‘लकडाउन’ले देश सुनसान

काठमाडौं । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका लगायत मुलुकका ब्यस्त सहरहरु सुनसान बन्दै गएका छन् ।

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो ।

सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।

‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यकाका सडकमा एकदमै कम मात्रामा सवारी साधन चलेको बताए ।

सरकारले अत्यावश्यक कामबाहेक अन्य व्यक्ति घरबाट निस्कन निषेध गरेसँगै बाहिर हिँड्ने मानिसको सङ्ख्यामा नगण्य छ । लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

लक डाउनका कारण बिहानैदेखि पोखरामा सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा बन्द भएको छ । यसअघि पोखराका विभिन्न स्थानबाट प्रातःभ्रमणका लागि घरबाट निस्कनेहरूका कारण चहलपहल हुने गरेको यहाँका सडक तथा स्थान आज भने सुनसान बनेका छन् ।

सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा उच्च सतर्कता अप्नाइएको छ । कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्लामा समेत अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई हिँडडुल कम गर्न तथा यातायात, व्यापार तथा बजार बन्द गर्न स्थानीय प्रशासनले लकडाउन गरेका छन् ।

यता, संक्रमणबाट नागरिक जोगाउन सरकारले मंगलबारदेखि लागू गरेको लकडाउन अवज्ञा गरेको भन्दै प्रहरीले १ सय ६१ वटा ट्रकलाई पूर्वपश्चिम राजमार्ग सडकखण्‍डमा पर्ने कावासोतीमा नियन्‍त्रणमा लिएको छ ।

पूर्वी नेपालको धनकुटा र ताप्लेजुङमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) वमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाद्वारा जारी सूचनामा उल्लेख छ ।

सरकारले मंगलबार बिहानदेखि चैत १८ गते बिहानसम्मका लागि लकडाउन गरेको छ । सरकारले कोभिड–१९ का कारण घरबाहिर निस्कन नपाइने आदेश जारी गरे पनि सर्वसाधारणले त्यसको उल्लंघन गर्न सक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालय धनकुटाले पनि निषेधाज्ञा आदेश गरेको हो । जसका कारण धनकुटा सुनसान बनेको छ । चहलपहल हुने मुख्य क्षेत्र चुवाबोट, मदन चोक, भीमसेनथान, भीमनारायण चोक लगायत विभिन्न बजार सुनसान छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री