म, ऋतु र कालखण्ड

-अर्जुन चौहान

मलाई फेरी बसन्त ऋतुले चुले निम्तो दिएर बोलाएको छ । नेपालको अति नै सुन्दर ठाउँ पाखापखेरा अनि हरियाली डाँडाहरूले मलाई चुलेनिम्तो पठाएको छ। जस्तै–हावाहूरी, पानी, चट्याङ अनि बिभिन्न किसिमका ऋतुमय समयमा कोहिलीको कुहुकुहू आवाजसंगै सैलुङबाट झरेको कन्चन पानीको झरना, चौरीमा चरिरहेक मृग, नाची रहेका मयूर, सिमखेतका गंगटा, ऐसेलु अनि सल्लेरीको पाखाबाट सिररर..आएको हावाले मेरो कानमा वसन्त ऋतु आएको खबर सुनाउँछ।

गोठाला भाई बहिनीहरु रमाउँछन । चरा बचेराले आफ्नो सन्तानलाई जन्मदिनको लागि झिक्रा, पात पतेङगर बटुलेर घर बनाउछन । जन्म दिन्छन, हुर्काउँछन। मलाई मेरो धर्ती आमाले प्रकृतिक स्वरुप भई फरक ऋतुहरुको काखमा खेल्न रमाउन चुलेनिम्तो पठाउँछिन। तर म भने कृत्रिम ऋतुको बेमौसमी निम्तोमा बिगत लामो समय देखि यहीं अल्मलिरहेको छु ।

मैंले बिगतलाई इतिहासको रुपमा पढ्न पाए । जहाँ बि.स. २००७ सालमा एउटा कृत्रिम ऋतुको निम्तोमा सामेल हुन जाँदा तिम्रो निम्तो छुटेको थियो । जुन नेपालको तत्कालीन राजनीतिक स्थिरतालाई सत्ता पल्टाउने दाउमा हामी ब्यस्थ थियौं। तत्कालीन चलिरहेको निरंकुश शासनलाई अन्त्य गरेर प्रजातन्त्र ल्याउन जरुरी लागेको थियो र आयो पनि ।

प्राकृतिक ऋतुहरूमा रमाएका जनताहरुले सोधे प्रजातन्त्र भनेको के हो ? यही तन्त्रको मालिक हूँ भन्ने केही ब्यक्तिले प्रजातन्त्रलाई परिभाषित गरे। ‘प्रजा भनेको जनता र तन्त्र भनेको शासन’ यानिकी जनताको शासन । सोझा अनि लेखपढ कम भएका जनताले आफूलाई शासन चलाउने राजा सम्झे तर त्यसो हुन सकेन् । तिनै प्रजातन्त्रका मालिक ठान्नेहरुले जनतामाथि शासन चलाए ।

यही समयमा हो आमा तिम्रो निम्तोमा म उपस्थित हुन सकिन। फेरी बि.स. २०१७ साल ताका प्रजातन्त्रसहित बहुदल चाहियो भने उही पुरानो मुद्दासहित नयाँ नारा लिएर यही धर्ती आमाको छातीमाथि प्रकृतिको काँखमा बेमौसमीको बाजा बजाए । ‘त्यसमा भोट हाल, यसमा भोट नहाल’ ‘यो भन, त्यो नभन’ आदि इत्यादी आवाज नेपालको तराई पहाड हिमालका कुना कन्दरामा गुन्जियो । त्यसताका पनि बेमौसमको कृत्रिम ऋतुमा म हराए । अनि तिम्रो न्यानो काखमा सुतेर ऋतुको मौसमी बाजाको मज्जा लिन छुटाए ।

जनतालाई सास्ती, दुःख, सुख, बनिबुतो, लेक-बेसी, उकाली-ओराली, ऋण-धन, सरसापाट यथावत् चलिरहयो। अन्ततः बहुदल आयो । तर नेपाली उखानमा भने झैं ‘धेरै बिरालोले मुसा मार्दैन’ र जनताको लागि बहुदलले मारेन पनि । बि.स. २०२८ सालमा अनिकाल भयो र भोकमारी सुरु भयो । देशभरीका अधिकांस जनताले खान नपाएर ज्यान गुमाए । कतिले त कुपोषणको सिकार हुन पर्‍यो । त्यतिबेला पनि प्राकृतिक धर्ती आमाले साबुक सिकाएकै हुन । तर हामीले नबुझेपछी बेमौसमको निम्तोमा हाजि रहुन पर्‍यो ।

हामी सबैलाई थाहा छ मानिस बाँच्नक लागि गाँस, बास र कपास अति आवश्यक छ । तर यो दुनियाँमा मानिसले यि कुराको ब्यवस्था गरी अप्राकृतिक कुरामा हराएका छन। नबुझेर रमाएका छन । त्यसपछि मानिसहरुले पुनः नेपाली पुरानो उखानले भने झै ‘अनिकालमा बिउ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु’ त्यसैगरी हाम्रो पुर्खाहरुले डाँडापाखामा कृषि गर्न थाले पर्याप्त मात्रमा अन्न ऊब्जाए । भोकमरी पनि हट्यो। त्यसबेला हाम्रो छिमेकी मुलुक भारत र चीनबाट केही खाद्यन्न ल्याइ दिन्थ्यो ।

हाम्रो पुर्खाले पुनः उत्पादन गरेर भोकमारीको सामना गरे । यो कुराबाट हामीले के सिक्नुपर्छ भने जबसम्म हामीले स्वदेशमा नै हामीलाई चाहिने बस्तुको उत्पादन गर्दैनौं हाम्रो भावी पुस्ता खाना नपाएर मर्ने छन । त्यो त बि.स. २०७२ सालमा नै भारतले नेपालमा ६ महीना नाकाबन्दी गराएर आँखा खुलाएको थियो। नेपाल र नेपाली जनता पुनः आत्मनिर्भर बन्नको लागि नेपाल सरकारले हरेक आयतीत बस्तुहरु नेपालमा नै उत्पादन गर्नुपर्छ भनेर नीति ल्याउनु पर्दछ।

यसो गर्दा नेपाल आमा पुनः हरियाली भई हामीलाई स्वच्छ हावा र पानी दिन्छिन् । बि.स. २०४५ सालमा भूकम्प आयो र धेरै मानिसहरुको जनधनको क्षति भयो भने सयौं मानिसहरु मरे र सयौं अंगभंग भए । त्यतिबेला मानिसहरूले प्रकृति बिरुद्ध जंगल फडाँनी, खोलानाला बिनाश, धुलोधुवाँ जस्ता अप्राकृतिक कर्म गरेका कारण फेरी पनि प्रकृतिको सुनौलो ऋतुले बोलाएको, चुले निम्तोमा म आउन सकिन।

वि.स. २०४७ सालपछि अर्को बेमौसको बिउ जन्मियो–‘माओवादी आन्दोलन’। जसको मुलनारा थियो-राजतन्त्रको अन्त्यपछि लोकतन्त्र र गणतन्त्र ल्याउने । त्यतिबेला जंगलमा सिंहले एकछत्र राज गर्छ भन्ने कथा सुनाउनुहुन्थ्यो मेरो हजुरबुबाले । त्यसैगरी राजतन्त्रमा राजाको एकाधिकार शासन थियो। जब जनआन्दोलन सुरुभयो त्यसपछि हजारौं नेपाली, गरिब जनताका सपुत छोरा छोरीहरुले अकालमा नै ज्यान गुमाए भने हजारौ अंगभंग भए । यो क्रमसः १० बर्ष चल्यो । त्यसपछिको दोस्रो जनआन्दोलनबाट राजतन्त्रको अन्त्य भयो।

सम्पूर्ण नेपाली जनता लागेर एक श्रीपेचधारी राजा त फाले तर सयौं श्रीपेच बिनाका राजाहरु जन्मिए । त्यसपछि पनि अर्को नेपाली उखानमा भने झैं-‘बादरले न आफ्नो घर बनाउँछ नअर्काको बन्न दिन्छ’ भयो त्यस्तै । राजनीतिक भगबन्डा, आफन्त, नातेदार, भ्रष्टाचारी, पार्टी, गुट, पदको मोह आदि इत्यादि । त्यसपछि भ्रष्ट नेताहरुको अगाडी जनताको केही लागेन । नेपाल पुरै समुन्द्रमा पैडल बिनाको डुंगा जस्तो भयो। समाज भ्रष्टचारमुक्त हुन सकेन । गरिब गरिब नै रहे।

जनयुद्ध लड्ने जनसेनाहरु आज ५०/५५ डिग्रीको घाममा काम गरेर आफ्नो पसिनाको मूल्य बालुवासंग साट्न खाडीमा बाध्य छन। ति सपूत छोराछोरीहरुलाई नेपाल आमाले चुलेनिम्तो दिएर बोलाएकी छिन। तरपनि मलाई यस्तैयस्तै बेमौसमी ऋतुले गर्दा प्रकृतिको बसन्त ऋतुले पठाएको चूले निम्तोमा आउन सकिन। र तिम्रो न्यानो काखमा सुतेर रमाउन सकिन।

बि.स. २०७२ सालमा नेपालमा भूकम्प गयो। यसबेला पनि हजारौं मानिसहरु मरे । सयौं मानिस अंगभंग भए । जनधनको क्षति भयो। यस्तो प्राकृतिक प्रकोपले पृथ्वी ब्रम्हाण्डमा नै चलिरहेछ । त्यसो त विश्वमा पहिलो युद्ध, दोस्रो युद्ध पनि भएकै हो। यस्तै यावत कुराले गर्दा पृथ्वीमा प्रदूषण बढ्ने काम जारी रहयो। पृथ्वीको प्राकृतिक सम्पती मानिसले उपभोग त सित्तैमा गरेसंगै प्रदूषण पनि त्यति नै गरे। हावा, पानी, बन जंगल, खनिज कुनै चिज चोखो रहेन। तरपनि ऋतु आफ्नो समयमा आउन छाडिनन् ।

यतिबेला पृथ्वीमा कोरोना नामक जैविक कीटांणुले संसारलाई सास्ती दिएको छ। हजारौं मानिस मरेका छन । लाखौं मानिसहरु यस किटाणुका कारण बिरामी छन। रकेट लगायत बिभिन्न किसिमका हवाई जहाज, पानी जहाज, गाडी, भिन्न खालका औजारहरू, फरक रोगका औषधि, कलकारखाना बम बारूद, आणविक भट्टीदेखि अर्को ग्रहमा समेत बस्ती राख्न सकिने बताउने वैज्ञानिकहरु आज कोरोनाको औषधि पत्ता लगाउन नसकेर हार मानेका छन।

तपाईहामीले आफ्नो सम्पतीको सुरक्षा गर्नक लागि घरमा ताला लगाएर गेटमा पाले राखेको जस्तै हो पृथ्वीले पनि । आफ्नो प्राकृतिक सम्पत्तिको सुरक्षा गर्नका लागि आफ्नो हातियार प्रयोग गर्न बाध्य पार्ने हामी मानिसहरू नै हौं । जस्तै- जैविक किटाणु, भूकम्प, हावाहूरी, सुनामी, भू-क्षय, बाढीपहिरो, अधिकतम बर्षा आदि इत्यादि।

अब फेरी पनि पृथ्वीले मानिसहरुलाई प्राकृतिक भएर बाच्न र अप्राकृतिक ब्यबहार नगर्न अर्को चुले निम्तो पठाएको छ। त्यसपछि म फेरी पनि तिमीले दिएको प्राकृतिक ऋतुको न्यानो काखमा रमाउन आउनेछु। यो पटक भने विशुद्ध ऋतु पठाएको निम्तो मान्नेछु।
जय पृथ्वी
जय प्रकृति
जय जीव
जय मानिस

(लेखकः कफी व्यवसायी हुन–हाईल्याड बिन्स कफी)

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री