क्वारेन्टाइनमा रहेका नेपालीको अवस्थाबारे नेपाल प्रशासन वेखबर !

भैरहवा । नेपाल भारतको सीमा क्षेत्र दशगजामा नेपाली र भारतीय दुवै देशका नागरिकहरु अलपत्र रहेका थिए । मंगलबार साँझ भारतीय प्रशासनले नेपालीलाई र नेपाली प्रशासनले भारतीय नागरिकलाइ आ-आफ्नै देशमा क्वारेन्टाईनमा राख्ने निर्णय गरे ।

सोही निर्णय अनुसार ३ सय ७० जना नेपालीहरु क्वारेन्टाईनमा बस्न नौतनवा गए भने १ सय ५५ जना भारतीयहरु भैरहवाको प्रतिमान निमा कलेजमा बनाइएको क्वारेन्टाईनमा राखिएका छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले १४ जना महिला र १ सय ४१ जना पुरुष सहित १ सय ५५ जना भारतीयहरु भैरहवा स्थित क्वारेन्टाईनमा रहेको जनाएको छ । यिनीहरुलाई रामनगर ब्यारेकको सेनाले सुरक्षा प्रदान गर्नेछ ।

सिद्धार्थनगर नगरपालिकाले बिहान नास्ता दिउँसो र राती खाना तथा एक पटक खाजा गरी चार पटक भोजन गराउँदैछ । यसको लागि भैरहवाको सिद्धार्थ उद्योग बाणिज्य संघ र लुम्बिनी ईट्टा उद्योग ब्यवसायी संघले खाद्यन्न पनि उपलब्ध गराएको छ ।

प्रतिमान निमा कलेजमा भारतीयहरु अरामसंग बसे पनि भारतमा बसेका ३ सय ७० जना नेपालीहरुको अवस्थाबारे नेपाली प्रशासनलाई कुनै जानकारी छैन । उनीहरुले खाना खाए, खाएनन्, बसाई कस्तो छ ? स्वास्थ्य चेकजाँच आदिबारे नेपाली प्रशासनलाई कुनै जानकारी नै छैन ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले अहिलेसम्म भारतको क्वारेन्टाईनमा बसेका नेपालीहरुको अवस्थाको बारेमा जानकारी नभएको बताए । उनले नेपालीहरुको अवस्था बुझ्न सुरक्षाकर्मीलाई पठाएको र त्यसबारे रिपोर्ट आउन बाँकी रहेको प्रतिक्रिया दिए ।

तीन दिन बढी सीमामै दुखका साथ दिन काटेका नेपालीहरुलाई जवरजस्ती रुपमा भारतको क्वारेन्टाइृनमा लगिएको थियो । नेपालीलाई भारतको क्वारेन्टाईनमा राख्दा अब भारतबाट आउने नेपालीहरु सीमामा अलपत्र हुने अवस्था हटेपनि भारतको क्वारेन्टाईनमा उनीहरुको अवस्था कस्तो हुने हो यस बारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् ।

छ नेपाली नेपाल फिर्ता

भारतको नौतनवामा नौतनवा ईन्टर कलेजमा क्वारेन्टाईन बसी रहेका ३ सय ७० जना नेपाली मध्ये ६ जना नेपाल फिर्ता भएका छन् । बिरामी तथा सुत्केरी अवस्थामा रहेका ६ जनालाई एम्बुलेन्स मार्फत नेपाल फर्काइएको भारतीय पत्रकार आलोक जोशीले जानकारी दिएका छन् ।

फिर्ता हुनेमा सुत्केरी भएकी लक्ष्मी परियार, उनका पति मनोज परियार, बच्चाहरु पुजा परियार, मुस्कान परियार निखिल परियार र अर्घाखाँची मालारानी गाउँपालिका वडा नमबर ३ का मिन प्रसाद खनाललाई एम्बुलेन्स मार्फत नेपाल पठाईएको जोशीले जानकारी दिए ।

क्वारेन्टाईनमा बसेका अन्य नेपालीहरुको खाने तथा अन्य जिम्मा नौतनवाकै भूतपूर्व गोर्खा सेनाको समूहले लिएका छन् । ३ पटक खाना, २ पटक चिया त्यस्तै प्रत्येक नेपालीलाई दैनिक जिवनका लागी काम लाग्ने आ-आफ्नै ब्यक्तिगत सामाग्री प्रदान गरिएको छ । यस्तै भूतपूर्व गोर्खा सैनिकले क्वारेन्टाईनमा रहेका नेपालीहरुलाई ब्यायम एवम नियमित स्वास्थ्य जाँचको जिम्मा पनि लिएको भूतपूर्व गोर्खा सैनिक मनोज रानाले जानकारी दिए ।

टिप्पणी थप्नुहोस्