सीमा नाकामा सयौं नेपाली रोकिए, जन्ती फर्काइयो

-राधेश्याम विश्वकर्मा
भैरहवा । स्थलमार्ग हुँदै सबैभन्दा बढी यात्रु नेपाल भित्रिने बेलहिया जहिले पनि भीडभाड हुने नाका हो । वारी नेपाल देखि पारी भारत जान उस्तै अप्ठेरो हुने यो नाका अहिले सुनसान भएको छ ।

नेपाल सरकारले भारत र चीनको नाका एक साताको लागि बन्द गर्ने निर्णय गरेसंगै रुपन्देहीका सबै नाका बन्द गरिएका छन् । मूख्य नाका बेलहियासंगै भगवानपुर, ककरहवा लगायतका साहायक नाका बन्द हुँदा भारतबाट नेपाल फर्किरहेका यात्रुहरुले सास्ती पाउने क्रम पनि सुरु भएको छ ।

भारतमा कोरोना भाइरसको त्रास बढ्दै गएपछि अहिले धेरै नेपालीले भारत छाडेका छन् । यसले बेलहिया नाकामा पनि नेपालीहरुको चाप बढेको छ । आइतबारसम्म नेपालीहरुलाई सामान्य चेकजाँचकै आधारमा नेपाल भित्र्याइए पनि सोमबारदेखि मालवाहक ट्रकका चालक र सहचालक बाहेक एक जना पनि नेपाल भित्रिएका छैनन् । यसले भारतको सुनौलीमा नेपालीहरुको घुइँचो लागेको छ । उनीहरु नेपाल–भारतको सीमामा आएरु नेपालले प्रवेश दिने बाटो कुरिरहेका छन् ।

नेपालीहरु भारतबाट नेपाल आउन नसकेपछि बिलौना गर्न थालेका छन् । भारतको कर्नाटक, महाराष्ट्र, दिल्ली लगायतका प्रदेशबाट नेपालका लागि हिडेका नेपालीहरुको भीड लागेको छ । कतिपयले चार दिन देखि भोकभोकै हिडेको पनि बताएका छन् । तीन दिन देखि नेपाल हिडेका तनहुँका ईश्वरी प्रसाद गैरेले आफु नेपाल जानु पर्ने बताए । ‘मेरो सबै नेपालमै छ, यहाँ को छ र हाम्रो ?’, गैरेले भने ‘कि सरकारले हामीलाई यहि पाल्नु पर्‍यो कि त घर जान दिनु पर्‍यो ।’

यस्तै भारतको केरलाबाट आएका मिलन मगराती केरलमा रोजगारी गर्ने बताउँछन् । उनले त्यहाँ सबै होटल लगायतका अन्य प्रतिष्ठानहरु बन्द भएको कारण देश खोज्दै नेपाल आएको बताए । ‘त्यहाँ खानेबस्ने वातावरण नै छैन, यस्तो अवस्थामा आफ्नै देशमा छिर्न नपाए कहाँ जाने हामी ?’, मगरातीले भने,‘ ६ दिन भयो खाना खान नपाएको बिस्कुट र पानीको भरमा बस्नु परेको छ ।’

नेपाली मात्र होइन ‘रोटी र बेटी’को सम्बन्ध रहेको नेपाल-भारतको सीमा बन्द हुँदा भारतबाट नेपालमा बिहेको लागि आउँदै गरेको र नेपालबाट भारत जाने कतिपय जन्तीहरुलाई फर्काइएको छ ।

भारतको पिपिगन्जबाट भैरहवाको लागि आएको बेहुलासहितको जन्ती पारी सुनौलीमा रहेको छ भने नेपालको पोखरभिण्डीबाट भारत जाने जन्ती सीमा बन्द भएकै कारण विवाह स्थगित गरेका छन् । भारतमा बस्ने वातावरण नभएर नेपाल आएको तर अहिले नेपालले आफ्नै नागरिकलाई प्रवेश नदिएको उनीहरुको गुनासो छ ।

सीमामा नेपालीहरुको भीड बढ्दै गएपछि अहिले नेपाली प्रशासन तथा जनप्रतिनिधि पनि आत्तिएका छन् । नेपाल प्रवेशको अनुमति दिए सरकारी आदेशको बर्खिलाप हुने नदिए सीमामा नेपालीको अवस्था बिजोक रहेको छ ।

भैरहवा क्षेत्रका प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेले नेपालीहरुको उद्दारको प्रयास भइ रहेको जानकारी दिए । उनले फसेका नेपालीहरुको सम्पूर्ण चेकजाँच गरी नेपाल प्रवेश गर्न दिइने बताए ।

तर रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले यस बारेमा केही बोलेनन् । उनले रुपन्देहीको सबै सहायक र मुख्य नाकाहरु बन्द गरिएको बताए । उनले भारतीय समकक्षीहरुको सहयोगमा नाका बन्द गरिएको बताए । यसलाई खुलाउने भन्ने बिषयमा भने उनले माथिको आदेश अनुसार गर्ने बताए ।

कोरोना भाईरसबाट जोगिन तथा यसको आपतकालीन ब्यवस्थाको लागि रुपन्देही तयार रहेको र जिल्लामा आइसोलेसन बेड, आवश्यक सामाग्री तयार भै सकेको प्रशासनले जानकारी गराएको छ । अहिले नै जिल्लागत रुपमा ‘लकडाउन’ भै नसकेको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी दिए ।

उनले अहिले नै यसको आवश्यक नरहेकोले लकडाउन नगरेको तथा भविष्यमा आवश्यक परे जिल्लागत रुपमा पनि लकडाउन गर्न सकिने बताए । अहिले नेपालसंगै भारतले पनि आफ्नो सीमा नाकामा यात्रु आवागमन बन्द गरेको छ । नेपालबाट भारत जाने नेपाली तथा उसका आफ्नै देशका नागरिकलाई भारतले पनि आफ्नो देशमा प्रवेश दिएको छ्रैन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री