दशगजामा ३ सय ५० बढी नेपाली अलपत्र

राधेश्याम विश्वकर्मा
भैरहवा । नेपालमा लकडाउनको आठौं दिन चलिरहेको छ । कोरोना भाईरसबाट जोगिन नेपालले मात्र हैन भारतमा पनि लकडाउन छ । लकडाउनको अवधिमा दुवै देशका सरकारले अत्यावश्यक कामको बाहेक हिड्डुल गर्न पनि बन्देज लगाएको छ ।

सरकारले बन्देज लगाउँदा पनि भारतबाट नेपालीहरु नेपाल आउने क्रम भने रोकिएको छैन । नेपाल भारतको सीमा नाका बेलहियामा अहिले ३ सय ५० भन्दा बढी नेपालीहरु अलपत्र परेका छन् ।

भारतले भारतमा प्रवेश नदिने र नेपालले पनि प्रवेश नदिंदा उनीहरु अहिले दशगजामै आश्रय स्थल बनाएका छन् । कोही पैदल र कोही बिभिन्न सवारी प्रयोगगरी दशगजासम्मै आईपुग्दा थकित देखिएका छन् ।

काम गर्ने स्थानमा कोही निकालिएका छन भने कोही उपचारको लागी गएका फर्किदै गरेका छन् । यस्तो अवस्थामा भारतमा बस्ने र खाने ठेगान नभएपछि आफ्नै देश फर्किनु परेको उनीहरुको भनाई छ । सीमामा कतिपय नेपालीहरु पैदल यात्रा गरेर आएका हुन् ।

सीमामा फसेका नेपालीहरुको बिजोग हेरेर प्रदेश सरकारले सम्बन्धित ब्यक्ति बस्ने स्थानिय तहकै क्वारेन्टाईनमा बस्नेगरी सीमाबाट उद्धार गर्ने मन्त्रीस्तरबाट निर्णय गरेको थियो । प्रदेश नमबर ५ को सरकारले नेपालीको उद्दार गर्ने निर्णय गरेपनि मंगलबार ५ बजेसम्म उनीहरुको उद्दार भएको थिएन ।

रुपन्देहीका स्थानीय प्रशासनले प्रदेश सरकारको निर्णयलाई लत्याउदै नेपालीहरु छोड्न नमिल्ने बताउँदै आएको छ । केन्द्र सरकारको निर्णय आए मात्र नेपालीहरु घर जान सक्ने स्थानिय प्रशासनको अडान रहेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले त उनीहरुको बारेमा औपचरिक जानकारी नै नभएको प्रतिक्रिया दिएका छन् ।

टिप्पणी थप्नुहोस्