‘लाश उठाउनु भन्दा लठ्ठी उठाएको राम्रो’

रुपन्देही । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लगाएको लकडाउन उल्लंघन बढ्दै गएपछि सुरक्षाकर्मीसंगै स्थानीय तह पनि यसलाई लागू गर्न सक्रिय छन् ।

लकडाउनको उल्लंघन बढ्दै गएपछि २४ औं दिन रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव आफैं बाटोमा लकडाउनको पालन गर्न निस्किएका छन् । बिशेष गरी ग्रामीण क्षेत्रमा अहिले गहूँ काट्ने चटारोका बीच लकडाउन उल्लंघन बढ्दै गएको छ ।

कृषिकै बहानामा अन्य सर्वसाधारण पनि घुमफिर गर्न निस्कने गरेको कारण यसले जोखिम बढाएको यादवको भनाई छ । पहिलो दिन भएकोले अनावश्यक रुपमा बाहिर देखिएकोलाई फेरी ननिस्कने शर्तमा छाडिएको र फेरी पनि देखिए कार्यवाही गर्ने उनले बताए ।

केही गरी पनि नमाने अन्तिममा आफै लठ्ठी हानेर धपाउने यादवको भनाई छ । “मेरै गाउँपालिका हो सबै मेरै जनता हुन तर के गर्ने लाश उठाउनु भन्दा लठ्ठी उठाएको राम्रो हो,” यादवले भने “आज उठाएको लठ्ठिले धेरैलाई लाश हुनबाट जोगाउँछ भने त्यो गर्न म पछि हट्दैन ।’

सुरक्षाकर्मीले मात्र लकडाउनमा कडाई गर्न नसक्ने भएकाले स्थानीय तहले पनि यसको पहल गर्ने यादवले बताए । उनल धकधई चोकबाट यसको सुरुवात गरेका छन् । चोकम मात्र नभई ग्रामीण क्षेत्रहरुमा पनि निगरानी बढाइने यादवको भनाई छ । यसको साथै उनले बजारलाई अझै ब्यवस्थित बनाइने बताएका छन् ।

रोहिणी गाउँपालिकाले विहीबार एक सूचना जारी गर्दै बैशाख १५ गतेसम्मका लागी दिउँसो १२ देखि ३ बजेसम्म मात्र अत्यावश्यक सामाग्री बिक्री बितरण गर्न पसल खोल्न अनुरोध गरेको छ । यसका साथै सो समयमा खरिद बिक्री गर्नेहरुले सामाजिक दुरीको पालन गर्न पनि अनुरोध गरिएको छ ।

यसअघि पनि रोहिणी गाउँपालिकाले भारत र नेपाली नागरिकको आवागमन रोक्न सीमामा स्थानीयलाई आग्रह गरेको छ । सबै जिम्मा सुरक्षाकर्मिलाइृ मात्र दिएर नहुने उनको तर्क छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री