किटनाशक औषधी लिएर सांसद आफैं सडकमा

-राधेश्याम विश्वकर्मा
भैरहवा । नेपाल लकडाउनको चौथो दिन । सम्पूर्ण नेपालकै जनजिवन अहिले ठप्प छ । लकडाउनकै कारण नेपाली जनता मात्र होइन राजनीतिक दलका नेताहरु पनि घरभित्र बसेर काम गरिरहेका छन् । आफू सुरक्षित रही जनतलाई पनि सुरक्षित रहन् उनीहरुले आग्रह गरिहेका छन् ।

तर भैरहवा क्षेत्रमा एक जना माननीय भने यसो गर्न तयार छैनन् । उनी महामारीको समयमा जनता बचाउने अभियानमा लागेका छन् । प्रदेश नम्बर ५ को रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य सन्तोष पाण्डे अहिले जनतालाई महामारीबाट जोगाउने अभियानमा लागेका हुन् ।

लकडाउन भए देखि नै स्थानीयहरुलाई आश्वसन दिंदै हिंडेका पाण्डेको आफ्नै तर्क पनि छ । उनले यस्तो अवस्थामा नेताहरु घरमा बस्नुभन्दा पनि आफु सुरक्षित रहेर जनतालाई महामारीबाट जोगाउने प्रयासमा लाग्नु उपयुक्त भएको बताउँछन् । उनले नेता भन्दा पनि अहिले मानवताको नाताले जनताको सेवा गर्नुपर्ने बताए ।

भैरहवा लगायत यस आसपासबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाण्डे अहिले आफैं नगरमा किटनाशक औषधी छर्न लागि परेका छन् । आफ्ना सहयोगी बैजनाथ गुप्ता, भोला यादव, पार्टीका वरिष्ठ नेता महेन्द्र यादव लगायतको सहयोगमा पाण्डेले नगरमा किटनाशक औषधी छर्किरहेकाछन् ।

सरकारले यसअघि नै स्थानीय तहहरुलाई आफ्नो क्षेत्रमा किटनाशक औषधी छर्न निर्देशन दिएको छ । तर सरकारको निर्देशन स्थानीय तहहरुले टेरेकै छैनन् । रुपन्देहीमा पनि सिद्धार्थनगर नगरपालिका र यस आसपासका गाउँपालिकाले किटनाशक औषधी छर्ने सुरसार नगरेपछि प्रदेशसभा सदस्य पाण्डे आफैं लागिपरेका हुन् ।

अहिले तराईमा लामखुट्टेको प्रकोपको कारण डेंगु लगायतको रोगको उस्तै जोखिम रहेको छ । यस्तो जोखिमबाट जोगिन प्रदेश सभा सदस्यको अगुवाईमा क्लोरिन, ब्लिचिंग पाउडर, फिनायल लगायतको मिश्रणलाई नगर र यस आसपास छरिदै छ ।

प्रथम चरणमा करिब ४० हजार लिटर मिश्रण नगर र यस आसपास छरिने पाण्डेले जानकारी दिए । यसले लामखुट्टेको प्रकोप रोक्ने मात्र नभई कोरोनाको भाईरसलाई पनि नियन्त्रण गर्ने उनको दावी छ ।

प्रदेश सभा सदस्यको यो प्रयासले कोरोनाको जोखिम कत्तिको निम्त्याउछ त्यो हेर्न बाँकी रहे पनि किटनाशक औषधीको कारण नगरवासी अहिले लामखुट्टेको प्रकोप बाट थोरै भए पनि राहत महसुश गर्ने छन् ।

टिप्पणी थप्नुहोस्