प्रदेश पाँचका स्थानीय तहलाई कोरोना विशेष अनुदान

-राधेश्याम विश्वकर्मा

रुपन्देही । प्रदेश नम्बर ५ ले कोरोनाको प्रकोपबाट जुध्न कोरोना बिशेष अनुदानको ब्यवस्था गरेको छ । सरकारले आफ्नो प्रदेशमा रहेका सबै स्थानिय तहहरुलाई उक्त रकम अनुदान स्वरुप प्रदान गर्नेछ ।

सरकारको बुधबार बसेको बैठकले बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैंयाका दरले अनुदान दिने निर्णय गरेको छ ।

यस्तै नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख रुपैंया दिइने प्रदेश ५ का मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

यस्तै सिद्धार्थनगर नगरपालिकालाई २० लाख रुपैंया तथा प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैंयाका दरले राहत उपलब्ध गराइने छ । गाउँपालिकाहरुको हकमा प्रदेशभित्रका ७३ गाउँपालिकालाई १० लाख रुपैंयाको दरले अनुदान उपलब्ध गराईदै छ ।

प्रदेश ५ मा रहेका १२ वटा जिल्ला समन्वय समितिलाई पाँच लाख रुपैंयाको दरले ६० लाख रुपैंया प्रदेश सरकारले निर्णय गरेको छ ।

कुल १ सय ९ स्थानीय तहलाई १३ करोड र १२ जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैंया प्रदेश भरि अनुदान स्वरुप प्रदान गरिने भएको छ ।

यस्तै जिल्ला समन्वय समितिको अनुगनको कामलाई प्रभावकारी बनाउने, बैठक र अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउने निर्णय पनि गरिएको सल्लाहकार केसीले जानकारी दिए ।

प्राप्त रकम स्थानीय तहहरुले आफूले संचालनमा ल्याएको कोरोना भाइरस नियन्त्रण तथा राहत सम्बन्धी कोषमा जम्मा गरी मापदण्डका आधारमा मात्र खर्च गर्न पाउने छन् ।

स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइन व्यवस्थापनमा खर्च एवम लकडाउनबाट अति प्रभावित हुने श्रमिक तथा निम्न वर्गीय व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउन राहत प्रदान गर्नुपर्ने भएमा खाद्यान्न सामग्री खरिद गरी वितरण गर्ने प्रयोजनार्थ पनि उक्त रकम खर्च गर्न सकिनेछ ।

टिप्पणी थप्नुहोस्