भोका स्वास्थ्यकर्मीलाई रविको खाना

-राधेश्याम विश्वकर्मा
भैरहवा । कोरोनाको त्रास यतिबेला सबैभन्दा बढी स्वास्थ्यकर्मीलाई छ । दिनरात उनीहरु अस्पतालमा बिरामीहरुको सेवामा खटिएका छन् । निजी अस्पतालहरुले ज्वरो, आउने, रुघा लागेको लगायतको लक्षण भएका बिरामीहरुलाई बाहिरबाट नै धपाउन थालेपछि अहिले सरकारी अस्पतालमा चाप बढेको छ ।

भैरहवा स्थित भीम अस्पतालमा पनि अहिले बिरामीहरुको चाप बढ्दै गएको छ । बुटवलको प्रदेशिक अस्पताल, मणिग्रामको क्रिमसन अस्पताल, भैरहवाकै मेडिकल अलेज लगायतबाट फर्काईएका बिरामीहरुको अहिल ेयस अस्पताल आश्रय स्थल बनेको छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पनि दिनरात नभनी न्यून श्रोत मै बिरामीहरुलाई सेवा दिईरहेका छन् । यतिबेला भीम अस्पतालमा पाँच वटा आईसीयुसहित ३५ बेडको आईसोलेसन अस्पताल बनाउने तयारी अन्तिम अन्तिम अवस्थामा छ ।

अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीहरु घर समेत जान पाएका छैनन् । अस्पतालमै अस्थायी रुपमा आश्रय बनाई सेवा प्रदान गरी रहेका छन् । सबैतिर भएको लकडाउनका कारण स्वास्थ्यकर्मीहरु चिया पाउरोटीको भरमा ज्यान जोगाई रहेका थिए । चिया पाउरोटीकै भरमा भोको पेट बिरामीहरुको सेवागरी रहेका स्वास्थ्यकर्मीहरुको भैरहवाकै रवि रौनियारले पेट भर्ने भएका छन् ।

मायादेवी च्यारिटेबल फाउण्डेशन मार्फत २५ रुपंयाँमा खाना खुवाएर सेवा गरी रहेका रौनियारले अब लकडाउनको प्रभावमा परेकालाई निःशुल्क खाना खुवाउँदै छन् । स्वास्थ्यकर्मीको दयनीय अवस्था देखेपछि उनले मंगलबार भीम अस्पतालबाट निशुल्क खानाको सुरुवात गरेका छन् ।

कोरोनाको त्रास समेत उत्तिकै रहेको हुँदा अहिले घरमै शाकाहारी बिरयानीको प्याकेट बनाई त्यसलाई आवश्यक ब्यक्तिलाई बितरण गरिने छ ।

होटलहरु सबै बन्द भएको अवस्थामा स्वास्थ्यकर्मी भोकभोकै काम गर्नुपर्ने अवस्थामा मायादेवी च्यारेटिबल फाउण्डेशनले सराहनिय काम गरेको बताइन्छ । भिम अस्पतालका मेडिकल सुपरिडेन्टेन डा. नविन दर्नालले लकडाउनको कारण स्वास्थ्यकर्मीलाई खाना खान धेरैस समस्या भएको बताए ।

“भोकभोकै काम गर्नुपर्ने अवस्थामा रौनियारले सबै स्थास्थ्यकर्मीलाई भोको पेट भन्दा पनि खाना खाएर काम गर्नुस भन्ने उत्प्रेरणा जगाउनु भएको छ,” दर्नालले भने ।

यस्तै स्वास्थ्यकर्मी जनकराज पन्थले आफ्नो घरमा गएर खाना खाएर फेरी अस्पताल फर्केर काम गर्न असम्भव प्राय रहेको बताए । “संक्रमण फैलिन नदिन पनि हामी सेल्फ क्वारेन्टाईनमा बसेका छौ, यस्तो अवश्थामा खानाकै ठूलो समस्या थियो,” पन्थले भने, “यस्तो अवस्थामा हाम्रो जिम्मेवारी रविले लिएकोमा उहाँलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।”

लकडाउन अवधिभर स्वास्थ्यकर्मी मात्र नभई अस्पतालमा भर्ना भएका बिरामी तथा भैरहवा क्षेत्रमा रहेका सबै भोकाहरुलाई एकछाक निशुल्क खाना खुवाउने फाउण्डेशनका संस्थापक अध्यक्ष रवि कुमार रौनियारले जानकारी दिए । लकडाउनको अवज्ञा नहुने गरि र काम गर्ने कामदारको समेत स्वास्थ्यलाई ख्याल गरेर निर्धारित समयमा भैरहवाको कुनै निर्धरित स्थानमा खाना पु¥याइने रौनियारले बताए । उनले निशुल्क खाना खुवाउनु पर्ने विपन्न नागरिकहरुलाई सम्पर्कमा ल्याई दिन समेत सम्बन्धित पक्षलाई अपिल गरेका छन् ।

अन्नपूर्ण भोजनालय मार्फत २५ रुपैंयाँमै खाना उपलब्ध गराउँदै आएका रौनियार जस्तै अन्य दाताहरुले पनि कोरोना महामारीको यो समयमा आफूले सकेको सहयोग गर्न सम्बन्धित पक्षले आग्रह गरेको छ ।

टिप्पणी थप्नुहोस्