वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरे नियुक्त

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले पूर्व पर्यटनसचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको जनाइएको छ ।

यसअघि घिमिरेकै नेतृत्वमा पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधारका लागि कार्यदल बनाएका थिए । सुधारका लागि दिएको सुझाव कार्यान्वयन गर्ने जिम्मेवारी पनि अहिले घिमिरेकै काँधमा आएको हो ।

यसअघि निगमको अध्यक्षमा प्रधानमन्त्री केपी ओलीले आफ्नै जिल्ला झापाका मदन खरेललाई कार्यकारी अध्यक्ष बनाएका थिए ।

पर्यटन सचिव वायु सेवा निगम सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्था हटाउँदै खरेललाई महाप्रबन्धकभन्दा एक तह माथि रहने गरी कार्यकारी अध्यक्ष बनाइएको थियो ।

तर खरेलको कार्यशैलीदेखि वर्तमान मन्त्री भट्टराई सन्तुष्ट देखिएनन् भने खरेलले पनि २०७६ माघमा राजीनामा दिएका थिए । निगममा तीन महिनादेखि अध्यक्ष पद रिक्त थियो ।

टिप्पणी थप्नुहोस्