लकडाउनले बाँके सुनसान, ९२ नेपालीको उद्धार

सिराज खान
नेपालगन्ज । कारोना भाइरसको संक्रमणबाट जोगिन शुरु गरिएको लकडाउनका कारण दोस्रो दिन पनि बाँके जिल्ला पूर्ण रुपमा बन्द भएको छ ।

लकडाउनले गर्दा दोस्रो दिनपनि दिनभरि जिल्लाका सबै यातायात कलकारखाना र पसलहरु बन्द रहेका छन् । जिल्लाको नेपालगन्ज, कोहलपुर, खजुरा र राँझा बजार पूर्ण रुपमा बन्द रहेका छन् भने यातायातका साधन र मानिसहरु समेत बाहिर निस्किएका छैनन् ।

दोस्रो दिन प्रहरीले पहिलो दिनभन्दा बढी कडाई गरेको छ । ठाउँ ठाउँमा उलंघन गर्नेहरुलाई पक्राउ गरेर सम्झाई बुझाई गरी छाड्ने काम गरिरहेको छ ।

लकडाउनले नेपालगन्जका अधिकांश सडकहरु सुनसान बनेका छन् भने सहरका गल्लीहरु बाहेक बाहिर मानिस देखिंदैनन् । अधिकांश स्थानमा सुरक्षाकर्मीहरुलाई तैनाथ छन् । विना कामले बाहिर निस्कन खोज्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले घरभित्र जान आग्रह गरिरहेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले नेपालगन्ज लगायत जिल्लाका सबै ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको बताए ।  उनले सर्वसाधारणले प्रहरी प्रशासनको आग्रहलाई अटेरी गरेपछि बाध्य भएर सुरक्षाकर्मी परिचालन गरेर बल प्रयोग गर्दै मानिसहरुलाई घरमा बस्न लगाउनु परेको बताए ।

अत्यावश्यक सेवाका सवारी साधन र सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएका छन् । पहिलो दिन बेलुका ५ बजेपछि लकडाउनको व्यापक उलंघन भएकोले आज त्यस्तो गर्न नदिने तयारी प्रहरीले गरेको छ ।

जिल्ला प्रशासनले पहिलो दिन भएकोले बेलुका धेरै कडाई नगरिएको जनाउँदै तर बुधवारबाट बेलुका पनि कडाई गरिएको जनाएको छ । ‘लकडाउन भनेको लकडाउन हो, भारतमा समेत तीन साता लकडाउन गर्ने घोषणा गरिएको छ, अब कुनै राहात हुँदैन,’एक सुरक्षा अधिकारीले भने ।

९२ नेपालीको उद्धार

यसैविच भारतका विभिन्न सहरबाट फर्किएर मंगलवार विहानैबाट सीमानामा अलपत्र परेका ९२ जना नेपालीको मंगलवार बेलुका उद्धार गरेर नेपालगन्ज ल्याइएको थियो ।

दिनभरी सीमापारी रोकिएका उनीहरुलाई बेलुकी मात्र उद्धार गरिएको थियो । उद्धार गरेर उनिहरुलाई महेन्द्र बहुमुखि क्याम्पसमा राखेर बुधवार सम्बन्धित जिल्लातर्फ पठाइएको नेपालगन्ज उपमहानगर पालिकाकी उपमेयर उमाथापाले बताइन् ।

यसैगरि सोमवार पनि भारतबाट उद्धार गरेर करिब ७ सय नेपाली नागरिहरुलाई क्याम्पसमा ल्याईएको थियो । विभिन्न जिल्लामा पठाउने तयारी गरिरहेकै बेला उनिहरु मध्ये आधा भन्दा बढी आफै त्यहाँबाट आआफ्नो जिल्लातर्फ गएका थिए । सीमानामा अलपत्र परेका उनीहरुलाई स्वास्थ्य परिक्षण गरेर महेन्द्र बहूमुखी क्याम्पसमा ल्याइएको थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री