‘माथिको आदेश’ भन्दै १ सय ६३ नेपालीलाई दसगजामा विचल्ली बनाइयो

-सिराज खान
नेपालगन्ज । कोरोनाको त्रासले गर्दा भारतका विभिन्न ठाउँबाट फर्किएका १ सय ६३ जना नेपालीहरु दुई दिनदेखि यहाँस्थित नेपाल–भारत सीमानाको दसगजामा अलपत्र परेका छन् ।

चार–पाँच दिन भन्दा बढी पैदल हिंडेर नाकासम्म पुगेका उनीहरु नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरसंग सिमाना जोडिएको नेपाल–भारत सीमा क्षेत्रको दशगजामा दुईदिनदेखि उद्दारको पर्खाइमा छन् ।

५ नम्बर प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने र ती नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने र खानपीनको व्यवस्था गर्ने भनेर निर्णय गरेपनि उनीहरुको उद्धार गरिएको छैन ।

सो बारेमा केन्द्रमा जानकारी गराइएको र केन्द्रबाट निर्देशन नआएकोले सिमानामा पुगेका नेपालीहरुलाई भित्र्याउन नसकिने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले केन्द्रले नै सीमानाबाट प्रवेशमा रोक लगाएकोले निर्णय नआएसम्म केही गर्न नसकिने बताए । उनले सिमानामा रहेका नेपालीहरुको बारेमा केन्द्रमा जानकारी गराइसकिएको पनि बताए ।

दसगजामा बिचल्लीमा परेकाहरुलाई भारतीय प्रहरीले बेग्लाबेग्लै झुण्ड बनाई रातको समयमा नेपालको चोर नाकाबाट नेपालमा छिराएको उनीहरुले बताएका छन् । नाका पार गरेर नेपाल प्रवेश गरेका उनीहरुलाई नेपालगन्जको विभिन्न क्षेत्रबाट स्थानीय, जनप्रतिनिधि तथा प्रहरीले समातेर दसगजामा पुर्याएको छ ।

उनीहरुलाई सोमवारको खाना नास्ता भारतीय प्रहरी र नागरिकहरुले गरेका थिए भने मंगलवार बिहानको खाजा र खानाको व्यवस्था नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर र वडा नम्बर १६ का अध्यक्ष अजय पाठकले गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले आफूले उनीहरुलाई चाहेर पनि नेपाल प्रवेश गराउन नसकेको बताइन् । उनले खाना, खाजा र पानीको व्यवस्थापन भन्दा अरु केही गर्ने आफुसंग अधिकार नभएको बताइन ।

उनका अनुसार यसरी बिचल्लीमा परेकाहरुमा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका ९, जुम्लाका १५, सुर्खेतका ७, डोल्पाका ३, अछामका ५, प्युठानका २, रोल्पाका १३, रुकुमका १०, सप्तरीका १, उदयपुरका १, स्याङ्जाका २, दैलेखका १०, झापाका ५, रुपन्देहीका १, नवलपरासीका २, मुगुका २ र अर्घाखाँचीका १ जना रहेका छन ।
बिचल्लीमा परेका मध्येमा एक जना दृष्टिबिहिन, पाँच जना पाँच बर्ष मुनिका बालबालिका र तीन महिला रहेका छन ।

टिप्पणी थप्नुहोस्