लकडाउनले भैरहवा सुनसान, सीमापारी नेपालीको बिचल्ली

राधेश्याम विश्वकर्मा
भैरहवा । नेपाल सरकारले घोषणा गरेको लकडाउनको सोमबार सातौं दिन पनि भैरहवा तथा यस आसपासको क्षेत्र प्रभावित रहेको छ । भैरहवाको मुख्य बजार र राजमार्ग बन्द रहेपनि केही भित्री बाटोहरुमा अहिले पनि लकडाउनको पूर्ण पालना भएको छैन । बिशेषगरी भैरहवाको गल्लामण्डी क्षेत्रमा अहिले पनि मानिसहरुको चाप बढ्दो छ ।

गल्लामण्डी, उद्योगपुरी, भैयाटोल, भैरहवा गाँउ लगायतको क्षेत्रमा स्थानीयहरु अहिले पनि बाहिर बाटोमै देख्न सकिन्छ भने पसलहरु पनि खुलेकोले यस क्षेत्रमा कोरोनाको जोखिम पनि उस्तै रहेको छ । प्रहरीहरु मूख्य बाटोमा सक्रिय रहेपनि नगरकै ग्रामिण क्षेत्रहरुमा अझै पनि पहुँच पुर्‍याउन सकेका छैनन् । साँझपख त अवस्था झन जटिल हुन्छ । मायादेवी तरकारी बजार, मैत्री पथमा रहेका तरकारी पसलहरुमा अत्याधिक भीडभाड हुने गरेको छ ।

गल्लामण्डी क्षेत्रमा रहेका मजदुरहरुलाई पनि लकडाउनले छोएको छैन । बिभिन्न मण्डीमा काम गर्ने कामदारहरु अहिले पनि प्रयाप्त सुरक्षा ब्यवस्थाकै अभावमा काम गरि रहेका छन् । बाटोमा पास लिएर हिडनेहरुको घुइँचो पनि उस्तै छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने सानाठूला सबै नाकालाई रोकेर लकडाउन गरिएको बताए । बेलहिया नाकालाई मालवाहक सवारी मात्र आउन दिनेगरि ब्यवस्था गरिएको उनले बताए । आन्तरिक लकडाउनलाई पनि कडाईका साथ पूर्ण रुपमा कार्यान्वयन गराउन लागी परेको प्रजिअ पन्थको दावी समेत गरे ।

सीमापारी नेपालीको बिचल्ली

वारी नेपालमा मात्र हैन सीमा पारी भारतमा नेपालीको अवस्था पनि उस्तै बिजोग छ । भारतमा लकडाउन भएपनि भारतको बिभिन्न स्थानमा काम गर्ने नेपालीहरु आउने क्रम रोकिएको छैन ।

अहिले पनि सीमापारी सुनौलीमा तीनसयको हाराहारीमा नेपालीहरु रहेका छन् । भोकभोकै रहेर कतिपय बिस्कुट र पानीकै भर परेर पैदल यात्रा गरि नेपालको सीमासम्मै आईपुग्दा पनि नेपाल प्रवेशको अनुमति नपाउँदा भारतमा दुःखका साथ बसिरहेका छन् ।

सीमामा तीन सयको हाराहारीमा नेपालीहरु रहे पनि अहिले उनिहरुको उद्दारको लागी कुनै पहल भएको छैन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले त उनीहरुको बारेमा औपचरिक जानकारी नै नभएको प्रतिक्रिया दिए । “औपचरिक रुपमा हामीले त उहाँहरु आएको जानकारी नै पाएको छैनौं, अनौपचरिक रुपमा उहाहरु आउनु भएको जानकारी त छ ।” प्रजिअ पन्थले भने “यसरी लकडाउा भएको बेलामा जबरजस्ती बोर्डर एरियामा आउनु त्यति राम्रो कुरा हैन, त्यहि कारण पनि यसलाई ब्यवस्थापन गर्न ढिला भईरहेको छ ।’

पारी फसेका नेपालीहरुलाई नेपाल भित्रिन दिने कि नदिने भन्ने बिषयमा अहिलेसम्म कुनै आदेश नआएको प्रजिअ पन्थले बताए । रुपन्देहीमा अहिले १५ वटा क्वारेन्टाईनमा ६ जना आईसोलसनमा र ५५ जना क्वारेन्टाईनमा राखिएका छन् । आईसोलेसनमा उपचारकै क्रममा एक युवाको मृत्यु भई सकेको छ । आईसोलेसनमा मृत्यु भएपनि कोरोनाकै कारण मृत्यु भएको हो वा अन्य कारणले त्यो भने खुल्न बाँकी रहेको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री