पेट्रोलियम पदार्थ लिन भारत गएका ट्याङ्कर रित्तै फर्किए

-राधेश्याम विश्वकर्मा
भैरहवा । कोरोना भाईरसबाट जोगिन सरकारले गरेको लकडाउनको प्रभाव भैरहवामा पनि देखिएको छ । मंगलबार बिहान ६ बजे देखि सुरु भएको लकडाउनको कारण भैरहवाको जनजीवन ठप्प रहेको छ । भैरहवाका मुख्य बजारहरु बन्द रहेका छन् भने सवारीसाधनहरु पनि गुड्न सकेका छैनन् ।

भैरहवाका प्रायः सबै मार्गहरुमा प्रहरी तैनाथ छन् । फाटफुट रुपमा बाहिर आएका नगरवासीलाई सम्झाई बुझाई फिर्ता पठाइएको छ । सरकारले लगाएको लकडाउनको भैरहवामा समर्थन देखिएको छ ।

लकडाउन भएपनि भारतबाट अत्यावश्यक खाद्य सामाग्री बोकेका मालवाह ट्रकहरु भने नेपाल भित्री रहेका छन् । यी ट्रकहरुलाई भन्सारमा राखिएको छ ।

यता नेपालबाट भारतमा पेट्रोलियम पदार्थ लिन गएका ट्याङ्करहरु भने रित्तै फर्किका छन् । नेपाल आयल निगमको भलवारी डिपोको लागी भारतमा पेट्रोलियम पदार्थ लिन गएका ट्याङ्करहरुलाई भारतीय पक्षले रित्तै फर्काई दिएको छ । भारतको फरेन्दा क्षेत्रका प्रहरीले फर्काइ दिएपछि करिब ५० वटा ट्याङ्करहरु फर्किएको चालक दामोदर मल्लाहले बताए ।

समय अगावै रित्तै फर्किएका ट्याङ्करहरुलाई प्रहरीले अहिले बेलहियामै रोकेर राखेको छ । भारत जान नपाएपछि आ–आफ्नो घर फर्किनुपर्ने चालकहरुको भनाइ छ । भारतमा पनि केही खान नपाएको र अहिले प्रहरीले पनि घर फर्किन नदिएर भोकभोकै बस्नु परेको चालक कृष्ण गिरीले बताए ।

टिप्पणी थप्नुहोस्