुले सर्वसाधारणलाई निशुल्क मास्क वितरण गरिरहेका छन् भने चेतना फैलाउने सन्देश लेखेका पर्चा पम्पलेट समेत वितरण गरिरहेका छन् ।

यसैगरि २४ घण्टाको अवधीमा नेपालगन्जमा ४० बेडको र्आसोलेसन वार्ड सहितको हस्पिटल पनि निर्माण गरिएको छ । नेपालगन्जको खजुरारोडमा रहेको लायन्स डेन्टल अस्पतालमा सो आइसोलेसन अस्पताल बनाईएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री