धकधईका युवाको गजबको जोश, घर-घरमै तरकारी

-राधेश्याम विश्वकर्मा
भैरहवा । लकडाउनका कारण नेपाल ठप्प भएको नौं दिन पुगेको छ । यस्तो अवस्थामा ‘हुँदा खाने’ मात्र नभई ‘हुने खाने’हरु पनि अप्ठेरोमा परेका छन् । बजारमा तरकारीको भाउ आकाशिएको छ । अझ हरियो तरकारी त पाउनै मुस्किल छ । स्थानीय प्रशासन, स्थानीय तह बजारमा भईरहेको कालो बजारीप्रति मुकदर्शक बनेका छन् । एकातिर बजारमा तरकारीको भाउ अकाशिएको छ भने अर्कोतिर किसानहरुको तरकारी बारीमै कुहिने अवस्थामा पुग्दैछ ।

यी सबैबाट जोगिन रोहिणी गाउँपालिका–३ धकधईका युवाहरुले गजबको जुक्ति निकालेका छन् । गाउँघरतिर बारीमा रहेका कृषकहरुको तरकारीलाई घर घरमा आफैं न्यूनतम दरमा बिक्री गरी रहेका छन् । बजार भन्दा धेरै कम रकममा बिक्री गरेको तथा घरघरमै पुर्‍याएको कारण स्थानीयवासीले केही राहत महसुस गरेका छन् ।

धकधईका मोहित रौनियार लगायतको युवा टोलीले टयाक्टर ट्रलीमा तरकारी बोकेर अहिले गाउँ गाउँमा पुर्‍याइ रहेका छन् । पैसा हुनेलाई पैसासित, धान चामल हुनेलाई धान चामलबाट र त्यो पनि नहुनेलाई सित्तैमा पनि यी युवाहरुले हरियो तरकारी उपलब्ध गराइ रहेका छन् । मोहितले स्थानीय कृषकहरुकै तरकारी संकलन गरि उनीहरुको उत्पादनलाई बजार दिलाएका छन् भने अर्कोतिर भोको पेटलाई तरकारी पनि दिएका छन् ।

मोहितले बिक्री गर्ने तरकारीको रोहिणी गाउँपालिका ३ को वडा कार्यालयले मूल्य सूची तोकी दिएको छ । तर मोहितले वडा कार्यालयले तोकेको मूल्य भन्दा पनि कममा तरकारी बिक्री गरि रहेका छन् । उनको यो कामबाट स्थानिय कालाबजारीयाहरु क्रुद्ध भएका छन् । उनीसंग भएका सबै तरकारी राम्रै मूल्यमा एकमुष्ठ रुपमा खरिद गर्ने प्रस्ताव राखे पनि रौनियारले ब्यपारीहरुलाई तरकारी बिक्री गर्न मानेनन् ।

उनले ब्यापारको दृष्टिले नभई लकडाउनको अवस्थामा आफ्नो गाउँघरमा सहयोग गर्ने उद्देश्यले तरकारी बिक्री गर्ने गरेको बताए । घर घरमै न्यूनतम मूल्यमा तरकारी पाए पछि गाउँलेहरु पनि खुशी भएका छन् । धकधईका सोहरत कोहारले बजार मूल्य भन्दा धेरै सहुलियत मूल्यमा घरमै तरकारी पाएको बताए ।

रोहिणी गाउँपालिका वा सम्बन्धित वडाले स्विकृति दिए यसलाई गाउँपालिकाको प्रत्येक घर घरमा पु¥याउने लक्ष्य रहेको धकधईका युवाहरु बताउँछन् । लकडाउनको अवश्थामा घरबाट बाहिर निस्कने आदेश नभएको अवस्थामा अहिले यी पूर्ण सावधानी अपनाउँदै तरकारी बिक्रि गरिरहेका छन । धकधईमा युवाजस्तै सबैले आफ्नो जिम्मेवारी बोध गरे विपन्न वर्गको नेपालीहरुलाई लकडाउनमा खाने समस्याको पिर केही मात्रामा भए पनि कम हुने थियो ।

टिप्पणी थप्नुहोस्